‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
सारांश
- विराटनगरमा कार्गो रेलको व्यावसायिक आगमनले मोरङ-सुनसरी औद्योगिक करिडोरमा नयाँ उत्साह थपेको छ ।
- यस परियोजनालाई दिगो बनाउन सञ्चालन प्रक्रिया र सेवा शुल्कमा सुधार आवश्यक छ, जसमा ह्यान्डलिङ र अनलोडिङ शुल्क घटाउनुपर्नेछ ।
- कार्गो रेलले ढुवानी समय घटाउने, सामानको सुरक्षा बढाउने र इन्भेन्ट्री लागत कम गर्ने जस्ता तत्कालका फाइदाहरू प्रदान गर्दछ ।
विराटनगरमा कार्गो रेलको व्यावसायिक आगमन भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा नयाँ उत्साह छाएको छ ।
यो ऐतिहासिक उपलब्धि हासिल हुनुमा निजी क्षेत्रको दशकौँ लामो सङ्घर्ष, पैरवी र नीतिगत वकालत पनि मुख्य कारण हो ।
विशेष गरी उद्योग संगठन मोरङको अध्यक्ष रहँदा सुयस प्याकुरेलले यस परियोजनालाई गति दिन, नीतिगत अन्योलहरू चिर्न र नेपाल–भारत दुवैतर्फका सरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्न ठुलो मेहनत र नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
विराटनगर कार्गो रेल सेवाको वर्तमान अवस्था, यसको नियमितताका चुनौतीहरू, लागत न्यूनीकरणका उपायबारेमा प्याकुरेलसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
- विराटनगरमा कार्गो रेल आइपुगेको छ । लामो समयको प्रयास सफल भएको यस क्षणलाई तपाईंले कसरी लिनुभएको छ ?
यो हामी सबैका लागि अत्यन्त खुसी, उत्साह र गर्वको क्षण हो । म आफैँ उद्योग संगठन मोरङको अध्यक्ष रहँदा यो योजनालाई निष्कर्षमा पुर्याउन हामीले निकै ठुलो मेहनत गरेका थियौँ ।
यो पाँच–छ वर्षको अथक प्रयास, नीतिगत पैरवी र कोरोना महामारी जस्ता अनेकौँ उतारचढाव पार गर्दै बल्ल–बल्ल साकार भएको सपना हो । विगतमा यस क्षेत्रको उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाउनका लागि हामीले संघीय सरकारदेखि भारतीय रेल्वे संयन्त्रसम्म जुन खालको डेलिगेसन र वकालत गर्यौँ, त्यसैको व्यावहारिक प्रतिफल आज प्राप्त भएको छ ।
यो परियोजना करिडोरका लागि एउटा कोसेढुङ्गा हो र यसलाई अब हामीले जसरी पनि नियमित राख्नुपर्छ ।
- रेलको आगमन त भयो, तर यसलाई ‘दिगो’ बनाउन अझै के–के सुधार आवश्यक देख्नुहुन्छ ?
हो, केवल एउटा कार्गो रेल विराटनगर आउनुमात्र आफैँमा अन्तिम सफलता होइन । यसलाई दिगो बनाउन मुख्यगरी यसको सञ्चालन प्रक्रिया र सेवा शुल्कमा सुधार गर्न आवश्यक छ ।
जबसम्म यसको समग्र लागत घट्दैन र यसले उद्योगीलाई आर्थिक रूपमा आकर्षित गर्दैन, तबसम्म यो दिगो हुन सक्दैन । नेपालतर्फको यार्डमा लाग्ने ह्यान्डलिङ र अनलोडिङ शुल्क भारततर्फको यार्डको तुलनामा केही महँगो नै छ । यसलाई परिमार्जन गर्नैपर्छ । ट्रान्स नेपालका तर्फबाट घटाउने प्रतिबद्धता आएको छ । आशा गरौँ, चाँडै नै शुल्क घट्ने छ ।
- तत्काल शुल्क महँगो छ भन्दै हुनुहुन्छ । फेरि सामान आउन सुरुवात भयो भनेर धेरै खुसी व्यक्त भइरहेको छ । कार्गो रेल सञ्चालनबाट हुने तत्कालका फाइदाचाहिँ के हुन् ?
यसको सबैभन्दा ठुलो फाइदा भनेको ढुवानीमा लाग्ने समय र सामग्रीको सुरक्षा हो । सडक मार्गबाट ट्रकमा सामान ल्याउँदा कोलकाता बन्दरगाहबाट कम्तीमा तीन दिन लाग्छ, तर रेलमार्गबाट ल्याउँदा २४ घण्टाभित्र सामान सोझै विराटनगर यार्डमा आइपुग्छ । यसले उद्योगहरूको इन्भेन्ट्री (सामान भण्डारण) लागतलाई निकै कम गरिदिन्छ ।
दोस्रो कुरा, यो ढुवानी प्रणाली निकै सुरक्षित छ । यसमा आधुनिक ट्रयाकिङ प्रणाली जडान गरिएको हुनाले सामान हराउने वा चोरी हुने डर हुँदैन । यो परम्परागत ट्रक ढुवानीभन्दा निकै आधुनिक र व्यवस्थित ट्रान्सपोर्ट मोडल हो ।
- दीर्घकालीन रूपमा रेल सेवालाई नियमित बनाउन आर्थिक रूपमा कसरी सम्भव हुन्छ ?
सिधा कुरा छ, यो आर्थिक रूपमा सडक मार्गभन्दा सस्तो हुनैपर्छ । यदि सडक मार्गबाट ट्रकमा सामान ल्याउनुभन्दा रेलबाट ल्याउँदा उद्योगीलाई फाइदा भएन भने कसैले पनि रेलको प्रयोग गर्दैनन् । रेल मार्गले व्यावसायिक सार्थकता पाउनका लागि यो पूर्ण रूपमा प्रतिस्पर्धी र लागत–प्रभावी हुनुपर्छ ।
यसका लागि यो सेवा सञ्चालन गर्ने ट्रान्स नेपाल वा भारतीय कन्कोरले ह्यान्डलिङ चार्जहरू घटाउनुपर्छ । सुरुमा थोरै परिमाणमा सामान आउँदा लागत बढी लागे पनि भोल्युम बढ्दै जाँदा दररेट घटाइने विश्वास हामीले लिएका छौँ । यसका साथै, हामी उद्योगीहरूले पनि रेललाई आवश्यक पर्ने लोड (सामान) नियमित रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुपर्छ ।
- कार्गो रेल्वे ढुवानीमा सबैभन्दा ठुलो चुनौती ‘एकतर्फी ढुवानी’ र खाली फर्किने कन्टेनरहरूलाई मानिन्छ । यसको समाधान के हुन सक्छ ?
यो निकै व्यावहारिक र संवेदनशील विषय हो । रेल आउँदा कन्टेनर भरिएर आउने तर फर्किंदा खाली जाने हो भने रेल्वे कम्पनीले आउने र जाने दुवैतर्फको भाडा नेपाली आयातकर्तासँगै असुल गर्छ, जसले गर्दा समग्र आयात लागत महँगो पर्न जान्छ ।
यसको दिगो समाधानका लागि नेपालतर्फबाट भारत तथा तेस्रो मुलुक निर्यात हुने सामानहरू पनि सोही खाली कन्टेनरहरूमा लोड गरी कोलकाता पठाउने व्यवस्था मिलाउनुपर्छ ।
- वीरगन्जको तुलनामा विराटनगरको भविष्यलाई कसरी हेर्नुहुन्छ ?
वीरगन्जमा पनि सुरुका दिनहरूमा विराटनगरमा अहिले देखिएको जस्तै समस्या र अन्योल थिए, तर आज त्यहाँ धेरैजसो औद्योगिक कार्गो रेलबाटै आइरहेका छन् । विराटनगरमा पनि हामीसँग उत्कृष्ट भौतिक पूर्वाधार तयार भइसकेको छ । वीरगन्जको दररेट र मोडललाई अध्ययन गरेर यहाँको ह्यान्डलिङ र अनलोडिङ प्रक्रियालाई थप व्यावहारिक र प्रतिस्पर्धी बनाइयो भने विराटनगरको कार्गो रेल सेवा पनि पूर्ण रूपमा सफल र नियमित हुनेछ ।
यस ऐतिहासिक परियोजनालाई जीवित राख्न र यसको पूर्ण क्षमता उपयोग गर्न हामी उद्योगीहरू राज्य र सञ्चालक कम्पनीसँग हरेक प्रकारको सहकार्य गर्न पूर्ण रूपमा तयार छौँ । कार्गो रेल सेवालाई नियमित गर्न सक्दा कोशी प्रदेश हुँदै समग्र देशकै अर्थतन्त्रलाई थप गतिशील बनाउन मद्दत पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण