सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्नपुर्ण गाउँपालिकाले राहत होइन काम दिने

शुक्रबार, ०२ जेठ २०७७, १८ : ४०
शुक्रबार, ०२ जेठ २०७७

कास्की । कास्कीको अन्नपुर्ण गाउँपालिकाले लकडाउनमा आफ्नो गाउँपालिकाको कुनै पनि नागरिकलाई राहत नदिने घोषणा गरेको छ । लकडाउनको समयलाई विकास निर्माणको समयको रुपमा अगाडी बढाइएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए ।  ‘गाउँमा खेत बाँझो राखेर राहतका लागि गाउँपालिका धाउनेहरुले दुईचारदिन हामीलाई समस्यामा पारे तर हामीले बनाएको योजनामा दृढ छौँ । गाउँपालिकामा खान नपाउने अवस्थामा कोहि पनि छैनन् । कोहि त्यस्तो अवस्थामा भएको भए हामी काम दिन तयार छौँ । यो समय भनेको राहतमा रमिता देखाएर बस्ने होईन’ उनले भने, ‘यो समयलाई अवसरको रुपमा प्रयोग गरेर अगाडी बढ्न सकियो भने थुप्रै काम गर्न सकिन्छ भन्ने कुरा हामीले पुष्टी गरिसकेका छौँ । हामीले स्थानियहरुलाई नै बिकास निर्माणमा लगाएर ११ वटा योजना सम्पन्न भइसकेको छ । करिब तीन करोड बराबरको काम सकिसकेको छ । काममा स्थानीयहरुलाई नै सहभागी गराउँदा जनताहरु पनि सक्रिय भए । पैसा पनि चलायमान भयो । काम नपाएर कमाई भएन खाना खान पाईएन भन्नेहरु पनि भएनन् । हामीले राहतमा खर्च हुने पैसालाई बिकास निर्माणमा लगाएका छौँ’ 

अध्यक्ष कुँवरका अनुसार गाउँपालिकाले यो भन्दा पछिको अवस्थालाई मध्यनजर गर्दै पाँच सय बोरा चामल दुई हजार किलो तेल र १८ सय तेलको पोका पनि जगेडा गरेर राखेको छ । ‘हामीले खाद्यान्न पनि जगेडा गरिरहेका छौँ । कोरोना संक्रमण अत्याधिक भएर खेतीबारी र कामकाज पनि गर्न नसक्ने अवस्थाको लागि हामीले तयारी गरेका छौँ । अहिले गाउँपालिकाले कोदो बैँक स्थापना गरिएको छ । जहाँ २ सय मुरी कोदो किसानहरुबाट किनिएको छ । यो संख्या बढाएर पाँच सय मुरी कोदो पुर्याउछौँ । हिजो चैतबाटै राहात वितरण गर्नेहरु आज किन राहत वितरण गरिरहेका छैन । राहत वितरणको अवस्था त बल्ल देखा पर्दैछ । संक्रमण फैलने क्रम बढेर मान्छेहरु घरबाहिर निस्कन नसक्ने अवस्थामा बल्ल राहत वितरण गर्ने हो । सुरुमा नै चर्चाका दुईचार केजी चामल बाढ्नेहरुले त चर्चा कमाउने नाममा जनतालाई झन अल्छि बनाएका छन्’ कुँवर बताए । 

कुँवरका अनुसार गाउँपालिका यतिबेला कोरोना संक्रमणबाट बच्नका लागि पूर्व तयारीमा लागिरहेको छ । गाउँपालिकाका प्रत्येक वडामा रहेको स्वास्थ्य चौकीमा औषधी पठाउने काम भइरहेको छ । अहिले गाउँपालिकामा स्थानीयहरुको सहभागितामा १७ वटा योजनाहरुको काम भइरहेको छ । 

गाउँपालिका अध्यक्षको कुरा सुनिसकेपछि हामी काम भएको स्थानमा पुग्यौँ । कास्की सल्यान जाने बाटो लामासोतमा पुुग्यौँ जहाँ सय जना बढी स्थानीयहरु बाटो निर्माणका काम गरिरहेका थिए । बाटो निर्माणमा लागि रहेका युवा प्रदीप विकलाई गाउँपालिकाले राहत भन्दा काम दिएकोमा तपाईंहरुको धारणा के छ भन्ने प्रश्न गर्दा उनी भन्छन्–‘हामीलाई अहिले काम चाहिएको हो । राहतको नाममा दुईचार तस्विर र दुईचार किलो चामल होइन । गाउँपालिकाले हामीलाई काम दिएको छ । हामी खुशी छौँ । राहतभन्दा पनि गाउँपालिकाले हामीलाई अझै काम दिओस् भन्ने आशा छ । ’

सोहि ठाउँमा अन्नपुर्ण गाउँपालिका वडा नंंं. ५ का वडा सदस्य सहबहादुर विक पनि ढुङ्गा बोकिरहेको अवस्थामा भेटिएका थिए । ‘राहतका लागि दुनियाँसँग हात फैल्याउनुभन्दा त आफ्नै पसिनामा विश्वास गर्नु राम्रो होइन र सर ? यो गाउँ नै दलित गाउँ हो । यहाँ काम गर्नेहरु सबै दलित परिवारका छौँ । सुरुमा त राहत दिन्न भन्दा रिसाएका थिए । तर काम गर पैसा लैजाउ भन्दा सबै खुसी छन् । काम चल्दा विकास निर्माणको काम पनि भयो कसैको घरमा चुल्हो पनि निभेन’ विकले बताए ।

राहातको सट्टा कामको योजना कहाँबाट बन्यो भन्ने प्रश्न गर्दा अध्यक्ष कुँवर भन्छन्–‘लकडाउन सुरु हुँदादेखि नै राहतको रमिता देखेँ । धेरै विवादहरु पनि सुनँे । अनि लाग्यो यसलाई हामीले अवसरमा बदल्न सकिदैन र ? अनि काम दिने राहत नदिने घोषणा गरेका हौँ । आजसम्म पनि हामीले एक जनालाई राहत दिएका छैनौँ । सम्भवत राहत नदिने नेपालमा यो मात्र गाउँपालिका हो । गाउँपालिकाले कामको घोषणा गरेसँगै अहिले गाउँपालिकाभरी पाँच सय जनाको हाराहारीमा स्थानीयहरु विकास निर्माणको काममा लागि रहनुभएको छ । त्यसका अलवा गाउँगाउँका बाँझो खेतबारीहरु पनि जोत्न थालेका छौँ । हामीले जनतालाई अल्छी बनाउनु हुँदैन । श्रममा विश्वास गर्नुपर्छ भनेर कामको घोषणा गरेका हौँ ।’

कास्कीको पर्यटकीय गाउँपालिकाको रुपमा चिनिने सो गाउँपालिकाले कृषि क्षेत्रमा काम गर्न चाहने कृषकलाई बीउँविजन पनि बितरण गर्दै आएको छ । त्यसका अलवा मौरीपालनमा किसानलाई प्रोत्साहन गर्न आधा खर्चमा मौरीसहितको घार वितरण गरेको छ । किसानहरुलाई व्यवसायिक खेती किसानीका लागि हाते ट्याक्टर पनि आधा मूल्य गाउँपालिकाले नै हालेर वितरण गरिरहेको छ । लकडाउनको संकटलाई अरु गाउँपालिकाहरुले पनि अवसरको रुपमा लिएर विकास निर्माणसँगै उत्पादनको कामलाई पनि निरन्तता दिन सकेको अवस्थामा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सहयोग पुग्नेछ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप