आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कास्की उपनिर्वाचन : आचारसंहिता निगरानी

शुक्रबार, १३ मङ्सिर २०७६, २१ : १८
शुक्रबार, १३ मङ्सिर २०७६

कास्की । कास्की क्षेत्र नं २ को उपनिर्वाचनको पूर्वसन्ध्यामा पोखराका विभिन्न स्थानमा सुरक्षा जाँच कडा बनाइएको छ । निर्वाचन विरोधी सम्भावित गतिविधि हुन सक्ने भन्दै सुरक्षा व्यवस्थालाई कडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । 

निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको र सुरक्षा व्यवस्थालाई कडा बनाइएको केसीले बताए । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सुरक्षाको प्रबन्ध गरिएको जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन सक्ने भन्दै विशेष निगरानी गरिएको बताए । 

उनले भने, “मौन अवधिमा जुनसुकै पार्टीबाट पनि निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन सक्छन् । त्यस्ता ठाउँहरुको पहिचान गरेर हामीले निगरानी बढाएका छौँ ।” 

हालसम्म निर्वाचनलाई प्रभाव पार्न सक्ने केही व्यक्तिको सूचना प्राप्त भएको उनीहरुलाई विशेष निगरानीमा राखिएको पनि उनले जानकारी दिए । कास्कीका ३२ मतदानस्थल र ८२ मतदान केन्द्रबाट ७१ हजार ८७१ जनाले प्रतिनिधिसभा सदस्यका लागि मददान गर्दैछन् । प्रतिनिधिसभा सदस्यका लागि १० स्वतन्त्रसहित २१ जनाको उम्मेदवार छन् । 

निर्वाचन आयोगका अनुसार मङ्सिर १४ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदाताले मतदान गर्न पाउने छन् । जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सवारी साधनलाई मात्रै आवतजावत खुला गरिएको छ । 

आवश्यक निर्वाचन सामग्रीसहित शुक्रबार नै ८२ मतदान अधिकृतसहित ४१० सरकारी कर्मचारी र ३२८ स्वयम्सेवक मतदानस्थलमा पुगिसकेको कास्कीका निवार्चन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप