बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चार्टर फ्लाइटभन्दा पनि नियमित उडानको भाडादर महँगो भएपछि....

शनिबार, १३ भदौ २०७७, १९ : २२
शनिबार, १३ भदौ २०७७

युएई । सरकारले ६ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक  गर्‍यो । कोरोनाका कारण सरकारले अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरेको हो। जसमध्ये युएईबाट पनि नियमित उडान हुनेछन्।

पछिल्लो समय कोरोना महामारी कारण युएई रोजगारी गुमाएर बसेका हजारौँ नेपाली कामदा नियमित उडानको पर्खाइमा थिए । नेपाल सरकारले आगामी भदौ १६ देखि लागू हुने गरि नियमति अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णयको सबैले प्रशंसा गरे।

पीडितहरुले नियमित उडान खोलेसँगै सहजै स्वदेश फर्कन पाउने आसामा सरकारको मुक्तकण्ठले प्रशंसा गरेका थिए। तर पीडितहरुले सोचेजस्तो हुन सकेन। सरकारको निर्णयले उनीहरुलाई झनै पिडा थप्यो। चार्टरभन्दा नियमित उडान भाडादर महँगो भयो। 

लामो समयदेखि अलपत्र परेका नेपाली कामदारहरुले नियमित उडानको महँगो भाडादर हुन्छ भन्ने कल्पना समेत गरेका थिएनन्। उनीहरु नियमित उडान खुलेपछि सहजै स्वदेश फर्कन पाउने आशा गरेर बसेका थिए।

नेपाल सरकारले चार्टर उडान मार्फत नेपाल एयरलाइन्सको १ हजार ३ सय २० दिर्हाम, अर्थात करिब (४३ हजार रुपियाँ),हिमालयन एअरलाइन्सको १ हजार ४ सय २० दिर्हाम अर्थात करिब (४६ हजार रुपियाँ) र युएईबाट संचालित् अन्य एअरलाइन्सहरुको भाडादर ५ सय अमेरिकी डलर अर्थात १ हजार ८ सय ३५ दिर्हाम तोकेको थियो । 

तर नियमित उडान तालिका सार्वजनिक भएसँगै भाडादर चार्टरको भन्दा झण्डै डबल पुगेको छ। चार्टर उडानमा नेपाली एअरलाइन्सले नेपाली ४३ हजार रुपैयामा बेचिरहेका टिकट नियमति उडान भएपछि अनलाइनमा ७३ हजार रुपैंया पुर्‍याइयो ।विदेशी एअरलाइन्सको त १ लाख रुपैयाँ क्रस  पुगेको छ । 

नियमित उडान तालिका सार्वजनिक भएको सुन्ने बित्तिकै सिन्धुपाल्चोककी जमुना तामाङ हतार हतारमा हवाई टिकट बिक्री केन्द्र (ट्राभल्स) पुगिन् । तर ट्राभल्सको कर्मचारीले नियमित उडान तालिका सार्वजनिक भएपनि एयर अरेविया बाहेक अन्य एयरलाइन्सहरुको भाडादर के कति हो भन्ने सिस्टममा आइनसकेको बताए। 

उनले नेपाल उडानको लागि एयर अरेवियाको उडान मार्फत ३ हजार २ सय दिर्हाम अर्थात् (१ लाख ३ हजार रुपैयाँ) लाग्ने बताए। नियमित उडान भाडादर सुन्नासाथ जमुनाको होस उड्यो। नियमित उडान पछि सस्तो टिकटमा नेपाल जान पाउने उनको आशा टुट्यो । 

सरकारले नियमित उडानको नाममा स्वदेशी दुई वायुसेवा कम्पनीलाई कुल २९ वटा उडानको अनुमति दिएको छ । त्यसमध्ये नेपाल एयरलाइन्सको १७ र हिमालय एयरलाइन्सको १२ उडान हुनेछन्।

विदेशी वायुसेवा कम्पनीले भने ३१ वटा उडानको अनुमति पाएका छन् । जम्मा ६० उडान मध्य युएईबाट सेक्टेम्बर महिनाभित्र १८ वटा उडान हुने भएका हुन्। एक महिनामा ३ सय ५० भन्दा बढी उडान हुने मुलुकबाट नियमित उडानको नाममा जम्मा १८ वटा उडान हुँदा युएईमा रहेका नेपाली कामदारहरुलाई सहज रुपमा स्वदेश फर्कन सक्दैनन्। अहिलेको उड़ान संख्याबाट युएईबाट बढीमा ३ हजार जना मात्रै घर फर्कन सक्ने अनुमान छ।

युएईमा भिजिट भिसा अवधि सकिएका नागरिकहरुले पाएको थप एक महिने एम्नेस्टी पनि आगामी सेप्टेम्बर १० तारिक सकिँदै छ। भिसा अवधि सकिएसँगै दैनिक जरिबाना सुरु हुन्छ। 

जसका कारण नेपाल फर्कन झनै समस्या पर्न सक्ने छ । सरकारले उद्वारको नाममा विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गर्ने भन्दै चर्को भाडादर लिएपछि कतिपय हवाई टिकट लिन नसक्ने कामदारहरु विदेशमै अलपत्र परेका छन्। 

उनीहरु बस्ने र खाने ठेगान नहुँदा तनावमा छन् । कति जना बस्नेखाने व्यवस्था भए पनि घरबाट खर्च मगाएर बस्नुपर्दा तनावमा छन् । यस्तो तनाव बढ्दै जाँदा दीर्घकालीन मानसिक समस्यामा समेत कतिपय फसेका उदाहरण समेत पाइएका छन्।

अहिले नेपाल फर्कनेको संख्या अत्यधिक रहेको तर कोटा सीमित मात्रै हुँदा इन्टरनेशनल एयरलाइन्सहरुले अधिकतम मूल्यसम्ममा टिकट बिक्री गर्न थालेका छन् । 

युएईमा यसअघि १ हजार ३ सय २० देखि १ हजार ४ सय २० दिर्हाममा चार्टर फ्लाइट हुँदै आएको थियो । अहिले एयरलाइन्सहरुले २ हजार ३ सय देखि विदेशी एयरलाइन्सहरुले ३ हजार ३ सय दिर्हाम अर्थात(करिब १ लाख ६ हजार रुपैंया) लिन थालेका छन् ।

नियमित उडानको नाममा चार्टर्ड भन्दा पनि महँगो हवाई भाडादर बजारमा देखिए पछि मजदुर वर्ग हतास र निराश भएका छन् नेपाली दुतावास युएईको तथ्याङ्कमा युएईमा २ लाख ७५ हजार नेपाली कामदार रहेका छन् । पछिल्लो समय कोरोना भाइरसका कारण हजारौं नेपाली कामदारहरुको जागिर गुमेको छ । 

दूतावासको तथ्याङ्क हेर्दा कुल कामदार मध्ये १८ प्रतिशत नेपाली नेपाल फर्कन चाहन्छन् । हालसम्म दूतावासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ४६ हजारको हाराहारीमा छ । यो संख्या अझै बढ्ने देखिन्छ। 

अहिले पनि वैदेशिक रोजगारीको शिलशिलमा युएईमा रहेका तीसौँ हजारौं नेपाली स्वदेश फर्कने दिन कुरिरहेका छन्। भने १६ हजार भन्दा बढी नेपाली नेपाल फर्किसकेका छन्।

खाडी र मलेशियाको स्थिती 

युएईमा ४६ हजार कतारबाट २० हजार साउदी २० हजार कुबेतबाट १० हजार मलेशियाबाट २० हजार गरेर एक लाख २० हजार भन्दा बढी नेपालीहरु नेपाल फर्कने तयारी अवस्थामा छन् । 

ती मध्ये ४० हजार नेपालीहरु नेपाल फर्किए । खाडी र मलेशिया गरेर ८० हजार भन्दा बढी नेपाल फर्कन पाउने दिन कुरेर बसेका छन् ।सबै भन्दा बढी युएईमा मात्र ३० हजार बढी नेपालीहरु प्लेन नपाएर छटपटिएर बसेका छन् ।  

यी मुलुकहरुमा पछिल्लो अवस्थामा कोरोना संक्रमित नेपालीहरु न्युन मात्रामा भेटिन थालेका छन् । हाल सम्म खाडीमा मात्र कोरोनाको कारणले ७० जना भन्दा बढी नेपालीको मृत्‍यु भएको छ । झण्डै २० प्रतिशत नेपालीहरुले रोजगारी गुमएका छन् ।

मलेशिया लगायत खाडी मुलुक कतार र युएईका कयौं कम्पनीहरुले प्लेन चार्टर गरेर कामदार पठाउछौं भन्दा पनि सरकारले चार्टर अनुमति दिएन । नेपालीहरु टिकट किन्न दलालको भर पर्नु परेको अवस्था छ। विदेशी एयरलाइन्सहरुले सरकारले तोकेको भाडादरभन्दा महँगो शुल्क लिएर लुट गरिरहेका छन् ।

खाडीबाट सेप्टेम्बर महिना भरीमा चार्डर सहित ६६ वटा उडान हुनेछन् । युएईबाट १८,साउदी ९, क़तारबाट ८, कुवेत ६ र ओमान २ गरि ४३ वटा नियमित र अन्य चार्टर गरेर ६६ वटा उडान हुनेछन्।जसबाट बढीमा ११ देखि १२ हजार नेपाली स्वदेश फर्कन सक्ने अनुमान छ।

पहिले दैनिक २ हजार ५ सय नेपालीहरुको उद्दार गर्ने भनिएकोमा अहिले रेगुलर उडान भन्दै दैनिक ५ सय नेपालीलाई मात्र लगिने अब्यवहारिक काम भएको छ । यसरी स्वदेश फर्कन आशामा रहेका ८० हजार नेपालीहरुलाई नेपाल फर्कन ६ महिना लाग्ने स्थिति देखिन्छ । 

अलपत्र परेका आफ्ना नागरिकलाई सरकारी खर्चमा स्वदेश फर्काउनुको सट्टा मरेको लाश नेपाल फर्काउन सरकारले बढी रकम खर्च गर्न तयार भएको पाइन्छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप