बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चर्को आवाजमा डिष्टर्व गर्ने २० वटा मोटरसाइकल परे कारबाहीमा

आइतबार, २५ असोज २०७७, २० : ०४
आइतबार, २५ असोज २०७७

काठमाडौँ  । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले आजमात्रै चर्को आवाजले डिष्टर्व गर्ने २० वटा मोटरसाइकलहरु कारवाही गरेको छ । 

महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएकोले कारवाही गरेको जनाएको छ । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्बसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको जानकारी दिए । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको एसएसपी ढकालले बताए । 

ठूलो आवाजका कारण ध्वनी प्रदुषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नुपरेकाले ती मोटरसाइकलहरुलाई कडाइ गर्नुपरेको ढकालको भनाइ छ।  ती बाइकहरु तिव्र गतिमा कुदाइने र त्यसमा ठुलो आवाज र ध्वनीका कारण कतिपय अपाङ्ग, असशक्त तथा बिरामीहरु, मुटुका बिरामी तथा कमजोर मुटु भएका मानिसहरु तर्सिने गरेका छन् । 

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवकाअनुसार यस आर्थिक वर्ष ०७७/७८ मात्रै ३४ वटा मोटरसाइकल कारबाही गरिसकेको छ । त्यसरी समातिएका मोटरसाइकलहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना स्वरुप १ हजार देखि १५ हजार रुपैयाँसम्म जरिवाना गराइएको यादवले बताए । 

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार ठूला आवाज निकाल्ने मोटरसाइकलहरुमा होण्डा डर्ट, हार्डफोर्ड भीआर, डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्सलगायतका बाइकहरु पर्दछन् । यस्ता गलत गरी चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ । 

यस्ता किसिमका मोटरसाइकलहरू कतै गुडिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराइदिनुहुन सम्पूर्ण नागरिकहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप