सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ताप्लेजुङ विमानस्थल स्तरोन्नति चैतसम्म हुने

शुक्रबार, २१ कात्तिक २०७७, १६ : २३
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको आज अवलोकन गरेका छन् । सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै पर्यटनमन्त्रीले स्तरोन्नतिको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे ।

प्रदेश नं १ को राजधानी विराटनगर विमानस्थललाई केन्द्र बनाएर प्रदेशका सबै जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक राजनकुमार पोखरेलले बताए । अहिले ५५ वटा पहाडी क्षेत्रमा विमानस्थल निर्माण भइरहेको र ३२  विमानस्थल कालोपत्रे भइसकेको  उनले  जानकारी दिए । 

ताप्लेजुङ सुकेटार विमानस्थलको सात सय मिटर क्षेत्रमा  स्तरोन्नति भइरहेको र थप १५०  मिटरमा धावनमार्गमा कालोपत्रे गर्न बाँकी रहेको जनाइएको छ ।   कालोपत्रे गर्ने कार्यमा तापक्रम मिलाउनुपर्ने भएकाले आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने कार्ययोजना तयार भएको जनाइएको छ ।

आर्थिक वर्ष २०७६ /७७ मा सुकेटार विमानस्थल स्तरवृद्धिका लागि रु १६ करोड  बजेट विनियोजन भएको थियो । फुङलिङ नगरपालिका वडा नं ६ मा पर्ने सो विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आह्वान गर्दा कृष्ण–बङ्गलामुखी जेभी कन्स्ट्रक्सनले रु आठ करोड ९९ लाख ५० हजार ३४९ मा ठेक्का पारेको थियो । आयोजनाका प्रमुख इञ्जिनीयर हरि अधिकारीका अनुसार अघिल्लो वर्षको असोजदेखि विमानस्थल स्तरवृद्धिको कार्य शुरु भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप