अमेरिकाबाट डिपोर्ट भएका ३७ जना : एक जनाबाहेक अरुसँग पासपोर्ट भेटिएन
सारांश
- अमेरिकाबाट डिपोर्ट गरिएका ३२ पुरुष र ५ महिलालाई सोधपुछपछि घर पठाइयो। उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए।
- उनीहरू बङ्गलादेशको बाटो हुँदै आएका थिए र अधिकांशसँग नेपाली राहदानी थिएन। उनीहरूले शरणार्थीको मान्यता पाएनन्।
- फर्किएकाहरूले बिचौलियामार्फत अमेरिका जान ८० लाखसम्म खर्च गरेको बताए, तर गिरोहबारे जानकारी दिएनन्।
काठमाडौँ । अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर काठमाडौँ आइपुगेका ३२ जनालाई प्रहरीले सामान्य सोधपुछ पछि घर पठाएको छ । आइतबार राति ३२ जना पुरुष र ५ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । अमेरिकाले उनीहरूलाई ओम्नि एयर इन्टरनेशनलको विमान चार्टर गरेर नेपाल पठाएको थियो ।
उनीहरूमध्ये पाँच महिलासहित ३५ जना अवैध तरिकाले अमेरिका प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । दुई जनाचाहिँ वैधानिक बाटोबाट नै अमेरिका गएको भेटिएको मानव बेचबिखन ब्युरोका प्रवक्ता (एसपी) नरेन्द्र कुँवरले रातोपाटीलाई बताए । उनले भने– ‘एक जना डीभी परेर र अर्का एक जना अध्ययन गर्न अमेरिका पुगेर निष्कासनमा परेको देखिन्छ ।’
उनीहरू अमेरिकाको एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर नेपाल आइपुगेका हुन् । डिपोर्ट भएकामध्ये एक जनासँग मात्रै नेपाली राहदानी भेटिएको छ । अरु चाहिँ त्यहाँको अध्यागमनले जारी गरेको ‘ट्राभल डकुमेन्ट’ लिएर फर्केका हुन् ।
सन् २०२२ मा अमेरिका प्रवेश गर्नेहरू र २०२५ मार्चमा अमेरिका पुगेकाहरू पनि फर्केका छन् । आफ्ना सामान उनीहरूले बोरामा लिएर फर्केको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । एक जना अधिकृत भन्छन्, ‘फर्केकाहरू सबै सामान्य देखिन्छन् ।’
विभिन्न बाटो हुँदै पनामा जङ्गल छिचोलेर मेक्सिकोको बोर्डरबाट उनीहरू अमेरिका प्रवेश गरे । त्यहाँ प्रवेश गरेपछि धेरै जना ‘शरणार्थी’ को मान्यता पाउने सङ्घर्षमा लागे । तर, शरणार्थीको मान्यता नपाउँदै निष्कासनमा परे । उनीहरूलाई लामो समयदेखि अमेरिकाको इमिग्रेसन कस्टम इन्फोर्समेन्टले थुनामा राखेर निष्कासन गरेको भेटिएको छ ।
बिचौलियामार्फत अमेरिका गएकाहरूले ८० लाखसम्म खर्च भएको बताएका छन् । तर, अमेरिका पठाउने गिरोहबारे उनीहरूले प्रहरीलाई जानकारी दिएनन् । ब्युरोका एसपी नरेन्द्र कुँवर भन्छन्, ‘अमेरिका पठाउने गिरोहबारे उहाँहरूले हामीलाई कुनै पनि विवरण खुलाउनुभएन ।’
फर्किनेहरूका धेरै जना दाङ, पूर्वी रुकुम र पश्चिम रुकुमका छन् । सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ र म्याग्दीका पनि त्यहाँ पुगेर फर्केको भेटिएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि उनीहरूसहित १६३ जना डिपोर्ट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण