शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

सक्कली नोट झिकेर नक्कली नोट राख्ने बैंक म्यानेजरको कर्तुत पर्दाफास

शुक्रबार, १९ असार २०८३, १३ : ५३
शुक्रबार, १९ असार २०८३

सोल । दक्षिण कोरियामा एक जना बैंक शाखा प्रबन्धकले बैंकको भल्टबाट करिब ४५ हजार अमेरिकी डलर बराबर रकम हिनामिना गर्न वास्तविक नोटको सट्टा नक्कली छापिएका नक्कली नोट राखेको घटना सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सेमाउल क्रेडिट युनियनको ग्योङ्जु शाखाका प्रबन्धकले बैंकको भल्टबाट रकम निकाल्दै त्यसको ठाउँमा अनलाइनबाट खरिद गरिएका नक्कली नोट राखेका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा ५० हजार वन दरका नोटजस्तै देखिने तर हाँस, भालुलगायत कार्टुन पात्र छापिएका खेलौना नोट देखिएका छन्। झट्ट हेर्दा नै ती नोट नक्कली भएको थाहा पाइने भए पनि लामो समयसम्म भल्टको नियमित जाँच नभएकाले घटना लुकेको बताइएको छ।

रिपोर्टअनुसार उक्त शाखा सानो भएकाले कर्मचारीको संख्या पनि कम थियो। प्रबन्धकले दैनिक रूपमा भल्टमा नगद जम्मा गर्ने जिम्मेवारी आफैँ सम्हाल्ने गर्थे। यही अवसरको फाइदा उठाउँदै उनले वास्तविक नोट निकालेर त्यसको ठाउँमा नक्कली नोट राख्ने गरेका थिए।

यो हिनामिना कति समयसम्म चल्यो भन्ने खुलाइएको छैन। तर एक कर्मचारीले प्रबन्धकको असामान्य गतिविधिबारे माथिल्लो व्यवस्थापनलाई जानकारी दिएपछि बैंकले आन्तरिक छानबिन सुरु गरेको थियो। छानबिनका क्रममा प्रबन्धकले वास्तविक रकम निकालेर नक्कली नोट राखेको पुष्टि भएको थियो।

यद्यपि बैंकले तत्काल प्रहरीलाई जानकारी नदिई घटना आन्तरिक रूपमा समाधान गर्ने निर्णय गरेको जनाएको छ। बैंकद्वारा जारी विज्ञप्तिमा सम्बन्धित प्रबन्धकलाई बर्खास्त गरिएको, उनले हिनामिना गरेको सम्पूर्ण रकम फिर्ता गरिसकेको र बैंकले यो प्रकरणलाई आन्तरिक रूपमा टुंगो लगाएको उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?