शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा कमजोर देखिएसँगै ओलीको यस्तो रणनीति

जिल्लागत रुपमा कसको अवस्था कस्तो छ ?
सोमबार, १९ माघ २०७७, ०८ : १२
सोमबार, १९ माघ २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा जनमत बटुल्न अनेक उपाय अपनाउन थालेका छन् ।

लामो समय बालुवाटारको चौघेराबाटै कार्यकारी भूमिका निर्वाह गरेका उनी पछिल्लो समय देश दौडाहामा निस्कने गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकै अध्यक्षसमेत रहेका उनी आफ्नो पक्षमा माहोल बनाउन विभिन्न कदम चालिरहेका छन् ।

प्रधानमन्त्री ओलीले सबैभन्दा धेरै मतदाता रहेको प्रदेश २ मा पनि आफ्नो प्रभाव बढाउन पहल गरेका छन् । मधेसमा आफ्नो प्रभाव बढाउनका लागि काँग्रेस, जसपा तथा नेकपाकै प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ता तान्न उनले अनेक ‘अफर’ दिएपनि खासै सफल हुन सकेका छैनन् ।

प्रदेश २ मा राजनीतिक प्रभाव बढाउने उद्देश्यले प्रधानमन्त्री ओलीले आफ्ना निकै विश्वासपात्र मानिएका उपप्रधानमन्त्री एवं पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेललाई परिचालन गरे । उपप्रधानमन्त्री पोखरेलसहित मन्त्री प्रभु साह, केन्द्रीय सदस्य महेश बस्नेतलगायतलाई उनले पटक पटक प्रदेश २ मा पठाएका छन् । यद्यपि खासै सकारात्मक माहोल नबनेपछि उनी आफै प्रदेश २ मा जाने तयारी थालेका छन् ।

स्रोतका अनुसार हेमनारायण यादव स्मृतिसभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली सिरहा जान लागेका हुन् । प्रदेश २ मा आफ्नो प्रभाव कमजोर भएको आँकलन गरेर नै उनी आफै सो क्षेत्रमा जान लागेको जानकारहरुको भनाइ छ ।

यसअघि ओली संगठनात्मक रुपमा आफ्नो पार्टी निकै कमजोर रहेको सुदूरपश्चिम प्रदेशमा पुगेका थिए ।

प्रदेश २ तत्कालीन माओवादीको बलियो प्रभाव रहेको क्षेत्र हो । हाल नेकपाको प्रचण्ड–माधव पक्षका एक अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला पनि प्रदेश २ मै पर्दछ । त्यसैले पनि ओलीले प्रदेश २ मा विशेष महत्त्व र नयाँ रणनीतिका साथ अघि बढ्न खोजेको उनी निकट स्रोत बताउँछ ।

नेकपाको प्रचण्ड–माधव पक्षले प्रदेश २ मा नेकपाको राजनीतिक विभाजनको खासै ठुलो असर नदेखिएको बताउँदै सिङ्गो नेकपाको ठुलो हिस्सा आफ्नो पक्षमा रहेको दावी गरेको छ । नेकपा ओली समूहका नेता सुमन प्याकुरेलले प्रदेश २ मा नेकपाका दुईमध्ये कुन समूह बलियो छ भन्ने कुरा विस्तारै देखिने बताए ।

नेतृत्व तहका नेताहरु प्रचण्ड–माधव समूहमा केही बढी भए पनि तल्लो तहका कार्यकर्ताहरु आफूहरुको पक्षमा बढी रहेको प्याकुरेलको दावी छ ।

जिल्लागत रुपमा कसको अवस्था कस्तो छ ?

प्रदेश २ को आठवटा जिल्लामध्ये सप्तरीमा ओली समूह तुलनात्मक रुपमा बलियो देखिएको छ । ओली समूहका केन्द्रीय तहका नेता सुमन प्याकुरेल र सत्यनारायण मण्डल दुवैजना सप्तरीकै हुन् । तत्कालीन एमालेका यी दुवै नेताको प्रभावका कारण सप्तरीमा ओली पक्ष तुलनात्मक रुपमा प्रचण्ड–माधव पक्षभन्दा बलियो देखिएको छ ।

तर सप्तरीमा तत्कालीन माओवादी केन्द्रका ९९ प्रतिशत नेता–कार्यकर्ताहरु अहिले प्रचण्ड–माधव पक्षमै रहेको सो समूहका नेता उमेश यादवले दावी गरे । ‘सप्तरीबाट तत्कालीन माओवादीका एक÷दुई जनामात्र यताउति भएका छन्, अरु सबै प्रचण्ड–माधव पक्षमै छन्,’ उनले भने । सो जिल्लाबाट तत्कालीन एमालेका माधवकुमार पक्षका नेताहरु पनि हाल प्रचण्ड–माधव पक्षमै रहेको उनले बताए । ‘संगठनात्मक रुपमा हामीलाई असर परेको छैन,’ उनले भने, ‘हिजो हामीसँग भएका मानिस आज पनि हामीसँगै छन् ।’

सप्तरीमा प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत नेकपाको कसैले पनि चुनाव जितेका थिएनन् ।

प्रदेश २ को अर्को जिल्ला सिरहामा नेकपाका दुईजना सांसदमध्ये लिलानाथ श्रेष्ठ (पूर्वएमाले) अहिले ओली समूहमा छन् भने सुरेशचन्द्र दास यादव (पूर्वमाओवादी) प्रचण्ड–माधव समूहमा छन् । सो जिल्लाबाट प्रतिनिधित्व गर्ने १० जना केन्द्रीय सदस्यमध्ये ओलीपक्षमा ३ जनामात्र छन् भने सोही जिल्लाबाट प्रतिनिधित्व गर्ने २७ जना प्रदेश कमिटी सदस्यमध्ये ७ जनामात्र ओली समूहमा छन् । यसर्थ पनि सिरहामा ओली पक्षको तुलनामा प्रचण्ड–माधव पक्षको जनाधार निकै बढी मानिएको हो ।

महोत्तरीमा पनि प्रचण्ड–माधव पक्षकै पल्ला भारी छ । सो जिल्लामा प्रचण्ड–माधव समूहमा ८० प्रतिशत र ओली समूहमा २० प्रतिशत नेकपाका नेता तथा कार्यकर्ता रहेको प्रदेश २ का नेकपा प्रचण्ड–माधव समूहतर्फका प्रदेशसभा सदस्य भरत साहको दावी छ । महोत्तरीमा ६ जना केन्द्रीय सदस्यमध्ये ३ जना ओली समूहमा छन् । यस्तै, तीनजना प्रदेशसभा सदस्यमध्ये दुईजना प्रचण्ड–माधव समूहमा छन् भने एकजना ओली समूहमा छन् । सो जिल्लाबाट विघटित प्रतिनिधिसभामा नेकपाका तीन सदस्यमध्ये तीनैजना प्रचण्ड–माधव समूहमा छन् भने राष्ट्रियसभामा रहेका एकजना सदस्य पनि प्रचण्ड माधव समूहमै छन् ।

सर्लाहीमा पनि पनि ओली समूह निकै कमजोर छ । नेकपा प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री रामेश्वर राय यादवले सर्लाहीका ८० प्रतिशत नेता तथा कार्यकर्ता आफूहरुको पक्षमा रहेको दावी गरे । यस जिल्लाबाट प्रतिनिधित्व गर्ने ६ जना केन्द्रीय सदस्यमध्ये २ जना ओली समूहमा रहेका छन् भने चार जना प्रचण्ड–माधव पक्षमा छन् । सर्लाहीबाट नेकपाका निर्वाचित एकजना प्रतिनिधिसभा सदस्य रहेकोमा ती पनि प्रचण्ड–माधव समूहमै आवद्ध छन् । सो जिल्लाका विभिन्न नगरपालिकामा रहेका पाँचजना मेयरमध्ये तीनजना प्रचण्ड–माधव समूहमा छन् ।

धनुषामा भने प्रचण्ड–माधव समूह तुलनात्मक रुपमा कमजोर देखिएको छ । तत्कालीन माओवादीका ७० प्रतिशत नेता तथा कार्यकर्ता ओली समूहमा लागेको नेकपा ओली समूहका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलको दावी छ । मण्डल स्वयं पूर्वमाओवादी हुन् । पार्टी राजनीतिक रुपमा विभाजित भएसँगै उनी ओली समूहमा लागेका हुन् ।

धनुषामा नेकपाका तीनजना प्रतिनिधिसभा सदस्यमध्ये रघुवीर महासेठ र जुली महतो ओली समूहमा छन् भने मातृका यादव प्रचण्ड–माधव समूहमा छन् । प्रदेशसभामा जिल्लाबाट नेकपाका चारजना सदस्यमध्ये तीनजना ओली समूहमा छन् भने एकजना शत्रुधन यादवमात्र प्रचण्ड–माधव समूहमा रहेको मण्डलको दावी छ ।

तर नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य रामचन्द्र झाले आफूहरु केन्द्रीय समिति, प्रदेश समिति, गाउँ कमिटीमा ओली समूहभन्दा बलियो रहेको दावी गरे । जिल्लाबाट केही ठूला नेताहरु ओली समूहमा भए पनि तल्लो तहमा आफूहरुको पकड रहेको उनको भनाइ छ ।

रौतहट जिल्ला प्रचण्ड–माधव समूह नेकपाका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला हो । तत्कालीन माओवादीका नेता प्रभु साह अहिले ओली समूहमा लागेका छन् । त्यही भएर रौतहटमा नेकपाका दुवै पक्षको कडा टक्कर छ । रौतहटबाट प्रतिनिधिसभाका तीनजना सदस्य ओली समूहमा लागेका छन् । समानुपातिकतर्फका सदस्य सविना खातुन र रेखा झा पूर्व एमाले हुन् । उनीहरु ओली समूहमा लागेका छन् । यस्तै दुईजना प्रदेशसभा सदस्यमध्ये दुवैतिर एक–एकजना लागेका छन् । प्रदेशसभा सदस्य कुन्दन कुशवाहा पूर्वमाओवादी हुन् तर उनी प्रभु साहको साथमा ओली समूहमा गएका छन् ।

रौतहटबाट प्रतिनिधित्व गर्ने ६ जना केन्द्रीय सदस्यमध्ये एक जनामात्र ओली समूहमा छन् । प्रदेश कमिटीमा रहेका ३३ जना सदस्यमध्ये ११ जनामात्र ओली समूहमा छन् । नेकपा प्रचण्ड–माधव समूहका नेता सत्यनारायण भगतले जिल्लाका अधिकांश कार्यकर्ताहरु आफ्नो पक्षमा रहेको दावी गरे । केही नेताहरु ओली पक्षमा लागे पनि कार्यकर्ताहरु आफूहरुकै पक्षमा रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप