बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेतृत्वको सम्झनामा बिपी कोइराला : सानो देशको ठूलो नेता

महाधिवेशनका सम्बन्धमा देउवा र पौडेलको दोहोरी
बुधबार, २४ भदौ २०७७, १७ : ५४
बुधबार, २४ भदौ २०७७

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालालाई सानो देशको ठूलो नेताका रुपमा सम्झेका छन् । १ सय ७ औं बीपी जयन्तीमा पार्टीको केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल विचार गोष्ठीमा सभापति देउवाले भने, 'बिपी कोइराला सानो देशको ठूलो नेता हुनुहुन्थ्यो । विभन्न देशको ठूला-ठूलानेतासँगको उहाँको संगत थियो ।' यस्तै बिपी कोइराला समावेशी राजनीतिको सुरुवात कर्ता भएको देउवाको भनाइ छ ।

उनले भने, 'बिपी कोइरालाले समावेशी पार्टी बनाउनुभएको थियो । दलितलाई महामन्त्री बनाउनु भयो । महिलालाई मन्त्री बनाउनुभयो । उहाँले संविधान र पार्टी विधान समावेशी नभएका बेला समावेशी राजनीतिको सुरुवात गर्नुहुने व्यक्ति हो । उहाँ डायनामिक व्यक्ति हो ।' 

बिपीले प्रजातन्त्र र राष्ट्रियतामा कसैसँग सम्झौता नरहेको भन्दै प्रजातन्त्रका लागि जेल नेल भोग्न तयार भएको देउवाले बताए । काँग्रेसले बिपी कोइरालाको बाटो  नबिराएको उनले दाबी गरे । 'बिपी कोइरालाको गाउँको विकास गर्नुपर्छ भन्ने मान्यता थियो । नेपाललाई एकसाथ अगाडि बढाउन खोजेको व्यक्ति हो उहाँ । काँग्रेसको सरकार बनेपछि गाउँमा खानेपानी, स्कुल, अस्पताल बनायौँ । हामी उहाँका अनुयायी हौँ । उहाँकै बाटोमा हिडिरहेका छौँ,' उनले भने ।


बिपी कोइराला नेपालको पहिलो राष्ट्रवादी र समाजवादी नेता भएको देउवाले बताए । उनले भने, 'उहाँ हिम्मतदारी मान्छे हो । नेपालमा फाँसी दिने कुरा थियो । तर उहाँ नेपाल आउनुभयो । उहाँ नेपालको पहिलो राष्ट्रवादी र समाजवादी नेता हो । उहाँका साहित्य कृति पनि संसारभर छन् ।'


यस्तै काँग्रेस  वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपी कोइरालालाई क्रान्तिकारी, विचारक र चिन्तकका रुपमा सम्झिए। उक्त जुम विचार गोष्ठीमा पौडेलले भने, 'उहाँको चिन्तन र कर्मको संयोजनामा आधुनिक राज्यको निर्माण भएको हो । उहाँले समानता र स्वतन्त्रालाई चरितार्थ गर्नु भएको छ । बिपी आमुल परिवर्तनकारी नेता हुनुहुन्थ्यो । हामीले यसरी नबुझे हात्तिलाई छोएँ भनेर अन्डा छुनुजस्तै हो ।'

नेता पौडेलले नेपालका कम्युनिस्टहरुले बिपीलाई गाली गर्ने खेती गरेको भन्दै  त्यो धेरै दिन नठिक्ने बताए । संविधान बनाउँदा कम्युनिस्टसँग एक एक शब्दमा लडाइ भएको उनको भनाइ छ । उनले भने, 'वर्तमान संविधान बिपी चिन्तनको हो । यसलाई हामीले अन्डरमाइन्ड गर्नुहुँदैन । संविधानमा हामी गर्व गर्नुपर्छ । काम गर्दा केही कमजोरी भयो होला तर हामीले बिपीको बाटो छोडेका छौँ ।' 

बिपी आफैले साहित्यमा अराजकतावादी र राजनीतिमा समाजवादीका रुपमा आफूलाई परिभाषित गरेको पौडेलको भनाइ थियो । बिपीको व्यक्तित्वलाई दबाउन खोज्दा मुलुकले ठूलो बाधा भोग्नु परेको उनको भनाइ थियो । 

उपसभापति विमलेन्द्र निधिले बिपी कोइरालालाई नेपालको आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माताका रुपमा सम्झिए । भर्चुअल विचार गोष्ठीमा उनले भने, ‘नेपालको निर्माता पृथ्वीनारायण शाह थिए भने नेपालको आधुनिक र लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माता बिपी कोइराला हुनुहुन्छ ।’

निधिका अनुसार बिपीको राष्ट्रिय मेलपमिलापको नीति राजनीतिक आन्दोलनको मोडल थियो ।  उनले भने, ‘उहाँ मेलमिलापको नीति लिएर आएपछि तरंग ल्याएको थियो । उनले पञ्चायत सकिए पनि राजा नसकिन सक्छ भन्नुभएको थियो । पछि बहुदलीय लोकतन्त्र पुनस्थापन गर्यौं ।’

नेपाली काँग्रेसको लोकतन्त्रप्रतिको निस्ठाले काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान बनेको उनले बताए । नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सकिएकोमा काँग्रेसले गर्व गर्नुपर्ने उनले बताए । अब संविधानको रक्षाका लागि काँग्रेस लाग्नुपर्नेमा उनले जोड दिए । 

यस्तै काँग्रेस महामन्त्री शशांक कोइरालाले काँग्रेस पार्टी  बिपीको पदचिन्हभन्दा पृथक हिँड्न थालेको बताए । बिपी पुत्र शशांकले भने, ‘हामी बीपीको पदचिन्हबाट पृथक हिँडन् थालेका छौं । बीपीको समाजवाद भन्छौं तर समाजवादी हुन सकेका छैनौं । हामी समाजवाद भन्छौं तर स्वास्थ्य र शिक्षा अहिले पनि निशुल्क छैन । समाजवाद उन्मुख संविधान भनेका छौं तर हामी त्यतातिर उन्मुख छैनौं ।’

बिपीले भनेको समाजवादमा अहिले केही परिवर्तन आए पनि बिपी विचार सान्दर्भिक रहेको उनको जिकिर छ । शशांकले बिपीको शब्दकोषमा समावेशी शब्द नभएपनि व्यवहारमा भएको बताए ।  ‘समावेशी शब्द उहाँको डिक्सनरीमा थिएन तर उहाँको मन्त्रिमण्डल समावेशी थियो । महिला र जातजातिलाई समावेश गर्नुभएको थियो । त्यतिबेला अहिलेको जस्तो बाध्यकारी अवस्था थिएन तर उहाँ त्यसमा सचेत हुनुहुन्थ्यो,’ उनले भने ।

महाधिवेशनमा देउवा र पौडेलको दोहोरी

कार्यक्रममा नेता पौडेलले महाधिवेशनका गतिविधि समयमा हुन नसिकेको भन्दै अन्तुष्टि व्यक्त गरेका थिए ।  उनले भने, 'काँग्रेसको सुनौलो भष्यिका लागि समयबद्ध काम गरौँ भन्दै आएको छु । अहिलेसम्म क्रियाशील टुंग्याएको छैन । सहज बेला असाधारण भनेर कार्यकाल लम्ब्यायौँ । तर अहिले असाधारण अवस्था आयो । समयमै काम गरेको भए कसरी महाधिवेशन गर्ने भन्ने रुवाबासी किन चल्थ्यो ?'

काँग्रेसले आगामी फागुन ७- १० गतेलाई महाधिवेशनको मिति तय गरेको छ । तर कोरोना महामारीका कारण महाधिवेशनका गतिविधिमा अवरोध सिजर्ना भएपछि निर्धारित समयमा महाधिवेशन नहुने करिब निश्चित हुँदा पौडेलेको यस्तो अभिव्यक्ति आएको हो ।


यस्तै नेपा पौडेलले भ्रातृ संस्थाको महाधिवेशन गर्न नसकेकाप्रति पनि असन्तुष्टि जनाए । उनले भने, 'नेविसंघ, तरुण दल, दलित संघ, जनसम्पर्क लगायतको हाल त्यस्तो किन छ ? लड्न सक्ने पार्टीका निकाय चुस्तदुरुस्त हुन सकेका छैनन् । यस्तो अवस्थामा बलियो कम्युनिस्ट पार्टीसँग कसरी लड्छौँ ?'

समयमा अधिवेशन हुन नसक्दा काँग्रेसका अधिकांश भ्रातृ संस्थाको म्याद गुज्रिएको छ । पटक-पटक म्याद थप्दा पनि महाधिवेशन हुन सकेको छैन । वरिष्ठ नेता पौडेलले महाधिवेशनमा केन्द्रित हुन पार्टी पंक्तिको ध्यानाकृष्ट गराए ।

 'हामी महाधिवेशनमा लागौँ । पार्टीलाई संवैधानिक संकटबाट जोगाउनु छ । यसमा हामी सबै गम्भीर हुन जरुरी छ', पौडेलले भने । पार्टी उपसभापति विमलेन्द्र निधिले पार्टी एकतामा आवश्यक रहेको भन्दै १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका थिए । यसबारे पौडेलले भने, 'पार्टीमा एकताको कुरा छ । न्याय निश्पक्षता, त्यागको भावनबाट पार्टीमा एकता हुन्छ । म सर्वसम्मत नेतृत्व चयनमा तयार छु । त्यसका आधार के-के छन् ? यथार्थ आधार चाहिन्छ । 

आजको वास्तविकता हेरेर पार्टीको समस्या हल गर्दै काँग्रेसलाई भरोसाको केन्द्र बनाउन सबै लाग्नसपर्नेमा पौडेलको जोड थियो । पार्टीमा पछिल्लो समय देखिएको विवादप्रति इंगित गर्दै सभापति देउवाले काँग्रेसमा सधै झगडा हुने गरेको बताए । 

उनले भने, 'हाम्रो पार्टीमा सधै झगडा छ । झगडाका कारण पहिले गणेशमान सिंह, कृष्णप्रसा भट्टराईले पार्टी छोड्नु भएको हो । म त्यस्तो अवस्था आउन दिँदैन । मै जहिले पनि सहमतिकै पक्षमा छु ।'

नेपाली काँग्रेसमा विभाग गठन, क्रियाशील सदस्यता वितरण, भ्रातृ संस्थाको म्याद थपका विषयमा पौडेल पक्षको असन्तुष्टि रहँदै आएको छ ।

 पौडेल पक्षले सभापति देउवा महाधिवेशन गर्ने मनसायमा नरहेको बताइरहँदा उनले आफू महाधिवेशन गर्न तयार रहेको बताए । उनले भने, 'सबै साथीको सहयोमा महाधिवेशन गर्ने हो । कोरोनाले गर्न सकिने भने कहिले गर्ने साथीहरुसँग छलफल गरेर जाऊ । म महाधिवेशन रोक्ने पक्षमा छैन ।' 

संविधानले दिएको ६ महिनापछि पनि महाधिवेशन भएन भने अप्ठ्यारो हुन्छ भन्ने विषयमा आफू जानकार रहेको देउवाको भनाइ थियो । पौडेललाई जवाफ दिँदै देउवाले भने, 'निष्पक्ष अधिवेशन र स्वच्छ प्रतिस्पर्धाका लागि म तयार छु ।' यस्तै सभापति देउवाले सरकारले कोरोनाको नामा पैसा उठान बाहेक केही काम गर्न नसकेको आरोप लगाए । 

जनताका अधिकार खास्न लागि रहेको कम्युनिस्ट सरकार सबै मोर्चामा असफल भएको उनको भनाइ थियो ।   उनले भने, 'राणा र राजासँग लडेको पार्टी अब एक पटक कम्युनिस्टसँग लड्नुपर्छ । अहिले आन्दोलन गर्ने पक्षमा थियौँ कोरोनाका कारण गर्न सकिएन ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप