बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धरहराको दशौं तलासम्म ढलानको काम सकियो

बिहीबार, २५ असार २०७७, १७ : १४
बिहीबार, २५ असार २०७७

काठमाडौं । भूकम्पले क्षतिग्रस्त धरहराको दशौं तलासम्मको ढलानको काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । लकडाउनका कारण केही समय प्रभावित भएपनि धरहराको काम ४० प्रतिशत सम्पन्न भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी अधिकृत शुशील ज्ञवालीले तीन तल्ले पार्किङ तर्फको काम जारी रहेको बताए ।

निर्मालस्थलभित्र रहेका गोश्वरा हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा र कर्मचारी सञ्चयकोष स्थानान्तरण गरी सञ्चयकोष भवनको केही भाग भत्काउने काम जारी रहेको उनले बताए । हप्तादिनपछि धरहरा टावर निर्माणको काम सुरु हुने उनले बताए ।

संसदको विकास तथा प्रविधिसमिति भएको छलफलमा ज्ञवालीले सिंहदरबार पुनर्निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको बताए । मुख्य प्रशासनिक भवनको पूर्व–दक्षिण–उत्तरी भागको प्रवलिकरणको काम सम्पन्न भएको उनले बताए । पश्चिम भागको प्रवलीकरणको काम २५ प्रतिशत सम्पन्न भएको उनको भनाई छ । ढिलोमा तिहारसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय प्रशासनिक भवनमा सार्ने योजनाका साथ काम भइरहेको उनले बताए ।

भूकम्पले क्षति पु¥याएको रानीपोखरीको मन्दिर र सौन्दर्यीकरण बाहेकका पुनर्निर्माणको काम सम्पन्न भएको भएको छ । बालगोपालेश्वर मन्दिरको ५० प्रतिशत काम सम्पन्न भएको छ । भूकम्पबाट क्षति अहिलेसम्म ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको र २ लाख २ हजार ६ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको उनले बताए । घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार १ सय ४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा छन् ।

भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएका छन् । नुवाकोट जिल्लामा ६४ हजार १ सय २४ र २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् ।

समितिले गुम्बा र अन्य सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामलाई महत्वका साथ अगाडी बढाउन निर्देशन दिएको छ । समिति सभापति कल्याणीकुमारी खड्काले पुनर्निर्माणको क्रममा रहेका गुम्बा र अन्य साँस्कृतिक महत्वका संरचनाहरु व्यवस्थापन गरी द्रुत गतिमा निर्माण कार्य अगाडी बढाउन प्राधिकरणलाई निर्देशन दिइएको बताए ।

४ सय २ वटा गुम्बाको मर्मत सम्भारको काम भएको र पुनर्निर्माण गर्नुपर्ने १ सय १७ वटा गुम्बा पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको जनाएको छ । प्राधिकरणको म्याद आगामी पुसमा सकिं‌दैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्न सक्ने प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप