शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो

शुक्रबार, १९ असार २०८३, १७ : ५७
शुक्रबार, १९ असार २०८३

सारांश

  • कर्णाली प्रदेश अस्पतालमा बिरामीको एक्स-रे गर्ने क्रममा मदिरा सेवन गरेका कर्मचारीबाट लापरबाही भएको घटनामा मानव अधिकार आयोगले चासो देखाएको छ।
  • आयोगले अस्पताललाई घटनाको वास्तविक विवरण उपलब्ध गराउन र संलग्न कर्मचारीमाथि कारबाही गर्न ध्यानाकर्षण गराएको छ।
  • पीडित परिवारले कुमको एक्स-रे रिपोर्ट चाहिनेमा मदिरा सेवन गरेका कर्मचारीले खुट्टाको रिपोर्ट निकालिदिएको आरोप लगाएका छन्।

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा बिरामीको एक्स–रे गर्ने क्रममा भएको लापरबाही गरेको घटनामा मानव अधिकार आयोगले चासो दिएको छ। आयोगको कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले अस्पताललाई ध्यानाकर्षण पत्र काटेका छन्।

साथै, उनले अस्पताल प्रशासनलाई घटनाबारे वास्तविक विवरण उपलब्ध गराउन पनि माग गरिएको बताए। असार १४ गते वीरेन्द्रनगर नगरपालिका–१ का मनिराम अधिकारीकी १८ वर्षिया छोरी हिरा अधिकारी रुखबाट लडेर घाइते भएपछि उपचारका लागि राति अन्दाजी ९ बजे प्रदेश अस्पताल पुगेकी थिइन् ।

‘चिकित्सकको सल्लाह अनुसार बिरामीको शरीरको एक्स–रेका लागि सम्बन्धित विभागमा पठाइएकोमा उक्त विभागमा कार्यरत कर्मचारीले मदिरा सेवन गरी लापरबाही गरेर चिकित्सकको रेफर विपरित अर्को भागको एक्स–रे गरेको र बिरामीका आफन्त प्रति दर्व्यवहार गरेको भनिएको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ ।

अतः उक्त घटनाको यथार्थ व्यहोरा खुलाई उपचारमा संलग्न चिकित्सकको भनाइ र एक्स–रे गर्ने कार्यमा संलग्न कर्मचारीको भनाइसहित घटनाको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउन भनेको छ, आयोगले ।

अस्पताल प्रशासनले पनि ड्युटीमा नरहेका तर मदिरा सेवन गरी एक्स–रे विभागमा एक कर्मचारी पुगेको बताएको छ । 

उनै व्यक्तिले सबै एक्स–रे रिपोर्ट प्रिन्ट गरेको तर ड्युटीमा रहेका कर्मचारी त्यो बेला बाहिर रहेको अस्पतालले बताएको छ । अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीले ती कर्मचारीलाई स्पष्टीकरण सोधिएको बताएकी छिन् ।

यद्यपि उक्त घटनाबारे अस्पतालले अहिलेसम्म आधिकारिक विवरण भने सार्वजनिक गरेको छैन । पीडित परिवारले भने कुमको एक्स–रे रिपोर्ट निकाल्नु पर्नेमा मदिरा खाएका कर्मचारीले खुट्टाको निकालिदिएको आरोप लगाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?