आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैङ्कको नाफा १९ प्रतिशत वृद्धि, बेसरेटको सुधारले ऋणको ब्याज सस्तियो

सोमबार, २० माघ २०७६, ११ : ५४
सोमबार, २० माघ २०७६

काठमाडौँ । कुमारी बैङ्कले पुस मसान्तसम्म महिनामा ८० करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैङ्कले ८० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको हो । कुमारीको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको नाफाभन्दा १८.७५ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो बैङ्कको नाफा ६७ करोड ६२ लाख रुपैयाँ थियो ।

बैङ्कले पुस मसान्तसम्ममा ८० अर्ब ५७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ८० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः ७–७ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैङ्कको निक्षेप करिब ७३ अर्ब २० करोड र कर्जा ७३ अर्ब ०१ करोड रुपैयाँ थियो ।

पुस मसान्तसम्म बैङ्कको जगेडा कोष २ अर्ब २४ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब १५ करोड रुपैयाँले बढी हो । यो वर्ष १० प्रतिशत बोनस शेयर जारी गरेको बैङ्कले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ८७ करोडले बढाएर ९ अर्ब ५५ लाख रुपैयाँ पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा ६८ करोड रुपैयाँ रहेको देखिएको छ ।

कुमारी बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब ४२ करोडबाट बढेर ५ अर्ब २० करोड पुग्दा ब्याज खर्च २ अर्ब ९१ करोडबाट ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । ६ महिनामा बैङ्कको कर्मचारी खर्च अघिल्लो वर्ष ४६ करोड १९ लाख रहेकोमा यो वर्ष ६१ करोड ९२ लाख पुगेको हो । अन्य सञ्चालन खर्च करिब १४ करोड बढेर ३५ करोड पुगेको छ ।

पुस मसान्तसम्म सो बैङ्कको पुँजी पर्याप्तता अनुपात ११.५२ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई १.२२ प्रतिशतबाट १.०४ प्रतिशतमा पुगेको छ । बैङ्कको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा बेसरेटमा भने उल्लेख्य सुधार देखिएको छ । पुस मसान्तसम्म सो बैङ्कको कस्ट अफ फण्ड ७.५० प्रतिशत र बेसरेट १०.४५ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फण्ड ८.१२ प्रतिशत बेसरेट ११.५५ प्रतिशत थियो । बेसरेटमा कस्ट अफ फण्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैङ्कको प्रावधान छ । बैङ्कको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ४.३७ प्रतिशत छ । यो अनुपात राष्ट्र बैङ्कले तोकेको ४.४० प्रतिशतको सीमाभित्र हो ।

बैङ्कले बचत खातामा ४ प्रतिशतदेखि ६ प्रतिशत र मुद्दति खातामा ८ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ६ प्रतिशतसम्म थप गरेर लिनेगरी पछिल्लो ब्याजदर निर्धारण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप