प्रेस रिभ्यू : बहुमत–अल्पमतमा नेकपा विवाद, ओलीलाई एकपछि अर्को धक्का
आज मंसिर २१ गते आइतबार । देशका प्रमुख राष्ट्रिय दैनिकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवादले प्राथमिकता पाएको छ । सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘इच्छा’ विपरित स्थायी समिति बैठक बोलाएपछि विवादले नयाँ रुपमा लिएको आज प्रकाशित समाचारहरु उल्लेख गरिएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकीकरणको अघिल्लो दिन २०७५ जेठ २ गते भएको ‘एकता महाधिवेशनसम्म सहमति र समझदारीमा अघि बढ्ने’ समझदारी शनिबार विधिवत् रुपमा तोडिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ । बहुमत सदस्यहरुको पहलमा शनिबार बसेको सचिवालयन बैठक र त्यही बैठकका बहुमत सदस्यहरुबाट व्यक्त रायका आधारमा आइतबारका लागि स्थायी कमिटी बैठक तोकेर नेकपा बहुमत, अल्पमतको अंकगणितमा प्रवेश गरेको हो । योसँगै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली थप अप्ठ्यारोमा परेका छन् ।
सचिवालयमा जस्तै स्थायी कमिटीमा पनि ओली अल्पमतमा छन् । ४४ सदस्यीय स्थायी कमिटीमा ओली पक्षका नेताहरु १२ जना मात्रै छन् । आफ्नो स्पष्टै अल्पमत भएकाले पनि ओलीपक्षीय नेताहरुले पछिल्लो समय बहुमत, अल्पमतको राजनीतिमा लाग्न नहुने बताउँदै आएका थिए । तर, यसपालि पार्टी नेतृत्वमा देखिएको विवादले सैद्धान्तिक आकारसमेत दिइसकेकाले दुई अध्यक्षको तहमा सहमति गरेर कुरा मिल्न नसक्ने ठम्याइ दाहाल–नेपाल पक्षको छ । यसैकारण शनिबार ओली र दाहालका दुवै दस्ताबेजलाई अध्ययन गरेर साझा प्रस्ताव बनाउनुपर्ने सचिवलाय सदस्य रामबहादुर थापाको प्रस्ताव पनि अस्वीकृत भयो ।
यता नागरिक दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागेको समाचार प्रकाशित गरेको छ । भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा देखिएको समस्याले एकपछि अर्को धक्का लागेको हो । शनिबारको सचिवालय बैठकमा आफूले राखेको प्रस्ताव अस्वीकृत भएपछि ओली झन् समस्यामा परेका छन् । कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता गरेर साझा कार्यदलमार्फत राजनीतिक दस्तावेज तयार गरौँ भन्ने ओलीको प्रस्तावलाई सचिवालय सदस्यहरुले अस्वीकार गरेका हुन् ।

पार्टी अध्यक्षसमेत रहेका ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कार्यदलको संयोजक बनाउन खोजेका थिए । तर गौतमले आफू कार्यदलको संयोजक नबन्ने बरु ओली र दाहालका दुवै दस्तावेज स्थायी कमिटीको बैठकमा लगेर छलफल गरी त्यहीँबाट निष्कर्ष निकाल्नुपर्ने धारणा राखेका थिए । अघिल्लो पटक स्थायी कमिटी बैठकमा गौतमले ओलीलाई साथ दिएका थिए । अहिले गौतमको साथ ओलीले गुमाएको स्पष्ट देखिन्छ । यसअघि ओली पक्षमा देखिएका केही पूर्वमाओवादी नेतासमेत चिढिएका छन् । मध्यमार्गी धारबाट कुरा गरिरहेका हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापा लगायतका नेताले पनि यसपटकको स्थायी कमिटीको बैठकमा ओलीलाई साथ दिने अवस्था देखिँदैन ।
यता, नयाँ पत्रिका दैनिकमा प्रधानमन्त्री केपी ओलीले जबज छाडेको गम्भीर आरोप वामदेव गौतमले लगाएको समाचार छ । बैठकमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवाद परित्याग गरिसकेकाले आफूलाई त्यसको पक्षमा उभ्याउने नैतिक धरातल गुमाइसकेको टिप्पणी गरेका थिए । पार्टी एकताकै वेला ओलीले सहमति जनाएकै कारण जबज ब्युँतिने अवस्थामा समेत नरहेको उनको टिप्पणी थियो । ‘पार्टी एकीकरण कमिटीको बैठकका वेला त्यतिवेलै तपाईंले जबज छाड्ने भनेको होइन रु एकता महाधिवेशनसमेत चुनावबाट होइन, सहमतिमा गर्ने भनेर हस्ताक्षर गरेपछि उतिवेलै तपाईंले जबज छाडिसकेको हो, अरू (माधव नेपाल)ले जबजमा अन्तिमसम्म अडान राख्दा तपाईं किन अडिनुभएन रु’ गौतमको प्रश्न थियो, ‘पार्टी फुटे पनि फुटोस् भन्नुहुन्छ भने बेग्लै कुरा हो ।’

दुवै पदबाट राजीनामा नदिने ओलीको भनाइको गौतमले प्रतिवाद मात्रै गरेनन्, दुवै पदमा ओली असफल भएको दृष्टान्तसमेत बैठकमा प्रस्तुत गरेका थिए । ‘प्रचण्डको प्रस्तावलाई आरोपपत्र भन्नुहुन्छ भने त त्यो आरोप लगाउने कामको सुरुवात त पार्टी एकताको सात महिनामै मैले सुरु गरेको हुँ, दुवै पदका निम्ति तपाईं योग्य होइन भन्ने आरोप मैले लगाएको हुँ, त्यसैले पहिलोपटक ममाथि यस्तो आरोप लाग्दै छ भन्ने अभिव्यक्ति फेर्नुस् । हामी पाँचैजनाको समर्थनमा प्रस्ताव आएको हो । यो प्रचण्डको मात्र प्रश्न होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
-
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
-
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
-
ब्रिटिस स्टिल राष्ट्रियकरण गर्ने बेलायतको निर्णय, चीनले गर्यो विरोध
-
२९ देशले गरे चीनले अघि सारेको विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर
-
पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्यो छानबिन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण