जनकपुर–जयनगर रेल, काठमाडौंमा मेलम्चीको पानी आउनेजस्तै भाका
काठमाडौं । कर्मचारी भर्नामा सरकारको प्रक्रियागत ढिलाईका कारण जनकपुर कुर्था देखि भारतको जयनगरसम्म रेल गुड्ने समय पछि सरेको छ । भौतिक संरचनाको तयारी भएपनि कुर्था–जयनगर रेल सञ्चालनको प्रक्रिया अझै सुरु हुन सकेको छैन । रेल विभागमा महानिर्देशक बलराम मिश्रले रेलगाडी गुडाउने विभिन्न मिति तोक्दै फेरि अर्को भाका सारेका छन् । उनले अघिल्लो आर्थिक वर्षमै, गत भदौमा, गत माघ फागुनभित्रै रेल सञ्चालन हुने बताएपनि अझै रेल गुडाउने सुरसार नभएको हो ।
कुर्था जयनगर रेल सञ्चालनको भाका पनि मेलम्ची खानेपानी आयोजनाको भाका जस्तै सर्दै गएको छ । अब आउँदो असार मसान्तसम्म रेल सञ्चालन हुने मिश्रले बताए । जनकपुर कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ । यस्तै २ थान रेलगाडी पनि तयारी अवस्थामा रहेको छ ।
विभागका अनुसार यी रेल प्रतिघण्टा १ सय १० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने क्षमताको छ भने भारतले बनाएको रेलमार्ग भने प्रतिघण्टा १ सय किलोमिटर गति क्षमताको छ । सो रेलमार्ग निर्माणका लागि भारतले १० अर्व रुपैयाँ सहयोग गरेको थियो ।
नेपालीको आवेदन पर्दैन भन्ने थाहा हुँदा–हुँदै विज्ञापन
रेल विभागले अघिल्लो वर्षनै कर्मचारी भर्नाको प्रक्रिया सुरु गरेको बताएपनि अझै आवश्यक कर्मचारी भर्ना गर्न सकेको छैन । विभागमा महानिर्देशक मिश्रले नेपाली कामदारको आवेदन पर्दैन भन्ने थाहा हुँदा हुँदैपनि रेलका लागि कर्मचारी माग गरेको बताए । अब विदेशी कामदार माग गर्नका लागि अर्को विज्ञापन प्रकाशनको तयारी रहेको उनले बताए । विभागले रेलमा काम गर्नका लागि दक्ष जनशक्ति चाहिने र त्यो सीप नेपालीमा नभएको थाहा पाउँदा पाँउदै विज्ञापन निकालेको हो ।
मिश्रले भने– ‘रेलका लागि आवश्यक जनशक्ति नेपालमा छैन, विदेशी जनशक्ति राख्नुपर्छ भनेर हामीले पहिले नै निर्णय गरेका थियौँ । ऐनमा नेपालीलाई पहिलो प्राथमिकता नदिई विदेशीलाई दिन पाइदैँन । त्यही आधारमा नेपालीका लागि विज्ञापन गरिएको हो । यो नैलो कुरा होइन, नेपालीको आवदेन पर्दैन भन्ने कुरा पहिला नै थाहा थियो । नेपालीलाई अवसर दिएन भनेर पछि कुरा उठ्ला भनेर मात्रै विज्ञापन निकालिएको हो ।’
विदेशी कर्मचारी भर्ना गर्नेबारे भने निर्णय गर्न बाँकी नै रहेको उनले बताए । एक दुई हप्तापछि मात्रै यसबारेमा बैठक बसेर निर्णय गर्ने मिश्रले बताए ।
उनले भने– ‘माघ फागुनमा रेल गुड्ने निश्चित नै थियो । बर्षातमा रेल्वे ट्रयाकमा क्षति पुग्यो, त्यो भर्खर मर्मत भएको छ । रेल गाडिको सप्लाईमा पनि ढिलाई भएको छ अहिले भर्खर तयार भएको छ । रेल ट्रयाक बन्यो, जनशक्तिको पनि तयारी हुँदैछ । रेलको उद्घाटन गरेर मात्र भएन सबै कुराको तयारी गर्नुप¥यो नी ।’
गएको माघ ६ गते सरकारले नेपाल भारत रेल सेवा सञ्चालनका लागि दक्ष श्रमिक नेपाली नागरिकबाट नपाएमा श्रम ऐन, २०७४ को दफा २२ अनुसार २६ जना विदेशी दक्ष श्रमिक नियुक्त गर्न विभागलाई सैद्धान्तिक स्वीकृति दिएको थियो । विभागका महानिर्देशक मिश्रले सोही ऐनअनुसार विदेशी कर्मचारी भर्ना गरिने बताए ।
रेल सञ्चालका लागि ४५ पदमा २ सय २६ कर्मचारी लिने विभागको तयारी छ । रेल गुडाउन लागि अत्यावश्यक २६ जना भने विदेशी कामदार लिने तयारी छ । रेलमार्गमा ८ वटा स्टेशन हुने र एउटा स्टेशनमा सात आठजना कर्मचारी चाहिने विभागको अनुमान छ ।
भारतको जयनगरबाट आउने रेलको अन्तिम स्टेशन जनकपुरको कुर्था भएपनि आगामी ६ महिनापछि थप १७ किलोमिटर यता विजुलपुरामा रेल स्टेशन हुने भएको छ । कुर्थादेखि विजुलपुरासम्म रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यस्तै पछि त्यसलाई विस्तार गरेर महोत्तरीको बर्दिबाससम्म पु¥याउने योजना बनाइएको छ ।
भारतमा तयार भएको रेलगाडिमा ६ वटा डिब्बा जोडिने र यसमा ४ सय सिट हुने विभागको भनाई छ । जसलाई ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको हो । छोटो दुरी भएकाले बस्ने र उभिने गरी झन्डै १ हजार हराहारी यात्रु अट्न सक्ने अनुमान छ । यसअघि न्यारोजेगको रेलमार्ग रहेकोमा अहिले ब्रोडगेजको मार्ग बनाइएको छ । भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा सन् २०१४ देखि यो रेलमार्गको काम अघि बढेको थियो । यता, पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्र्तगत बर्दिबासदेखि निजगढसम्म ट्रयाक खोल्ने र पुल बनाउने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण