बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी

मङ्गलबार, ०२ वैशाख २०७७, १० : १३
मङ्गलबार, ०२ वैशाख २०७७

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । 

सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी हिजै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए ।
 
धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न हिजो साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उनले भने, “सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ ।” उनका अनुसार उनलाई घरमा छुट्टै तरिकाले बस्न लगाइएको छ । 

कोरोना भाइरस देखिएका आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ । कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा ती तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो । 

उनीहरुलाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको छ । उक्त अपार्टमेन्टमा सोमबार नै ‘सिल’ गरिएको छ । पाँचवटा सनसिटी टावरमा करिव ५०० परिवारको क्षमता रहेको फ्ल्याट छन् ।
 
यसैबीच काभ्रेपलाञ्चोकमा आइतबारदेखि विदेशबाट फर्किएकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) थालिएको छ । हालसम्म ९७ जनाको आरडिटी भएको जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार आरडिटी स्थानीय तहमै गरिएको हो ।
 
कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि विदेशबाट काभ्रेपलाञ्चोकमा घर फर्किएर एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएका सबैको आरडिटी गर्न थालिएको हो । कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । यसमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको सम्पर्कमा ल्याइएको हो । 

झाले घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको र यसअघि उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गरिरहेको बताउनुभयो । उनका अनुसार हालसम्म पाँचखाल नपाका २७, बनेपा नपाका १७, पनौती नपाका १७, धुलिखेल नपाका १८ तथा महाभारत गाउँपालिकाका पाँच, चौँरी देउरालीका पाँच, बेथानचोकका चार र रोशी गाउँपालिकाका चार जनाको आरडिटी परीक्षण भएको र उनीहरुको ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।
 
वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले गत हप्ता आरडिटीका लागि काभ्रेपलाञ्चोकमा ३०० किट उपलब्ध गराएको थियो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप