ओलीको सन्देश बोकेर महासचिव पौडेल खुमलटारमा
काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पठाएका छन् । महासचिव पौडेल मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भोलि बुधबार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विवाद समाधानको प्रयास स्वरुप महासचिव पौडेललाई भेट्न मंगलबार खुमलटार पठाएपनि पौडेलले ठोस सन्देश के लगे भन्ने खुलिसकेको छैन । ‘महासचिव बिहान खुमलटार आउनुभएको हो । तर दुई जनाबीच के कुराकानी भयो भन्ने जानकारीमा छैन,’ खुमलटार स्रोतले रातोपाटीलाई भन्यो, ‘पार्टीमा देखिएको समस्याकै बारेमा कुराकानी भएको हुनसक्छ । तर के–के सन्देश ल्याउनुभयो भन्ने स्पष्ट भैसकेको छैन ।’
ओली बुधबार बस्ने भनिएको सचिवालय बैठकमा सहभागी नहुने पक्षमा छन् । त्यसका लागि उनले आफ्ना दूतहरुमार्फत प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न दवाव दिइरहेका छन् । सोही योजनाअनुसार ओलीले आइतबार र सोमबार विभिन्न पक्षका नेताहरुसँग भेटवार्तालाई तीव्रता दिएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई आइतबार र सोमबार साँझ नेताहरु देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीलाई बालुवाटार बोलाएर ओलीले भेटवार्ता गरेका थिए । ती भेटवार्तामा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिएमात्रै बैठक बस्नसक्ने बताउँदै आएका छन् ।
गत शुक्रबार झण्डै ४० दिनपछि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । जसमा अध्यक्ष ओली सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको भन्दै योगदान गर्न सुझाव दिइएको छ । तर ओलीले उक्त सुझावलाई आफुमाथिको प्रहार ठानेका छन् । सोही क्रममा नेता नेपाल र गौतमले समेत ओलीलाई आफ्नो कार्यशैली सच्याउन सुझाव दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण