शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विपदमा सहकारीको भूमिका : सामाजिक उत्तरदायित्व बहन कि दोहन ?

महासङ्घ भन्छ, ‘हामी राज्यका परिपूरक हौँ, विपदमा सरकारसँग हातेमालो गर्न तयार छौँ’
बुधबार, १० असार २०७७, ०८ : ५३
बुधबार, १० असार २०७७

काठमाडौँ । कोभिड–१९ का कारण यतिखेर मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । उद्योग, कल कारखाना, व्यापार व्यासाय राम्रोसँग सञ्चालन हुन सकेका छैनन् भने रोजगार, व्यापार व्यवसाय, आयात निर्यात सहज हुन सकेको छैन । वस्तु तथा सेवाको राम्रो उत्पादन र बजारीकरण हुन नसक्दा अर्थबजार समस्यामा छ ।

लकडाउनका कारण बजार, उद्योग, कलकारखाना सबै बन्द रहँदा त्यसको प्रत्यक्ष मारमा श्रमिक वर्ग परेका छन् । कोरोनाका कारण उद्योग कलकारखाना बन्द हुँदा रोजगारी गुमेको छ । जसले गर्दा श्रमिकहरुको आय आर्जनको स्रोत सुकेका छन् । आयस्रोतकै समस्यका कारण यतिखेर सर्वसाधरणको दैनिकी निकै कष्टकर बनिरहेको छ । यस्तो अवस्थामा रोगले भन्दा भोकले सताउने खतरा बढेर गएको छ ।

त्यसो त तीन महिना लामो लकडाउनकै अवधिमा भोकका कारण दुई दर्जनभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब तीन दर्जनले आत्महत्या गरेको समाचार आएका छन् । यस्तै अवस्था रहिरहे यो दर अझ बढ्न सक्ने खतरा बढेर गएको सरोकारवालाहरुले बताउन थालेका छन् ।

यस्तो अवस्थामा सरकारले प्रभावकारी राहत वितरण र नागरिक उत्थानका काम गर्न सकिरहेको छैन भने निजी, स्वायत्त सङ्घ संस्थाहरुले समेत सर्वसाधारणको विषयमा त्यति ध्यान दिन सकेका छैनन् । भलै सरकारको विकल्पमा मै हुँ भन्ने सङ्घ संस्थाले समेत यतिखेर नागरिकको जीवन रक्षाका लागि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् । सरकारकै परिपूरक ठान्ने स्वायत्त संस्था सहकारीले समेत विपदका बेला नागरिकको उत्थानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । अहिले नागरिक भोकभोकै मर्ने तर जिम्मेवार निकाय रमिते बनिरहने परिस्थिति बनेको छ ।

यसै सवालमा आज हामीले सरकारकै परिपूरक मानिएको तर नागरिकहरुको प्रत्यक्ष जनजीवनसँग सरोकार राख्ने सहकारी क्षेत्रको योगदानबारे खोज्ने प्रयास गरेका छौँ । प्रत्यक्ष नागरिकको घरदैलोसम्म पुग्ने सहकारीले विपद्का बेला सर्वसाधारणको समस्या कसरी सम्बोधन गरिरहेको छ त ? सहकारीको आफ्नै मर्म, उद्देश्य र सिद्धान्तअनुसार सामाजिक उत्तरदायीत्व पूरा गरेका छन् कि छैनन् त ? यसै विषयमा हामीले सरोकारवाल निकाय र सम्बन्धित पक्षसँग कुरा गरेका छौँ ।

हेरौँ, विपद्मा सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले कसरी काम गर्दै छन्ः

स्थानीय तहसँगको सहकार्यमा सहकारीहरुले सामाजिक उत्तरदायित्व बहन गरेका छन्ः परितोष पौडेल

बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घ नेप्स्कुनले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीहरुले स्थानीय तहसँगको सहकार्यमा आफ्नो उत्तरदायित्व बहन गरेको बताएको छ । स्पष्ट्र नीति तथा कार्य निर्देशिकाको अभावमा एकद्वार प्रणालीमार्फत राहत तथा उद्धारका काम गर्न नसकिए पनि संस्थाको सामाजिक उत्तरदायित्व कोष (सीएसआर) मार्फत स्थानीय तहहरुसँग सहकार्य गर्दै सहकारीहरुले सामाजिक उत्तरदायित्व बहन गरिरहेको नेप्स्कुनका अध्यक्ष परितोष पौडेलको भनाइ छ ।

‘कोरोना महामारीको विपद्सँगै पूर्णतः मुलुक लकडाउनमा गएसँगै अर्थबजारमा गम्भीर धक्का लाग्ने पक्कापक्की थियो । यसबाट सहकारी क्षेत्रमा पनि ठूलो असर पार्ने हामीले आकलन गरेका थियौँ । तर त्यसो भएन । बाहिरबाट जेजस्तो प्रक्षेपण गरिएको थियो, त्यसो भएन । सहकारीहरुले वित्तीय व्यवस्थापन राम्रैसँग गरिरहेका छन् । प्रारम्भिक चरणमा केही समस्या देखिए पनि अहिले त्यस्तो छैन । आजभालि सहकारीमा निक्षप राम्रै सङ्कलन भइरहेको छ र कर्जाको वितरण पनि । जहाँसम्म विपद्मा सामाजिक उत्तरदायित्वको कुरा छ, त्यो सहकारीहरुले राम्रैसँग बहन गरिरहेका छन् ।’

अध्यक्ष पौडेलले भने, ‘हामीले जानकारी पाएसम्म कोरोना महामारीको बेला सहकारी क्षेत्रले मात्र राज्यलाई १० करोड बराबरको आर्थिक सहायता गरेको छ । यीबाहेक पनि संस्थाहरुले आआफ्नो क्षेत्रबाट योगदान दिइरहेका छन् । विशेषत सहकारीले स्थानीय तहहरुसँग मिलेर सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् ।’

अध्यक्ष पौडेलका अनुसार अझ सहकारी महासङ्घले सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकारी सीएसआर कोष परिचालनको स्पष्ट नीति तथा निर्देशिका जारी नगर्दा उल्लेखनीय मात्रमा सामाजिक कार्य गर्न संस्थाहरुलाई कठिनाइ पारेको छ । यसो हुन सकेको खण्डमा अझ बढी सामाजिक कार्यमा सहकारी क्षेत्रबाट योगदान पुग्ने पौडेलको भनाइ छ ।

हाल सहकारी क्षेत्रमा संस्थाले आफ्नो कुल लभांशको कम्तीमा ५ प्रतिशत रकम सामाजिक कार्यका लागि छुट्टै कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ ।

विपद्ले सामाजिक उत्तरदायित्वको दायरा अझ बढाएको छ : सुरेन्द्र भण्डारी

बहुउद्देश्यीय सहकारी केन्द्रीय सङ्घले विपद्ले सहकारीको सामाजिक उत्तरदायित्वको दायरा थप विस्तार गरेको बताएको छ । रातोपाटीसँग कुरा गर्दै बहुउद्देश्यीय केन्द्रीय सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारीहरुले कोरोनाअघि पनि सामाजिक कार्य गरिरहेकोमा कोरोनापछि सो कार्य अझ बढेको बताए ।

‘हामी सामाजिक उत्तरदायित्वअन्तर्गत उल्लेखनीय काम गर्दै आएका छौँ । जुन कोरोना अघि पनि जारी थियो । बहुउद्देश्य सहकारीहरुले मात्र विविभन्न क्षेत्रमा रहेर विद्यालय, वृद्धाश्रम, हस्पिटल लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छन् । यो कार्य अहिले पनि जारी छ ।’

अध्यक्ष भण्डारीले भने, ‘कोरोनापछि त झन् हाम्रो सामाजिक उत्तरदायित्वको दायरा अझ फराकिलो भएको छ । हामीले विपदमा परेका समुदाय, वर्ग तथा क्षेत्रलाई आर्थिक, सामाजिक सबै खाले सहयोग गरेका छौँ । स्थानीय सरकारसँग मिलेर अझ यी कार्य विस्तार गर्दै छौँ’ अध्यक्ष भण्डारीले भने ।

राहत मात्र होइन, हामी मुलुकको कृषि सुधारमा प्रयत्नशील छौंं : खेम पाठक

कृषि सहकारी केन्द्रीय सङ्घले विपदको बेला सहकारीहरुको सामाजिक उत्तरदायित्व बहनको भूमिका सराहनीय रहेको बताउँदै अब कृषि सहकारी मुलुकको समग्र कृषि क्षेत्रको सुधारमा लागेको बताएको छ । कृषि केन्द्रीय सङ्घका अध्यक्ष खेम पाठकले विपदका बेला अझ बढी कृषि क्षेत्रको सुधारको आवश्यकता महसुस भएको बताउँदै सङ्घ सोही बमोजिम सरकारसँगको सहकार्यमा कृषि क्षेत्रको सुधारमा लागेको बताए ।

‘कोरोनाको विषम परिस्थितिले सबै खाले रोजगारी र आयआर्जनको स्रोत बन्द भएका छन् । उत्पादनहरु घटेका छन् । जसले भोलिका दिनमा खाद्यान्न सङ्कट निम्तिन सक्ने खतरा बढाएको छ । एकातिर रोजगारीको अभाव छ भने अर्कोतिर खाद्यान्न परिपूर्तिका लागि उत्पादनमा जानुपर्ने छ । यस्तो अवस्थामा मुलुकको कृषि क्षेत्रको सुधार अपरिहार्य छ ।’ अध्यक्ष पाठकले भने, ‘त्यसैले हामी सरकारसँगको साझेदारीमा कृषि क्षेत्रको उत्थानमा लागेका छौँ ।’

त्यसो त सरकारले पनि सहकारीलाई नै साथमा लिएर मुलुकको कृषि क्षेत्रको सुधार गर्ने नीति बनाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को झण्डै पौने १५ खर्ब बराबरको बजेट ल्याएको सरकारले कृषिलाई नै प्राथमिकतामा राख्दै ४१ ऋर्ब रुपैयाँ बजेट कृषि क्षेत्रमा छुट्याएको छ ।

यता स्वदेशी उत्पादनले बजार नपाएको तर बाहिरको फलफूल तथा तरकारीलाई प्रश्रय दिइरहेको भन्दै सरकारको चर्को विरोध भइरहेकोमा सरकारले आगामी आर्थिक वर्षदेखि स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिने गरी कार्यक्रम अघि सारेको छ । यसका लागि कृषकको उत्पादनदेखि बजारसम्म आपूर्तिका लागि सहकारीसँग सहकार्य गर्ने सरकारले बताइसकेको छ ।

यता विपदका बेला सहकारीको सामाजिक उत्तरदायित्वमा भने कृषि सहकारीले उत्साहपूर्ण ढङ्गले काम गरेको बताउँदै अध्यक्ष पाठकले कृषि सहकारीको क्षेत्रबाट मात्र करिब तीन कोरोड सरकारलाई आर्थिक सहयोग भएको बताए । यीबाहेक स्थानीय तहहरुसँगको सहकार्यमा सर्वसाधारणलाई खाद्यान्न, नुन, तेल, तरकारीदेखि कृषिउपज बीउबिजनदेखि मलको समेत सहायता गरेको पाठकले जानकारी दिए ।

विपद्मा सामाजिक कामका लागि सरकारसँग हातेमालो गर्न तयार छौँ : सहकारी महासङ्घ

राष्ट्रिय सहकारी महासङ्घले विपद्को बेला समाजिक कार्यमा सरकारसँग हातेमालो गर्न सहकारी तयार भएको बताएको छ । सहकारी राज्यकै परिपूरक क्षेत्र भएकाले विपदसँग लड्न सरकारलाई साथ दिन आफूहरु तयार भएको राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेलले बताए ।

‘हामी सहकारी राज्यकै परिपूरक हौँ नकि प्रतिस्पर्धी । राज्यले जोड दिएको आर्थिक, सामाजिक, सांस्कृति र पर्यावरणीय यी चारै पक्षलाई हामी सहकारीहरुले पनि उत्तिकै जोड दिएका छौँ । यी पक्षको सुधारमा हामी पनि लागेका छौँ । त्यसैले सरकारसँग हाम्रो कुनै बैमनस्यता छैन । बरु हामी सरकारसँग यी चारै पक्षको विकासमा हातेमालो गर्न तयार छौँ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले कोभिड–१९ को महामारीमा सरकारलाई सहयोग गरेर रचनात्मक भूमिका खेलेका छौँ । विपदका बेला सहकारीहरुले उत्साहपूर्ण ढङ्गले सामाजिक काम गरेका छन् । सुरुवाती चरणमा केही समस्या देखिए पनि क्रमिक रूपमा सहकारीहरुले सामाजिक काममा तदारुकता देखाएका छन् । बचत तथा ऋण सहकारीहरुले वित्तीय परिचालन, आर्थिक सहायताका कार्यक्रम अघि बढाएका छन्, कृषि सहकारीहरुले बीउ, बिजन मलखाद्यको वितरणका साथै स्थानीय कृषि उपजको सङ्कलन, भण्डारण र बजारीकरण गरिरहेका छन् । त्यस्तै दुग्ध सहकारीहरुले कृषकको दूध सङ्कलन गरी प्रशोधन गर्दै बजारसम्म पु¥याइरहेका छन् भने उपभोक्ता सहकारीहरुले सुलभ पसलहरु सञ्चालन गरेर बजार व्यवस्थापन गरिरहेका छन् । त्यस्तै सञ्चार सहकारीहरुले सही सूचना आदान प्रदान गरेर योगदान पु¥याइरहेका छन् ।’

अध्यक्ष कँडेलले भने, ‘विपदमा हामीले टुलुटुलु हेरेर बसेका छैनौँ । बरु स्थानीय, प्रादेशिक र सङ्घीय तीनै तहका सरकारहरुसँग सहकार्य गरेर राहत वितरण र उत्थानका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । अझ परिआएको खण्डमा जस्तोसुकै समस्यामा पनि सरकारसँग हातेमालो गर्न तयार छौँ ।’

अध्यक्ष कँडेलका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सिङ्गो सहकारी क्षेत्रबाट सरकारलाई करिब १० करोड बराबरको आर्थिक सहयोग भएको छ । महासङ्घले मात्र सरकारलाई २७ लाख रुपैयाँ सहयोग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप