शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश राजधानीको बहस तीव्र  ः छिट्टै टुङ्ग्याउन माग

बुधबार, २८ फागुन २०७६, १५ : १७
बुधबार, २८ फागुन २०७६

बुटवल । प्रदेश ५ को राजधानी र नामाकरणबारे चिया पसलदेखि सांसद भेलासम्म तीव्र बहस भएको छ ।

केही दिनअघि बुटवलमा उद्योगीदेखि सांसदको गोप्य भेला गरेर बुटवललाई राजधानी बनाउन लविङ भएपछि प्रदेशको नाम र राजधानीको विषयमा चर्चा चुलिएको हो । 

प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सहमतिबाटै राजधानी र नामाकरण टुङ्गो लाग्ने बताए । उनले राजधानी र केन्द्र तोक्नेजस्तो विषयमा हतार गर्न नहुने भन्दै पाको र गहन ढङ्गले अध्ययन गरी घोषणा गर्ने तयारीमा रहेको बताए ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ बुटवलले आयोजना गरेको साक्षात्कारमा मन्त्री केसीले प्रदेश राजधानीका लागि तीनवटा क्षेत्र उपयुक्त देखिए पनि सवैलाई पायक पर्ने गरी निर्णय हुने बताए ।
‘राप्ती अञ्चलको राजधानी तुलसीपुर, लुम्बिनी अञ्चलको राजधानी बुटवल र भेरी अञ्चलको राजधानी नेपालगन्जजस्ता क्षेत्रहरुले राजधानीको दावेदारी पेश गरेका छन्,’ उनले भने, ‘हामी सवैलाई न्याय हुने गरी नै राजधानी निर्धारण गर्दछौँ ।’

साक्षात्कारमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल राजनीतिक क्षेत्रमात्र नभई इतिहाससँग जोडिएको क्षेत्र भएकाले बृहत्तर बुटवलमै राजधानी बन्ने बताए । ‘भर्जिन स्थानको खोजी हुँदैछ, जुन रुपन्देहीको विकल्प हुन सक्दैन । त्यस्तो स्थान कनेक्टीभिटी नभएको, एयरपोर्ट नभएको वा पूर्वाधारविहीन स्थान हुन सक्दैन,’ उनले भने, ‘नयाँ स्थानमा राजधानी बनाउँदा ५० वर्ष लाग्न सक्छ ।’

त्यसले समयमात्र होइन, स्रोत समेतमा बाधा ल्याउने उनले बताए । बुटवलमा राजधानी बन्ने थुप्रै आधार रहेको उनको भनाइ थियो । 

प्रदेश सभा सदस्य फकरुद्दिन खाँनले राजधानी र नामाकरणले प्रदेशको कार्यसम्पादनमाथि नै प्रश्न उठेको बताए । उनले भने, ‘कार्यकाल अवधि मै प्रस्ताव नआउने पो हो कि भन्ने आशंका पैदा भएको छ ।’ जतिसक्दो छिटो प्रदेशको राजधानी र नाम टुङ्ग्याउनु पर्ने उनको भनाइ थियो ।

त्यस्तै समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष पाण्डे संघीय स्तरका नेताहरुबाट प्रदेशको राजधानी र नामाकरणका सन्दर्भमा निर्देशन दिनु गलत भएको बताए । उनले राजधानीको विषय प्रदेशसभा सदस्यहरुको अधिकार क्षेत्र भएकाले पार्टीको ह्वीप लगाउनु उपयुक्त नहुने धारणा राखे ।

‘भर्जिन ल्यान्ड’का नाममा बन्जर क्षेत्रमा राजधानी बनाउन नहुने उनको तर्क छ । 

मुख्यमन्त्री शंकर पोखरेलले केहीदिन अघि भर्जिन ल्यान्डमा राजधानी बनाउनुपर्ने धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप