मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता

बिहीबार, २० कात्तिक २०७७, १२ : ५२
बिहीबार, २० कात्तिक २०७७

काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुकडीबाट प्रस्तुत सम्मान गारत  निरीक्षण गरेका छन् । 

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार यहाँ आइपुगेका हुन् । सेनाध्यक्ष नरवणेले आजै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोप्नु भयो । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरु भएको छ । 

यसअघि  स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले  सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुनेछ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप