राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट ५ जनाको उम्मेदवारी
पोखरा । माघ ९ मा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट ५ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसबाट विजयी बनेका बिन्दा राना आले मगर र खुलाबाट सुरेन्द्र पान्डेको २ वर्षे पदावधि सकिने भएपछि सो ठाउँमा निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभा सदस्यका लागि नेकपाबाट पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेका उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
नारायणकाजीको पक्षमा गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले प्रस्ताव गरेका थिए भने प्रदेश सभा सदस्य दिलमाया रोकामगरले प्रस्ताव समर्थन गरेकी थिइन् ।
नारायणकाजी गोरखा क्षेत्र नम्बर क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको लागि उठेका थिए । उनले बाबुराम सँग चुनाव हारेका थिए ।
नेकपाका अर्का उम्मेदवार भगवती न्यौपानेका लागि गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङले प्रस्ताव गरेका थिए भने पोखरा महानगरपालिकाकी उप—मेयर मञ्जुदेवी गुरुङले प्रस्तावमा समर्थन जनाएकी थिइन् । भगवती तनहूँको भानु नगरपालिकाबाट हुन् ।
यस्तै, प्रमुख प्रतिपक्ष कांग्रेसबाट सूर्यप्रसाद रेग्मी र बिमला गौचनको उम्मेदवारी दर्ता भएको छ । म्याग्दीकी बिमलाको नाम प्रदेश सभा सदस्यको समानुपातिकतर्फको बन्द सूचीमा थियो । केन्द्रले पत्राचार गरेर निर्वाचन आयोगलाई नाम खुला गर्न पत्र लेखेपछि उनी कांग्रेसबाट राष्ट्रिय सभा सदस्यका लागि महिलाबाट उम्मेदवार बनेकी हुन् ।
कांग्रेसको खुलातर्फबाट उम्मेदवारी दर्ता गराएका सूर्यप्रसाद रेग्मी स्याङ्जाका पुराना नेता पनि हुन् । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य भगवत प्रकाश मल्ल उनको प्रस्तावकको रुपमा थिए भने समर्थकमा भिरकोट नगरपालिका स्याङ्जाका प्रुमुख छाँयाराम पौडेल रहेका छन् ।
महिला सदस्यमा उम्मेद्वारी दिएकी बिमला गौचनको प्रस्तावकमा जलजला गाउँपालिका पर्वतकी अध्यक्ष सीमा गर्जुबा पुन छन् भने स्याङ्जा भीरकोट नगरपालिकाकी उपमेयर सीमा कर्माचाय समर्थकको रुपमा रहेकी छिन् ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट शंकरप्रसाद बरालको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । उनको प्रस्तावकमा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा छन् । यस्तै, समर्थकमा गण्डकी प्रदेश सभा सदस्य पियारी थापा रहेकी छिन् । उम्मेदर बराल कास्कीका हुन् भने प्रस्तावक र समर्थक दुवै जना बागलुङबाट चुनिएका प्रदेश सभा सदस्य हुन् ।
प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतबाट चयन हुने राष्ट्रिय सभाका प्रतिनिधी सभा सदस्यका लागि गण्डकीबाट नेकपाले जित्ने पक्कापक्की नै छ । बहुमतीय प्रक्रियाबाट निर्वाचन हुने भएकाले पनि नेकपाले चुनाव जित्ने निश्चित छ । गण्डकीमा नेकपको ५७ प्रतिशत मतभार छ । जसमध्ये राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहको १८ मतभार तोकिएको छ । स्थानीय तहको कुल १ सय ७० जनाको ३ हजार ६० र प्रदेश सभातर्फ ६० जनाको २ हजार ८ सय ८० गरी ५ हजार ९ सय ४० मतभार गण्डकीमा छ ।
यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ । गण्डकीमा जिल्ला निर्वाचन कार्यालय कास्की मै चुनाव केन्द्र तोकिएको छ ।
राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला ७, दलित २, अल्पसंख्यक २ र अन्य ७ गरी १८ जना निर्वाचित हुनेछन् । संघीय संसद्को माथिल्लो सभाका रूपमा रहने राष्ट्रियसभामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले परिकल्पना गरेको छ ।
संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ । संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक २ वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका १ तिहाइ सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण