मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

हिउँदसम्म बाढी पहिरोबाट प्रभावितहरुको व्यवस्थापन गरिन्छः गृहमन्त्री थापा

शुक्रबार, १६ असोज २०७७, १७ : ३४
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् । अस्थायी रुपमै भएपनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोट लगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने उनले बताए ।

सिन्धुपाल्चोकका प्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले हिउँद सुरु हुनु अगाडी नै पालमा बसेका नागरिकहरुको व्यवस्थापन गरिने बताए । उनले भने, ‘‘चिसो बढ्दै जाने समय छ । हिउँद सुरु हुन्छ । अहिले बाढी पहिरो प्रभावितहरु पालमा बसेका छन्, चिसोमा त्यसले धान्दैन । यसका लागि तत्काल चाल्नुपर्ने स्टेप (कदम) चाल्छौँ । सकेसमम न्यानो हुने अस्थायी किसिमको बसाइको व्यवस्था गर्छौँ । हिउँदमा चिसोले मानवीय क्षति नहोस् भनेर हामीले ध्यान दिएका छौँ ।’’

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न स्थानमा गरी अहिले ३ सय ५१ बस्ती जोखिममा रहेको बताए । यो वर्ष मानवीय र भौतिक क्षति भएका समेत गरी ३ सय ५१ बस्तीका ६ हजार ५ सय ७१ परिवार जोखिममा रहेको उनले बताए । जिल्लाका १८ वटा बस्तीहरु अति जोखिममा रहेकाले आगामी वर्षको बर्खा सुरु हुनुअघि नै सार्नुपर्ने अवस्था रहेको उनले बताए ।

यो वर्षको असार २४ गतेबाट भदौ २७ सम्म १ सय १३ जना गरी विगत पाँच वर्षमा सिन्धुपाल्चोकमा प्राकृतिक विपदबाट ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । १७ सय ७० जना घाइते भएका छन् । भने ५५ करोड ८२ लाख बढीको आर्थिक क्षति भएको छ । गतअसार २४ गते बाह्रबिसे नगरपालिका ५ जबमु र खागदमा गएको पहिरोमा परि २१ जना, साउन २० गते जुगल २ लिदीमा गएको पहिरोमा परि ३९ जना र बाह्रबिसे ७ को भिरखर्च र नागपुजेमा ३१ जनाको मृत्यु भएको थियो । यो वर्ष देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप