बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न

बुधबार, ०६ साउन २०८३, १२ : ३६
बुधबार, ०६ साउन २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाको आठ तले नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सम्पन्न भएको छ।
  • भवन निर्माणको कार्य गत चैत २२ गते सुरु भएको थियो र हाल बेसमेन्ट निर्माण सकिएर कभर स्ल्याब ढलानको तयारी भइरहेको छ।
  • तोकिएको समय २०८४ कात्तिक २२ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ, तर त्यसअघि नै सक्ने तयारी छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ। महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण सुरु भएको छोटो अवधिमा नै उल्लेख्य प्रगति भएको हो। 

भवन निर्माण सुरु भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिएका छन्।

उनका अनुसार गत चैत २२ गतेदेखि भवन निर्माणको कार्य सुरु भएको हो। हाल बेसमेन्ट निर्माण सम्पन्न भएर बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको उनले जानकारी दिए। भवनको संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढाइएकाले तोकिएको समय अगावै निर्माण सक्ने लक्ष्य राखिएको छ। सम्झौताअनुसार २०८४ कात्तिक २२ गतेभित्र भवन निर्माण गरिसक्नुपर्नेछ।

हाल निर्माणस्थलमा ७० जना दक्ष तथा अदक्ष कामदार खटिएका छन्। साथै प्रोजेक्ट म्यानेजर, साइट सुपरभाइजर लगायत १० जना प्राविधिक जनशक्ति परिचालन गरिएको छ। निर्माणस्थलमा आवश्यक सबै सुरक्षा मापदण्ड र सेफ्टी प्रोटोकल पालना गर्दै काम भइरहेको परियोजनाले जनाएको छ।

‘काठमाडौँ महानगरपालिकाको भवन बनाउन हामीले चैत २२ गतेबाट प्रोजेक्ट सुरु गरेका हौँ र आजसम्म ९४ दिन भयो,’ प्रोजेक्ट डाइरेक्टर भट्टले भने, ‘हामीले ३० प्रतिशत वित्तीय र ३५ प्रतिशत भौतिक प्रगति गरिसकेका छौँ। २०८४ कात्तिक २२ गते हस्तान्तरण गर्नुपर्ने अन्तिम मिति रहे पनि सकभर त्योभन्दा चाँडो नै सक्ने तयारीका साथ काम गरिरहेका छौँ।’

संरचना निर्माणको वर्तमान अवस्थाबारे जानकारी दिँदै उनले थपे, ‘अहिले बेसमेन्टको काम सकाएर कभर स्ल्याब ढलानको तयारी गरिरहेका छौँ। निर्माणस्थलमा ७० जना कामदार र १० जना प्राविधिक जनशक्तिले सुरक्षाका सबै मापदण्ड अपनाएर काम गरिरहेका छन्।’

महानगरको करिब ६ रोपनी जग्गामा आठ तले प्रशासनिक भवन निर्माण भइरहेको छ। उक्त निर्माणाधीन भवनको बुधबार काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन समेत गरेकी छन्। अनुगमनका क्रममा उनले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप