आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्ने प्रस्ताव

मङ्गलबार, १३ साउन २०७७, १७ : २९
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर गुरुयोजनमा जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको जानकारी दिएका छन् ।  

ज्ञवालीले त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेजका प्रमुख, प्राध्यापकहरु, विद्यार्थी संघसंगठनका पदाधिकारीहरुसँग विभिन्न चरणको छलफल र परामर्शपछि गुरुयोजनाको कार्यान्वयनका लागि जमलमा रहेको जग्गामा कलेजको भवन बनाउन प्रस्ताव गरिएको बताएका हुन् । प्राधिकरणले रानीपोखरीदेखि दशरथ रंगशालासम्मलाई समावेश गरेर निर्माण गरेको गुरुयोजना अन्तर्गत पहिलो चरणमा त्रिचन्द्र कलेजको भवन निर्माण गर्न प्रस्ताव गरिएको ज्ञवालीले बताए ।

प्राधिकरणले काठमाडौंको मौलिकता झल्काउने र खुल्ला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्यसहित रानीपोखरीदेखि दशरथ रंगशालासम्मलाई समावेश गरेर गुरुयोजनाको प्रस्ताव तयार पारेको छ । जसमा सुरुवाती चरणमा घण्टाघरतर्फ रहेको त्रिचन्द्र कलेजको भवनलाई प्रबलीकरण गरी जस्ताको जस्तै बनाउने, त्यसपछि घण्टाघर पछाडि रहेको खाली जग्गा र जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घण्टाघरतर्फ रहेको भवनको प्रबलीकरणका लागि गत वर्ष विस्तृत परियोजना प्रस्ताव र इन्जिनियरिङ् डिजाइन सम्पन्न भएको र चालू आर्थिक वर्षमा नेपाल सरकारको स्रोतबाट १० करोड रुपैयाँ बजेटको व्यवस्थापन गरी बोलपत्र निकालेर अघि बढ्ने तयारी भइरहेको जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण योजना महाशाखाका उपसचिव भगवान अर्यालकाअनुसार घण्टाघर पछाडिको जग्गा र जमलस्थित जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका भारतीय एक्जिम बैंकको सहयोग अन्तर्गत २ अर्ब रुपैयाँको प्रस्ताव पठाइएको छ ।
२०७६ साल भदौ ५ गते प्राधिकरणका प्रमुख कार्यकारी अघिकृत ज्ञवाली, सचिव शिवहरि शर्मा, त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. तिर्थराज खनियाँ, शिक्षाध्यक्ष, रजिष्ट्रार त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख लगायतबीच छलफल भएको थियो । जसमा जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजको भवन बनाउन प्रस्ताव गरिएको थियो भने कलेजको भवनको रेट्रोफिटिङ र नयाँ भवन बनाउनेबारे छलफल भएको थियो ।

२०७६ साल माघ १५ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष, रजिष्ट्रार, त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखसहितको बैठकमा घण्टाघरतर्फको भवन प्रबलीकरण गर्ने र प्रबलीकरणको अवस्थामा पठनपाठन निरन्तरताका लागि ३० वटा कोठाको प्रिफ्याव भवन बनाउने कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत अघि बढाउने र घण्टाघर पछाडिको जग्गामा भवनको डिजाइन कार्य अगाडि बढाउनेबारे छलफल भएको थियो ।

उक्त बैठकमा जमलस्थित पहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजको भवन निर्माण गर्न त्रिभुवन विश्वविद्यालय एवं त्रिचन्द्र कलेजद्वारा प्राधिकरणसमक्ष राखेको प्रस्तावमा छलफल हुँदा त्रिभुवन विश्वविद्यालय एवं त्रिचन्द्र कलेजले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल गर्ने र प्राधिकरणले बजेट व्यवस्था मिलाउने कुरा भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले राष्ट्रिय पुस्तकालयको महत्वलाई ध्यानमा राखी पहिले नै राष्ट्रिय पुस्तकालय रहेको पुल्चोकस्थित हरिहर भवनमा राष्ट्रिय पुस्तकालय एवं राष्ट्रिय मानवअधिकार आयोग लगायतका निकायहरु रहने गरी बोलपत्र आह्वान भएको र निर्माण व्यवसायी छनौटको चरणमा रहेको जानकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले हरिहर भवन पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा ६५ करोड रुपैयाँको व्यवस्था भइसकेको छ ।

सुरुमा राष्ट्रिय पुस्तकालय रहेको हरिहर भवनमा नै राष्ट्रिय पुस्तकालय बनाउने बारेमा राष्ट्रिय पुस्तकालयसँग परामर्श गरी तीन वर्षअघि नै गुरुयोजना तयार पारिएको थियो । तर, भारतीय एक्जिम बैंकको सहयोगमा पुनर्निर्माण गर्ने कार्यमा ढिलाइ हुँदा मन्त्रिपरिषद्ले जमलमा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय गरेको थियो ।

‘हरिहर भवनमा राष्ट्रिय पुस्तकालय बनाउने प्रकृया अघि बढिसकेको र वृहत्तर रानीपोखरीको गुरु योजनाको प्रस्ताव तयार भएको अवस्थामा जमलस्थित जग्गामा त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्नु सान्दर्भिक देखिन्छ । यस्तो गर्दा राष्ट्रिय पुस्तकालयका लागि हरिहर भवनमा पर्याप्त ठाउँ सहितको पूर्वधार तयार हुने र त्रिचन्द्र कलेजका लागि समेत थप भवन प्राप्त हुनेछ’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘त्यहाँ व्यापारिक प्रयोजनका लागि भवन बनाउने कुरा सोच्न पनि सकिदैन ।’

नेपालकै सबैभन्दा जेठो कलेजका रुपमा रहेको त्रिचन्द्र कलेजका अधिकांश भवनहरु जिर्ण भएका छन् । कलेजमा करिव १० हजार विद्यार्थी अध्ययनरत छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरोकारवाला सबै पक्षसँग छलफल गरी वृहत्तर रानीपोखरीको गुरुयोजनाको प्रस्ताव तयार पारेको हो । अब बस्ने निर्देशक समितिको बैठकमा पेश गर्ने प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप