शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाको बैठक स्थगित

बुधबार, १० असार २०७७, २२ : २१
बुधबार, १० असार २०७७

सुर्खेत । कर्णाली प्रदेशसभाका छैटौं अधिवेशनको २१औँ बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक स्थगन भएको हो । सभामुख राजबहादुर शाहीले २१औँ बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकमाथिको छलफल प्रारम्भ गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ढ्याप्ढ्यापे सङ्केत दिए ।
    
तत्श्चात् सभामुख शाहीले के हो ? भनेर प्रश्न गरे । जवाफमा नेता शाहीले आव ०७७/७८ को वार्षिक विकास कार्यक्रमको किताब आर्थिक मामिला तथा योजना मन्त्रालयले नभई कर्णाली प्रदेश योजना आयोगले प्रकाशन गर्नुपर्ने बताए । विनियोजन विधेयकको मर्म र भावनाविपरीत त्रुटि भएको र अपूर्ण वार्षिक विकास कार्यक्रमको किताब ल्याइएको उनले बताए । 
    
‘आव ०७७/७८ को वार्षिक विकास कार्यक्रममा प्रदेश सरकारको ‘दीर्घकालीन सोच’ को लक्ष्य, उद्देश्य र रणनीति आर्थिक वृद्धिदरको लक्ष्य उल्लेख गरिएको छैन’ नेता शाहीले भने– ‘वार्षिक विकास कार्यक्रम भनेर किताब ल्याइँदा पुँजीगत र साधारण खर्च हुनुपर्नेमा त्यो पनि आएको छैन ।’
    
यस्तो अवस्थामा बैठक अगाडि बढ्न नदिने भन्दै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरेपछि सभामुख शाहीले असार ११ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप