शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सीको भ्रमणबाट नेपालले एउटा नयाँ मोड लिन्छ, म उत्साहित छु : सुजाता कोइराला

शुक्रबार, २४ असोज २०७६, २० : ०७
शुक्रबार, २४ असोज २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भव्य रुपमा सफल हुने बताएकी छन् । उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं ।’

सीको नेपाल भ्रमणले देशको उचाई ठूलो हुने उनको विश्वास छ । उनले भनिन्, ‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ ।’ सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको भनाइ छ । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा उनले भनिन्, ‘जनताले चाहेको नै विकास हो । स्थायित्व र शान्तिले नै देशमा विकास हुन्छ । सीको भ्रमणबाट नेपालले केही पाएपनि वा नपाएपनि उहाँ नेपाल आउनुनै एउटा महत्वपूर्ण कुरा हो ।हामी सबै पूराना तिता कुराहरु बिर्सिएर विकासको कुरामा मात्रै लागिरहेका छौं । यो नै एउटा ठूलो उपलब्धि हो भन्ने मलाई लागेको छ । एउटा नयाँ बाटोमा हामी हिँड्न लागेका छौं । देशले एउटा नयाँ मोड लिन्छ भनेर म उत्साहित छु ।’ 

उनले नेपालमा रेल ल्याउने कुरा खुशीको कुरा भएको बताइन् । उनले भनिन्,‘ट्रेन, कनेक्टिभिटी भनेको यसको धेरै महत्व छ । पूर्वाधार विकासको लागि बाटो हो । विकासको पूर्वाधार नै बाटो हो । सुरुमा मलाई पनि ट्रेनको कुरा गर्दा अर्के लाग्दथ्यो, तर धेरै अध्ययन गरेपछि ट्रेन चाहिन्छ भन्ने निश्कर्षमा म पनि पुगेको छु । भारतबाट र चीनबाट पनि काठमाठौं ट्रेन आउँछ । यो भयो भने दुवै देशबाट नेपालमा लाखौंको संख्यामा पर्यटकहरु आउँछन् । उनीहरुलाई नेपाल आवागमनमा सहजता हुन्छ । यो आवश्यकत्ता छ । सुरुवात हुन्छ भनेको सुन्छु । हामी स्वागत गर्छौं ।’

चीनसँग नाका खोल्ने कुरापनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गरेको उनको जिकिर छ । उनले भनिन्,‘चीनसँग नाका खोल्ने कुरा नेपाली कांग्रेसले गरेको हो । चीन अहिले आर्थिक रुपमा दोस्रो ठूलो शक्ति हो । चीन बलियो भएको छ । अहिले नाका खोल्नेबारे महत्व दिएको छ । परिस्थिति परिवर्तन भएको छ । नाका खुल्छ । यो खुशीको कुरा हो ।’ चीनको बिआरआई परियोजना राम्रो भएको सुनाउँदै यसबाट नेपालले पनि ठूलो लाभ लिनसक्ने उनको तर्क छ । उनले थपिन्,‘हामीले योमार्फत धेरै परियोजना ल्याउन सक्छौं । लगानी ल्याउन सक्छौं ।’ 

त्यस्तै, उनले रेलवे ल्याउने कुरामा पनि सबै कुरामा नेपालले अनुदानमात्रै खोज्न नहुने तर्क गरिन् । उनले भनिन्, ‘केरुङ–काठमाडौं रेलको जो कुरा छ, हामी सबै अनुदान नै खोज्छौं । हामी नेपालीहरुको बानी बिग्रिएको छ । हामीले पनि मेहनत गर्नुपर्छ । मगन्तेजस्तो सबै कुरा लिनु राम्रो होइन ।’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो र कसिलो बनाउने सुनाए । उनले भने,‘चीन हाम्रो छिमेकी, अत्यन्तै घनिष्ठ र भरपर्दो मित्र हो, चीनको राष्ट्रपतिको भ्रमण हुँदैछ, यो खुशीको कुरा हो ।’

चीनबाट २३ वर्षसम्म यो स्तरको नेपाल भ्रमण हुन नसक्नुको कारण नेपालमा राजनीतिक स्थायित्व नहुनु नै प्रमुख कारण रहेको उनको संकेत छ । उनले भने,‘अब यसको कुरा गर्दा भ्रमण गर्ने र गराउने मुलुकको अवस्था र तयारी पनि हुन्छ । हामी संविधान निर्माणमा धेरै व्यस्त रह्यौं । राजनीतकि अस्थिरता रह्यो । हामीले संविधान निर्माणलाई नै प्राथमिकता दियौं । सबै दल मिलेर एक ढिक्का भएर वर्तमान संविधान निर्माण गरेका छौं । अहिले राजनीतिक रुपमा नेपालमा स्थिरता आयो । यो कुरा पूरा विश्वले हेरको छ।’

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा रसुवा–काठमाडौको बाटो नम्बर एक प्राथमिकतामा परेको पनि उनले सुनाए ।
सीको यो भ्रमणमा रेलवे ल्याउनेबारे छलफल हुने र सहमति हुनेपनि उनले विश्वास दिलाए । उनले थपे,‘केरुङ–काठमाडौं रेलवेबारे हामी भर्खर फिजिविलटी अध्ययन गर्ने अवस्थामा छौं । त्यसपछि डिपिआर तयार हुन्छ । अनिमात्रै खर्चको कुरा हुन्छ । कहाँबाट जुटाउँछौं । स्रोतको विषयमा कुरा हुन्छ ।’ 

उनले भारत र चीनलाई फरक फरक आँखाले हेर्न नहुने पनि तर्क गरे । उनले भने,‘चिनियाँ राष्ट्रपतिको यो भ्रमण चीन र नेपाल दुवैको हितमा हुन्छ । सफल रुपले सम्पन्न हुन्छ । आउने दिनमा विकास निर्माणका ढोकाहरु खुल्नेछन् ।’ भ्रमणको क्रममा के–के भाईवल हुन्छ, ती प्राथमिकताका आधारमा हस्ताक्षर हुनेपनि उनले जनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप