सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनकै बीच जहाँ हुँदैछ धमाधम हाइड्रोपावर निर्माणको काम, खटिएका छन् ४५० मजदुर

बिहीबार, ०४ वैशाख २०७७, १७ : ०४
बिहीबार, ०४ वैशाख २०७७

पोखरा । कास्कीको मादी गाउँपालिका संचालित कास्कीकै सवैभन्दा ठुलो हाइड्रोपावर सुपर मादी हाइड्रोपावरको एरिया शिल गरेर धमाधम निर्माणको काम भइरहेको छ । करिव ४५० मजदुर तथा कर्मचारीहरु निर्माणको काममा खटिएको हाइड्रोपावरका कार्यकारी अध्यक्ष पुष्पज्योती ढुङ्गानाले बताएका छन् । 

ताङतिङमा निर्माणाधीन रहेको उक्त हाइड्रोमा देशभरीका चालिस जिल्लाबाट काम गर्नका लागि मजदुर तथा कर्मचारीहरु आएको हाइड्रोका इन्जिनियर दीपक देवकोटाले बताए । 

देवकोटाका अनुसार बर्षा अगाडि केहि काम सक्नुपर्ने भएकाले पहिलादेखिनै काम गर्दै आएका मजदुर तथा कर्मचारीहरुलाई नै अनुरोध गरेर कामलाई निरन्तरता दिएको हो । 

 ४४ मेगावाट क्षमताको उक्त आयोजनाको लागत करिव ७ अर्ब ५० करोड रहेको आयोजनाका कार्यकारी अध्यक्ष ढुङ्गानाले बताएका छन् ।

 ‘हामीले अर्को वर्षको आर्थिक वर्षसम्म योजना सक्ने लक्ष्य लिएका हौँ । तर लकडाउन भन्दा पहिले घर गएका तीनसय मजदुरहरु फर्कन नपाएको कारण योजना अवधि सरदर छ महिना लम्बिने देखियो’, उनले भने, ‘हामीले यो वर्षा सुरु हुनु अगाडि सक्नैपर्ने केही कामहरु भएका कारण हाइड्रोको एरियालाई शिल गरेर काम गरिरहेका छौँ । लकडाउनको कारणले योजनाको समयअवधि मात्र थपिएन लगभग एक अर्ब बरावरको खर्च पनि थपिने भयो । अहिले तत्काल पचास हजार बोरा जति सिमेन्ट आवश्यक परेको छ । अब सिमेन्ट ल्याउन सकिएन भने धेरै गाह्रो हुन्छ । ’

अहिले हाइड्रोमा सुरुङ्ग निर्माण, ड्याम निर्माण लगायतका कामहरु भइरहेका छन् । करिव पाँच वटा क्याम्प खडा गरेर कर्मचारी तथा मजदुरहरुलाई राखिएको ढुङ्गानाले बताए । उनका अनुसार नेपाली सेनाको विष्फोटक टीमलाई  पनि क्याम्प बनाएर राखिएको छ । 

हाइड्रो निर्माणको कामसँगै यो लकडाउनको समयअवधिमा हाइड्रोले सामाजिक उत्तरदायित्व पनि बहन गरेको ढुङ्गानाले बताए । ‘हामीले यो समयमा गरिबहरुलाई केहि राहत होस् भनेर गाउँपालिका मार्फत सहयोग गरेका छौँ । पोखरा महानगरलाई पनि सहयोग गरिरहेका छौँ । त्यस्तो खानै नपाउने अवस्थाका कोही हुनुहुन्छ भने हामी सहयोग गर्न तयार छौँ ।’

मादी गाउँपालिकाकै सविमा पनि पक्की पुलको कामले पनि निरन्तरता पाएको छ । गाउँपालिकाको अनुमति लिएर नै कामलाई निरन्तरता दिएको उक्त योजनाका सुपर भाइजर जनक अधिकारीले बताए । बर्षा सुरु हुनुअघि काम सक्नुपर्ने भएकाले लकडाउनको अवधि भएपनि मजदुरको सुरक्षालाई विशेष ध्यान दिएर कामलाई निरन्तरता दिएको प्रदेश सरकारका इन्जीनियर सुमन गिरीले बताए ।

 ‘यो समय सावधानी अपनाउँदै काम नगर्ने हो भने थुप्रै योजनाहरु बीचमा नै रोकिन्छ । वर्षाको कारण आधाआधी भएको काम पनि पुरा हुन सक्दैन वा क्षति हुन सक्छ,’ गिरीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप