वानखेड अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मुम्बईमा रहेको छ । यो क्रिकेट रंगशालाको व्यवस्थापन र सञ्चालन मुम्बई क्रिकेट एसोसिएसनको अधीनमा रहेको छ । वानखेड स्टेडियममै मुम्बई क्रिकेट एसोसिएसनको मुख्यालय पनि रहेको छ ।
यसका अतिरिक्त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मुख्यालय पनि वानखेड स्टेडियम परिसरमै रहेको छ । यो इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब मुम्बई इन्डियन्सको घरेलु मैदान पनि हो । आईपीएलको मुख्यालय पनि यही स्टेडियम परिसरमा रहेको छ । यो क्रिकेट स्टेडियमको छेउछाउ थुप्रै पुराना क्रिकेट क्लबहरुको कार्यालय पनि छ । भारतकै पुराना क्लबहरू हिन्दु जिमखाना, पारसी जिमखाना र क्रिकेट क्लब अफ इन्डियाको कार्यालयम पनि यही रंगशालाको वरपर रहेका छन् । यो क्रिकेट रंगशाला सन् १९७४ मा तयार पारिएको थियो । त्यतिबेला यसको दर्शक क्षमता ३९ हजार रहेको थियो ।
त्यसपछि सन् २०११ मा यो रंगशालाको पुनर्निर्माण गरिएको थियो । अहिले यो रंगशालाको दर्शक क्षमता ३२ हजार हो । सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेट भारत, बंगलादेश र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यतिबेला विश्वकपको फाइनल खेल पनि यही रंगशालामा खेलाइएको थियो । त्यो विश्वकपको फाइनलमा भारतले श्रीलंकालाई ६ विकेटले हराएको थियो । स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरले आफ्नो खेल जीवनमा खेलेको अन्तिम एकदिवसीय प्रतियोगिता पनि त्यही थियो ।
वानखेड स्टेडियममा सन् १९७५ को जनवरी २३ देखि २९ सम्म पहिलो टेस्ट क्रिकेट खेलिएको थियो । उक्त टेस्ट भारत र वेस्ट इन्डिजबीच खेलिएको थियो । अन्तिम टेस्ट भने सन् २०२१ को डिसेम्बर ३ देखि ७ सम्म भारत र न्युजिल्यान्डबीच खेलिएको थियो । यसैगरी यो स्टेडियममा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता सन् १९८७ को जनवरी १७ मा भारत र श्रीलङ्काबिच खेलिएको थियो । अन्तिम एकदिवसीय भने सन् २०२३ को मार्च १७ मा भारत र अस्ट्रेलियाबिच खेलिएको थियो । पहिलो टी—२० अन्तर्राष्ट्रिय सन् २०१२ को डिसेम्बर २२ मा भारत र इङ्ल्यान्डबीच खेलिएको थियो ।
यो स्टेडियमको माटो रातो रहेको छ । यो स्टेडियमको पिचमा बल निकै बाउन्स हुने गर्छ । त्यसैले यहाँको पिच बलरका लागि भन्दा पनि ब्याट्सम्यानका लागि बढी उपयोगी मानिन्छ । यो स्टेडियममा आगामी विश्वकपको सेमिफाइनलसहित पाँचवटा खेल खेलाइने कार्यक्रम रहेको छ ।
यसअघि यो स्टेडियममा सन् १९८७, सन् १९९६ र सन् २०११ को विश्वकपका खेलहरू पनि खेलाइएको थियो । यो रंगशालामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको सर्वाधिक योगफल चार विकेट गुमाएर चार सय ३८ रन हो । सन् २०१५ मा खेलिएको एकदिवसीय क्रिकेटमा भारतविरुद्ध दक्षिण अफ्रिकाले उक्त रन बनाएको थियो । यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो रंगशालामा न्युजिल्यान्डले ६ विकेट गुमाएर तीन सय ५८ रन, भारतले चार विकेट गुमाएर दुई सय ९९ रन र श्रीलङ्काले सात विकेट गुमाएर दुई सय ८९ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो रंगशालामा बनेको सबैभन्दा कम योगफल भने एक सय १५ रन हो । सन् १९९८ मा भारतले बंगलादेशलाई एक सय १५ मा अलआउट गरेको थियो । यो स्टेडियममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिन तेन्दुलकरले विभिन्न पालीमा सर्वाधिक कुल चार सय ५५ रन बनाएका छन् । यसैगरी मोहम्मद अजहरुद्दिनले तीन सय दुई र विराट कोहलीले दुई सय ४९ रन बनाएका छन् । यो स्टेडियममा एकदिवसीय क्रिकेटमा भारतका वेंकटेस प्रसादले सर्वाधिक १५, अनिल कुम्बलेले १२ र हरभजन सिंहले नौ विकेट लिएका छन् ।
मुम्बई इण्डियन्स
कोलकत्ता नाइट राइडर्स
मुम्बई इण्डियन्स
रोयल च्यालेन्जर्स बैंग्लुरु
मुम्बई इण्डियन्स
पञ्जाब किङ्स
मुम्बई इण्डियन्स
चेन्नई सुपर किङ्स
मुम्बई इण्डियन्स
सनराइजर्स हैदराबाद
मुम्बई इण्डियन्स
लखनउ सुपर जाइन्ट्स
मुम्बई इण्डियन्स
राजस्थान रोयल्स