शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसाय विस्तारमा राम्रो प्रगति गर्दै सिभिल बैङ्क, निष्क्रिय कर्जा घट्यो

मङ्गलबार, २८ माघ २०७६, ११ : ४५
मङ्गलबार, २८ माघ २०७६

काठमाडौँ । सिभिल बैङ्कले ६ महिनामा करिब ३२ रुपैयाँ नाफा कमाएको छ । बैङ्कले चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैङ्कले ३१ करोड ६२ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको हो । सिभिलको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको केही कम हो । अघिल्लो वर्ष सो बैङ्कको नाफा ३७ करोड ९ लाख रुपैयाँ थियो ।

बैङ्कले पुस मसान्तसम्ममा ४७ अर्ब ७४ निक्षेप सङ्कलन गरी ४७ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः १४ र १२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैङ्कको निक्षेप करिब ४१ अर्ब ९९ करोड र कर्जा ४२ अर्ब ५९ करोड रुपैयाँ थियो ।

पुस मसान्तमा बैङ्कको जगेडा कोष १ अर्ब ६० करोड रुपैयाँ छ जुन अघिल्लो वर्षकै बराबर हो । यो वर्ष नगद लाभांश मात्रै दिएकाले बैङ्कको अघिल्लो वर्षकै बराबर छ । बैङ्कको चुक्तापुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहँदा नबाँडिएको नाफा ३२ करोड ९७ लाख रुपैयाँ छ । यो कोषबाट प्रस्तावित ६.५७ प्रतिशत नगद लाभांंश वितरण हुन्छ ।

सिभिल बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी २ अर्ब ७४ करोडबाट बढेर ३ अर्ब ९ करोड पुग्दा ब्याज खर्च १ अर्ब ६५ करोडबाट १ अर्ब ८९ करोड रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । ६ महिनामा बैङ्कको कर्मचारी खर्च अघिल्लो वर्ष ३० करोड रहेकोमा यो वर्ष ५० करोड ६४ लाख पुगेको छ । अन्य सञ्चालन खर्च करिब ७ करोड बढेर २६ करोड पुगेको छ ।

पुस मसान्तसम्म सो बैङ्कको पुँजीकोष अनुपात १५.९२ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई ३.५४ प्रतिशतबाट २.६९ प्रतिशतमा झार्न सफल हुनु बैङ्कको ठूलो सफलता हो । त्यही कारण बैङ्कको लोनलस प्रोभिजन ९५ प्रतिशतबाट बढेर ११० प्रतिशत पुगेको छ ।

बैङ्कको यो वर्ष कस्ट अफ फन्ड स्थिर भए पनि बेसरेटमा भने उल्लेख्य सुधार देखिएको छ । पुस मसान्तसम्म सो बैङ्कको कस्ट अफ फन्ड ८.१९ प्रतिशत र बेसरेट १०.९६ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फन्ड ८.२० प्रतिशत बेसरेट ११.३१ प्रतिशत थियो । भएको बैङ्क बेसरेटमा कस्ट अफ फन्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैङ्कको प्रावधान छ । बैङ्कको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ४.९० प्रतिशत छ ।

बैङ्कले बचत खातामा ६ प्रतिशतदेखि ६.५ प्रतिशत र मुद्दती खातामा ८.५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ६ प्रतिशतसम्म थप गरेर लिनेगरी पछिल्लो ब्याजदर निर्धारण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप