मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

उपसभामुख तामाङ आमाछोरा नै कोरोना सङ्क्रमण  मुक्त

मङ्गलबार, १६ भदौ २०७७, ०८ : ३६
मङ्गलबार, १६ भदौ २०७७

कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । 

उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् । 

उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन् । 

“राजनीतिक र प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिएका छन् । मेरा लागि कोरोना आतङ्कबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको थियो । यहाँहरुको अथाह माया र सद्भावप्रति सधैं ऋणी रहने छु । थप सहजीकरण गर्नुहुने यस प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौँडास्थित स्वास्थ्य निकाय, संसद् सचिवालय र विशेषगरी आफैँलाई खतरामा राखेर दैनिक व्यवस्थापनमा सघाउने स्वकीय सचिवालय र परिवारका सदस्य सबैप्रति कृतज्ञ छु”, उपसभामुख तामाङले भनेकी छन् ।  

तामाङले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय रहेको बताउँदै सङ्क्रमण भइहालेमा आतङ्कित नभई स्वास्थ्यसम्बन्धी आवश्यक  विधिहरु अवलम्बन गरिनुपर्ने उल्लेख गरेकी छन् । 

“मुख्यगरी कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्ने हो, सामाजिक रूपमा दूरी बढाउने वा तिरस्कृत गर्नेभन्दा पनि सामाजिक सद्भाव बढाउन आवश्यक ठान्दछु”, उपसभामुख तामाङले भनेकी छन्। उपसभामुख तामाङ र उनको छोरालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरु विगत १४ दिनदेखि हेटौँडास्थित निवासमा आइसोलेसनमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप