आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ओलीमाथि पौडेलको कटाक्ष: पशुपतिमा नाटक देखाउनुभयो, जनै लगाउनुभएको छ ?

शुक्रबार, २३ माघ २०७७, १६ : २०
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले पाखण्डी काम गरिरहेको बताएका छन् । नेपाली काँग्रेस रामपुर नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाटमा उनले भने, ‘सिद्धान्त लिन्छ कम्युनिष्टको । माक्र्सवादले धर्म भनेको अफिम हो भन्छ। कम्युनिस्ट पार्टीबाट हुन्छ प्रधानमन्त्री । त्यो प्रधानमन्त्री होटेलमा ठूलो समारोह गरेर होलीवानको होली खेल्छ । एकातिर होलीवानको होली खेल्छ, अहिले आएर पशुपतिमा अर्को नाकट देखाएर हिन्दुको कुरा गर्छ । यस्तो पाखण्डी काम गर्नुहुन्छ ।’

राज्यमा एक धर्मलाई च्याप्ने र अर्को धर्मलाई फ्याक्ने काम गर्न नहुने पौडेलको भनाइ छ ।  ‘राज्यभित्र सबै धर्म अटाउँछन् । सबै संस्कृति अटाउँछन् । अहिले धर्मका नाउँमा हिँडेका नेताहरुको खोलेर हेर्दा जनै पनि छैन होला । तर मेरो खोलेर हेर्नु भो भने जनै छ, आफ्नो जनै देखाउँदै पौडलले भने म चाहिँ हिन्दु हो । अहिले पनि पुजा गर्छु । हरेक दसैंमा नवदुर्गाको पाठ पढ्छु । यो मभित्रको आस्था हो । तर म यसलाई राज्यमा लाध्दैन । अन्य धर्ममाथि थोपर्न चाहन्न । बिपी कोइरालाले पनि त्यही गरेका हुन् ।’

देश र जनतालाई भ्रममा पार्दै ओलीले यस्तो पाखण्डी काम गरेको उनको आरोप छ । फरक प्रसंगमा नेता पौडेलले संसद पुनःस्थापनाको विकल्प नभएको बताए । ‘हामीले असंवैधानिक भनिसकेपछि हाम्रो गन्तव्य पनि त्यसलाई संवैधानिक बनाउने हो । त्यसका लागि संसद पुनःस्थापना हुनुपर्छ । म दाँया बाँया जान्दिन् पार्टीको निर्णय बोलिरहेको छु । संसद पुनःस्थापनाको विकल्प छैन’ उनले भने ।

चुनावमा जाँदा काँग्रेसलाई फाइदा हुने भएपनि काँग्रेस फाइदामा मात्र हिड्ने पार्टी नभएको उनको भनाइ छ । उनले भने, ‘काँग्रेस त सिद्धान्तमा हिँड्ने पार्टी हो नि । चुनाव नै सबै लोकतन्त्र हो भन्ने पनि होइन । संविधानमै टेकेर चुनावमा जानु नै लोकतन्त्र हुन्छ । यो कुरा बुझौँ ।’ 

यस्तै उनले चुनाव गराउने भए राजीनामा गरेको खै भन्दै ओलीलाई प्रश्न गरे ।  उनले भने, ‘चुनाव घोषणा गरेपनि निर्वाचन आचारसिंहता मान्नुपर्दैन ? जताततै आफ्ना मान्छे भर्ती गर्ने काम भएको छ । भोलि लालमोहर लगाउन सजिलो होला भनेर । संवैधानिक निकाय पनि त्यस्तै भए । निर्वाचन आयोगले पनि स्वतन्त्र हैसियत देखाइरहेको छैन । त्यसैले हामीलाई ढुलमुल भएको छ अदालत पनि के गर्ने हो भनेर ?’

संविधानमा संसद विघटन कही नभएको भए पनि अदालतले बदर नगरिदिने होकि भनेर शंका गर्नुपरेको पौडेलले बताए ।  ‘राष्ट्रिय आत्माविश्वास डग्मगायो । कसैमाथि भरोसा छैन । भरोसाको केन्द्र चाहियो । कम्युनिस्टमाथि जनताले भरोसा गर्ने ठाउँ रहेन । अब कम्तिमा काँग्रेस त छ भन्ने पार्नु पर्यो नि ? नेपाली काँग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनौं । नेपाल र नेपालीको भविष्य नेपाली काँग्रेसलाई सुधारेर अब हामी अगाडि बढ्नुपर्छ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप