अनुमतिबिनै गोसाइँकुण्ड पुग्छन् हेलिकोप्टर
काठमाडौं । पछिल्लो समय काठमाडौँ–गोसाइँकुण्ड हेलिकोप्टर यात्रा विशेष चर्चामा छ । चार्टर्ड गरिएको हेलिकोप्टरबाट १५ मिनेट जान, १५ मिनेट आउन । ३० मिनेट घुमघाम गर्न । अनि, नीलकण्ठेश्वर महादेव (गोसाइँकुण्ड) को दर्शन गरेर जम्माजम्मी एकघण्टामै गोसाइँकुण्डको यात्रा सकिन्छ ।
पछिल्लो समय धार्मिक पर्यटकहरुलाई बोकेर गोसाइँकुण्ड हानिने हेलिकोप्टर कम्पनीहरुलाई भ्याई–नभ्याई छ । काठमाडौँ–गोसाइँकुण्ड चार्टर फ्लाइट गर्ने ५÷६ वटा कम्पनीहरुबीच प्रतिस्पर्धा नै चलेको छ ।
सस्तो प्याकेजमा सेवा दिने नाममा हेलिकोप्टर कम्पनीहरुले दिनहुँ ५÷७ दर्जन धार्मिक पर्यटकहरु गोसाइँकुण्ड उडाइरहेका छन् । जानकारहरुका अनुसार हेलिकोप्टर कम्पनीले एकजना बराबर १६ हजार ५ सय रुपैयाँमा गोसाइँकुण्ड लैजाने–ल्याउने गरेका छन् ।
गत शिवरात्रीमा एउटै कम्पनीले एकदिनमा अधिकतम ५० चोटि गोसाइँकुण्ड चार्टर फ्लाइट ग¥यो । त्यस दिन सिम्रिक एयरले मात्रै अधिकतम ५० वटा फ्लाइट गरेको कम्पनीकी सिनियर म्यानेजर करुणा मानन्धरले रातोपाटीलाई बताइन् ।
‘शिवरात्रीमा सिम्रिक एयरले गोसाइँकुण्डको ऐतिहासिक फ्लाइट गरेको छ । यी फ्लाइटहरु रसुवा जिल्लाकै डाँडागाउँबाट समेत भएका हुन् । सो दिन हामीले एकै दिन अधिकतम ५० वटा फ्लाइट गर्न सफल भयौ,’, मानन्धरले रातोपाटीसँग भनिन्, ‘अन्य सामान्य दिनमा कम्पनीले गोसाइँकुण्डमा दैनिक ५–७ वटा मात्र फ्लाइट नियमित गर्दै आएको छ ।’
त्यसो त सो दिन सिम्रिक एयरले मात्र नभएर अन्य हेलिकोप्टर कम्पनीहरुले समेत गोसाइँकुण्डको राम्रै व्यापार गरेका छन् । सिम्रिकसँगै प्रभु, एयर डाइनेष्टी, कैलाश, मनाङ, श्री लगायतका कम्पनीहरुले राम्रै चार्टर फ्लाइटको व्यापार गरेका हुन् ।
यस्तो फ्लाइट अहिले पनि गोसाइँकुण्डमा दिनमा १२–१५ वटाको हाराहारीमा हुने गरेको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निसान गजुरेलले रातोपाटीसँग बताए ।

स्थानीय पर्यटन व्यवसायी असन्तुष्ट
विशेषतः रसुवा जिल्लाको हिमाली क्षेत्रमा पर्ने गोसाइँकुण्ड धार्मिक पर्यटकीय क्षेत्र हो । ४ हजार ६१० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा धार्मिकसँगै एड्भेन्चर (साहसिक) पदयात्रामा रमाउन चाहने पर्यटकहरु समेत जाने गर्छन् ।
काठमाडौँबाट बसमा नुवाकोट, बेत्रावती हुँदै धुन्चे (करिब २ सय किलोमिटर) यात्रा पछि ट्रेकिङ रुट हुँदै गोसाइँकुण्ड जाने गरिन्छ । तर, काठमाडौं–गोसाइँकुण्ड सिधै चार्टर फ्लाइटले पर्यटक बोक्न थालेपछि यतिखेर स्थानीय होटल पर्यटन व्यवसायीहरुको ओठमुख सुकेको छ ।
‘अहिले रसुवाको पर्यटन व्यवसाय भनेकै हेलिकोप्टर टुरजस्तै भएको छ । स्थलमार्ग भएर भन्दा पनि हेलिकोप्टरबाट गोसाइँकुण्ड आउनेहरुको लर्को छ । यसले समग्र जिल्लाकै पर्यटन व्यवसाय धरासायी हुने हो कि भन्ने चिन्ता बढाएको छ’ अध्यक्ष गजुरेलले भने । उनका अनुसार पछिल्ला दिनमा हेलिकोप्टर चार्टर गरेर गोसाइँकुण्ड आउने धार्मिक पर्यटकको संख्यामा तीब्रतर वृद्धि आएको छ ।
स्थलमार्ग हुँदै जाने पर्यटकहरुले गर्ने खर्च आजभोलि सबै ठूला चार्टर फ्लाइटले नै खाइदिँदा व्यवसायीहरु मर्कामा छन् । ‘रसुवामा राम्रै पर्यटनको फ्लो छ भन्न पनि हामीलाई लाज लाग्न थालेको छ । किनकि पर्यटकहरूका लागि यतिखेर रसुवा त्यसमाथि पनि गोसाइँकुण्ड त विदेशजस्तै भएको छ,’ होटल तथा पर्यटन व्यवसायी संघ, रसुवाका अध्यक्ष निसान गजुरेलले भने, ‘चार्टर हेलिकोप्टरमा आयो, १५–२० मिनेट बस्यो, फेरि सोही हेलिकोप्टरमा फर्कियो । यो थाइल्याण्ड गएभन्दा के फरक छ र ?’

चार्टर हेलिकोप्टरले रसुवा जिल्लाको समग्र पर्यटन व्यवसायको औचित्यमाथि नै प्रश्न उठाएको बताउँदै गजुरेल भन्छन्, ‘फोहोर फाल्नका लागि मात्र पर्यटकहरु जिल्लामा भित्रिन्छन् भने त्यसको के अर्थ र ?’
गजुरेलका अनुसार अहिले हेलिकोप्टर चार्टर गरेर गोसाइँकुण्ड जानेले जिल्लाको पर्यटन प्रबर्द्धनका लागि कुनै खर्च गर्दैनन् । हेलिकोप्टरमै जान्छन् र हेलिकोप्टरमै फर्किन्छन् । त्यस्ता पर्यटकले खाना, खाजासमेत आफ्नै झोलामै बोकेर गएका हुन्छन् । बाँकी रहेको फोहोर मात्र छाडेर फर्किन्छन् । यसले अहिले स्थानीय पर्यटन व्यवसायमाथि नै चुनौती थपेको छ ।
गैरकानूनी उडान भरेको गुनासो
स्थानीयबासी एवं लाङटाङ राष्ट्रिय निकुञ्जका अधिकारीहरुका अनुसार जिल्लामा हुने अधिकांश चार्टर्ड फ्लाइटहरु कानुनसम्मत छैनन् । दिनहुँजस्तो दर्जनौं संख्यामा गोसाइँकुण्डमा अधिकांश हेलिकोप्टर कम्पनीहरुले निकुञ्जको नियम विपरीत अनुमतिबिनै फ्लाइट गर्दै आएको रसुवाका निकुञ्जकै अधिकारीहरु स्वीकार्छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्ज प्रमुख शुष्मा रानाका अनुसार गोसाइँकुण्ड उडान भर्नेमध्येको एक सिम्रिक एयर बाहेक अन्य कुनै पनि कम्पनीले निकुञ्जबाट फ्लाइटको स्वीकृति लिएका छैनन् ।
‘हामीले बारम्बार सूचना गरेका छौँ । स्वीकृति नलिने कम्पनीहरुलाई भौतिकरुपमै भेटेर मौखिक र लिखित दुबै तरिकाले स्वीकृति लिन सूचित गराएका छौं । तर, अहिलेसम्म एउटा कम्पनी बाहेक अन्यले निकुञ्जबाट कुनै स्वीकृति लिएका छैनन्’, निकुञ्ज प्रमुख रानाले भनिन्, ‘अब केही समय बाटो हेर्छौँ, तैपनि स्वीकृति लिन आएनन् भने कानुनअनुसार कम्पनीहरुलाई कारबाही गर्छौँ ।’
रानाका अनुसार निकुञ्जको नियम अनुसार निकुञ्ज क्षेत्रभित्र कुनै पनि फ्लाइट गर्नुपर्दा निकुञ्जको अनुमति लिनुपर्छ भने निकुञ्ज भएर फ्लाइट गरे बापत कुनै पनि एयरलाइन्स वा हेलिकोप्टरले प्रति फ्लाइट निकुञ्जलाई रु ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।
तर, अहिले गोसाइँकुण्ड फ्लाइट गर्ने अधिकांश कम्पनीहरुले निकुञ्जको स्वीकृतिविनै फ्लाइट गरिरहेको निकुञ्जकै अधिकारीहरुको भनाइबाट स्पष्ट हुन्छ ।
यता, गोसाइँकुण्ड चार्टर फ्लाइट गर्दै आएको कम्पनी प्रभु हेलिकोप्टरले भने अनुमति लिनुपर्ने नियमको प्रतिवाद गरेको छ । निकुञ्जको स्वीकृतिका बारेमा रातोपाटीलाई प्रतिक्रिया दिँदै प्रभु हेलिकोप्टरका डेपुटी जनरल म्यानेन्जर नोबेलकुमार लबटले हेलिकोप्टर सेवामा पहिले नै (निषेधित बाहेक) सबै क्षेत्रमा उडान अनुमति भएकाले निकुञ्जबाट स्वीकृति लिइरहनुनपर्ने बताए ।
‘हेलिकोप्टर सेवामा कम्पनीले पहिले नै देशभित्रको सबै क्षेत्रमा उडान अनुमति लिइसकेको हुन्छ । यसमा निषेधितबाहेक सबै क्षेत्रमा स्वीकृति छ भन्ने हो’ लबटले भने, ‘त्यसैले निकुञ्ज क्षेत्रमा पुनः अनुमति लिइरहनुपर्छ भन्ने होइन । तैपनि हामीले लाङटाङ राष्ट्रिय निकुञ्जसँग आवश्यक समन्वय गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण