राजावादी समूहमा विवाद चुलियो, आन्दोलन छिन्नभिन्न

समाचार सारांश
- राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले जेठ १५ गतेदेखि सुरु गरेको आन्दोलन एक हप्ता नपुग्दै विवादमा पर्यो।
- राप्रपाका नेताहरू र आन्दोलनका नेतृत्वबीचको मतभेदका कारण आन्दोलन कमजोर बनेको र आगामी रणनीतिमाथि छलफल भइरहेको छ।
- पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्वको कमजोरीका कारण राजावादी आन्दोलनमा विभाजन आएको छ, जसले गर्दा यसको भविष्य अनिश्चित बनेको छ।
काठमाडौँ । राजतन्त्र फर्काउने उद्घोषसहित जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिएको राजावादी समूहभित्रै विवाद चर्किएको छ । चैत १५ गते भएको तीनकुने हिंसात्मक घटनापछि रक्षात्मक बनेका राजावादीहरूले पुनः जुरमुराउँदै ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीको नेतृत्वमा जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन थालेका थिए ।
तर आन्दोलन एक हप्ता नपुग्दै राजावादी समूहमा विवाद उत्पन्न भएको हो । जेठ २१ गते सुकेधारास्थित एक पार्टी प्यालेसमा बसेको समीक्षात्मक बैठकमा सहभागीबिच नै माइक खोसाखोस भएको थियो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन त्यो कार्यक्रममा सहभागी भएका थिएनन् । तर उक्त समीक्षात्मक कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू अनुकूलका मिडिया लगेर परिस्थितिलाई भड्काउन खोजेको आन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले आरोप लगाए । सरकारले लगाएको निषेधाज्ञालाई अवज्ञा गरेर आन्दोलनलाई शक्तिशाली बनाउनुपर्ने युवाहरूको सुझावलाई थापाले अस्वीकार गरेको उनको निष्कर्ष छ ।
‘समीक्षात्मक बैठक मिडिया राखेर गर्दैनन् । तर सरकारले लगाएको निषेधाज्ञा तोडेर आन्दोलनलाई शक्तिशाली बनाउनुपर्ने युवाहरूले दिएको सुझाव कमल थापाले मान्नुभएन । अनुभवी र पाका व्यक्ति भएकाले नवराज सुवेदी नेतृत्वलाई हामीले स्विकारेका हौँ । तर अब उहाँबाट राजावादी आन्दोलन पार लाग्दैन । युवाहरूको नेतृत्वमा सशक्त आन्दोलन गर्नेगरी रणनीतिक छलफल भइरहेको छ । अबको आन्दोलन नयाँ शिराबाट अगाडि बढ्छ’, रातोपाटीसँग नेपालले भने ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि समेत आफूले नेतृत्व नपाएका कारण राजावादी आन्दोलन कमजोर बनाउन भूमिका खेलेको आरोप छ । जेठ २४ गते गृह जिल्ला झापामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने र उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका थिए ।
राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएको उनको भनाइ थियो । लिङ्देनको यो अभिव्यक्तिपछि उनले नै सुवेदीको नेतृत्वमा भएको आन्दोलनलाई सहयोग नगरेको आरोप पनि लागेको हो ।
तर स्वागत नेपालले आन्दोलन कमजोर पार्न लिङ्देनको भूमिका नभएको नभएको र समीक्षात्मक बैठकमा लिङ्देन सहभागी नभएको विषयमा पनि शंका गर्ने ठाउँ नभएको दाबी गरे ।
‘जेठ २१ गते लिङ्देन संसदको बैठकमा हुनुहुन्थ्यो । आन्दोलनलाई कमजोर बनाउन वा असहयोग गर्ने उद्देश्यले सहभागी नभएको जस्तो मलाई लाग्दैन’, उनले भने, ‘उहाँले व्यवस्थाविरुद्ध संसदबाट सशक्त प्रतिवाद गरिरहनुभएको छ । उहाँले संसदको मोर्चाको नेतृत्व गर्नुहुन्छ । युवाले सडकको मोर्चाको नेतृत्व गर्नुहुन्छ ।’
तर उनले व्यवस्थाविरुद्धको आन्दोलन सफल बनाउन बर्खायाम समेत उपयुक्त समय भएपनि आन्दोलनको कमान्डर सही नहुँदा उत्कर्षमा पुर्याउन नसकेको नेपालले आरोप लगाए ।
यता राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपालाई मिनिमाइज गर्न षड्यन्त्र भइरहेको जिकिर गरे । तर कसबाट कसरी षड्यन्त्र भयो भन्ने विषय खुलाउन चाहेनन् । यद्यपि चैत १५ र जेठ १५ को आन्दोलनको समीक्षा गर्दा पुरानै प्रवृत्तिबाट राजावादी आन्दोलन अगाडि नजाने देखिएको श्रेष्ठले सुनाए ।
‘राजतन्त्रको एजेन्डा बोक्ने सबैभन्दा ठुलो शक्ति राप्रपा हो । २०६२/६३ को कठिन दिनमा समेत हामीले यो एजेन्डा बोक्यौँ । त्यस उप्रान्त निरन्तर सदन र सडकमा आवाज उठायौँ । राप्रपाको निरन्तर प्रयासका कारण फागुन २५ गते राजा ज्ञानेन्द्र शाहको पक्षमा जनउभार आएको हो । त्यो त्यसै रातारात बनेको होइन । यो एजेन्डालाई वैधानिक रूपमा बोक्दै आएको राप्रपा र राप्रपाको नेतृत्वलाई मिनिमाइज गरेर आन्दोलन अगाडि बढाउने एउटा प्रयास भयो, जुन असफल भयो’, उनले भने ।
उनले चैत १५ र जेठ १५ को आन्दोलनमा राप्रपाले राजनीतिक नेतृत्व नगरेको हुँदा समस्या भएको निष्कर्षसहित अब पूर्ण तयारीका साथ पार्टीले आन्दोलनलाई अगाडि बढाउने तयारी गरिरहेको उनले दाबी गरे ।
‘चैत १५ गते राजनीतिक दल प्रत्यक्ष संलग्न नभएको आन्दोलन राज्य पक्षले तितरबितर बनाइदियो । राजावादी आन्दोलनलाई निस्तेज पार्नका लागि त्यो राज्यको सुनियोजित प्रयास थियो । त्यसले आन्दोलनलाई केही धक्का पुग्यो’, उनले भने, ‘फेरि सम्हालिएर जेठ १५ गते अर्को आन्दोलन घोषणा गर्यौँ । त्यो आन्दोलनमा पनि राप्रपा जनआन्दोलन समितिको ब्यानरमा साथ दिएको हो । तर पनि राप्रपाले राजनीतिक नेतृत्व राप्रपाले गरेको थिएन । यी दुई प्रयोग असफल भएपछि राजनीतिक रूपमा अब राप्रपाले नै नेतृत्व गरेर जानुपर्छ । सोही निष्कर्षका साथ पूर्ण तयारीमा लाग्छौँ ।’
अहिले बर्खाको समय भएको र किसानहरू खेतबारीमा व्यस्त हुने समय भएकाले दसैँ तिहारपछि रणनीतिक रूपमा राप्रपाले सशक्त बनाउने श्रेष्ठले दाबी गरे ।
श्रेष्ठले उही पात्र, कार्यशैली र प्रवृत्तिबाट आन्दोलन अगाडि बढाउनुभन्दा गम्भीर समीक्षा गरी आगामी दिनको रणनीति बनाउन जरुरी भएको स्पष्ट पारे ।
राप्रपा नेपालको नेता राजाराम बर्तौलाले आफूहरूको कारण आन्दोलन कमजोर भएको आरोपको खण्डन गरे । राजावादी आन्दोलनलाई निर्णायक बनाउन गम्भीर रूपमा पहल भइरहेको समेत उनको दाबी थियो ।
‘राप्रपा नेपालको कारण आन्दोलन कमजोर भयो भन्ने आरोपको कुनै सत्यता छैन । राजावादी आन्दोलन कमजोर भएको पनि छैन । रूपमा कमजोर देखिए पनि सारमा भएको छैन । फेरि संयुक्त जनआन्दोलन समितिकै नेतृत्वमा निर्णायक आन्दोलनको तयारी भइरहेको छ’, उनले भने ।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग को नजिक बन्ने भन्ने होडबाजी र राजनीतिक फाइदा लिने आ–आफ्ना स्वार्थका कारण व्यवस्थाविरुद्धको आन्दोलन कमजोर र छिन्नभिन्न भएको छ । यसैगरी तीनकुने हिंसात्मक घटनापछि राज्य विप्लवको आरोप खेपेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा धरौटीमा रिहा भएपनि गुमनाम छन् । यस्तै पछिल्लो समय लिङ्देनले नै राजावादी आन्दोलन वर्षा लागेकाले अहिले सम्भव नभएको बताएपछि आन्दोलनमा थप धक्का लागेको छ ।
जेठ २१ को विवादपछि सुवेदीले अब जिल्ला केन्द्रित आन्दोलन गर्ने निर्णयसहितको विज्ञप्ति सार्वजनिक गरेका थिए । तर, राजावादीको गतिविधि सक्रियतापूर्वक अघि बढ्न सकेको छैन ।
पूर्वराजा ज्ञानेन्द्रकै सक्रियतामा तितरबितर भएका राजावादीहरूलाई एक ठाउँमा ल्याइएको बताए पनि नेतृत्वबिचको टकराबका कारण फेरि आन्दोलन कमजोर बन्न पुगेको राजावादीहरू नै स्विकार्छन् । आन्दोलन छिन्नभिन्नको अवस्थामा पुगेपछि राजावादीहरूले सामाजिक सञ्जालमार्फत समेत एक अर्कालाई आरोप समेत लगाइरहेका छन् ।