शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

२९ देशले गरे चीनले अघि सारेको विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर

शुक्रबार, ०१ साउन २०८३, १२ : ०७
शुक्रबार, ०१ साउन २०८३

काठमाडौँ । चीनको सांघाईमा बिहीबार विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन (वर्ल्ड आर्टिफिसियल इन्टलिजेन्स कोपरेसन अर्गनाइजेसन– डब्लुएआईसिओ) स्थापना गर्ने सम्बन्धी सम्झौतामा २९ देशले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ब्लुएआईसिओ एक स्वतन्त्र अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हुनेछ, जसको मुख्यालय चीनको सांघाईमा रहनेछ । चिनियाँ सरकारका तर्फबाट चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पोलिटब्युरो सदस्य वाङ यीले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

काजाखस्तान, लाओस, पाकिस्तान, रूस र इन्डोनेसियालगायत २९ देशका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्दै आफ्ना देशलाई डब्लुएआईसिओ का संस्थापक सदस्य बनाएका छन् । हस्ताक्षर समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार यस संगठनले संयुक्त राष्ट्रसंघको बडापत्र (युएन च्याप्टर) का उद्देश्य र सिद्धान्तलाई आत्मसात् गर्नेछ । साथै, व्यापक परामर्श, साझा योगदान र साझा लाभको अवधारणालाई प्रवर्द्धन गर्दै मानव–केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिनेछ ।

यस संगठनको मुख्य उद्देश्य कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग र विश्वव्यापी सुशासनलाई प्रवर्द्धन गर्नु हो। साथै, एआईको विकास सुरक्षित, निष्पक्ष र मानवहितमै उपयोगी हुने सुनिश्चित गर्दै यसको स्वस्थ, व्यवस्थित र जिम्मेवार विकासमार्फत सम्पूर्ण मानव समुदायलाई लाभ पुग्ने वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप