शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यान्मारका प्रदर्शनकारीको नारा- बरु पोर्न हेर्छौं सैनिकको टिभी हेर्दैनौं

आइतबार, ०२ फागुन २०७७, १७ : १८
आइतबार, ०२ फागुन २०७७

एजेन्सी । म्यान्मारमा दशौं हजार मानिसले सडकमा उत्रिएर सैन्य ‘कु’ को विरोध गरेका छन् । आइतबार देशकै सबैभन्दा ठूलो शहर यांगुनमा इन्जिनियरिङका विद्यार्थीहरुले प्रदर्शन गर्दै पूर्व नेतृ अङ सान सुकीको रिहाईको माग गरे ।  फेब्रुुअरी १ मा सुकी नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता आफ्नो हातमा लिएको थियो, त्यसयता सुकी  नजरबन्दमा छिन् । 

सैन्य ‘कुु’ को विरोधमा फेब्रुअरी ५ देखि म्यान्मारमा बृहद जनप्रदर्शन सुरु भएको थियो । त्यसयता, नवौं दिनसम्म पनि देशभर प्रदर्शन भएको छ । यद्यपी, सरकारले राजनीतिज्ञ, अभियन्ता तथा प्रदर्शनकारीलाई पक्राउ गर्ने क्रम पनि बढाएको छ ।

म्यान्मारमा विगत १० वर्षमा यति ठूलो प्रदर्शन भएको यो पहिलो पटक हो । राजधानी नेपिदोसहित दावेई, माइन्ग्यान, वाईमलगाय दर्जनौं शहरमा पछिल्ला केही दिनदेखि लगातार प्रदर्शन भइरहेको छ ।  प्रदर्शनकारीहरुले ‘हामी सैनिकलाई कर तिर्दैनौं, हाम्रो निर्वाचित सरकार फिर्ता गर’, ‘निरङ्कुशता मुर्दावाद’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

धेरजसो  प्रदर्शनमा अङ सान सुकीको पोस्टर पनि देखिएको छ । माइन्ग्यानमा केही युवा प्रदर्शनकारीहरुले ‘हामी सत्ताको गुणगान गाउने एमआरटिभी र एमडब्ल्यु टिभी हेर्नुभन्दा बरु पोर्नहब हेर्छौं’ लेखिएको ब्यानर बोकेका थिए । एमआरटिभी म्यान्मारको सरकारी टेलिभिजन हो भने एमडब्ल्यु टिभी सैनिकको स्वामित्वमा रहेको टिभी हो । त्यस्तै, पोर्न हब अस्लिल भिडियो सामाग्रीहरु राख्ने वेवसाइट हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप