शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

म्याराडोनाको विगतको ‘भविष्यवाणी’ २०२६ को विश्वकपमा भाइरल

शुक्रबार, १९ असार २०८३, १३ : ४०
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । दिवङ्गत अर्जेन्टिनी फुटबल महानायक डिएगो म्याराडोनाले आठ वर्षअघि व्यक्त गरेको एउटा चिन्ता २०२६ फिफा विश्वकपका क्रममा फेरि सामाजिक सञ्जालमा भाइरल बनेको छ । धेरै समर्थकले अहिले उनको त्यो चेतावनी बिस्तारै वास्तविकतामा परिणत भइरहेको दाबी गरिरहेका छन् ।

सन् २०२० नोभेम्बर २५ मा ६० वर्षको उमेरमा निधन भएका म्याराडोनाको एउटा पुरानो अन्तर्वार्ता अहिले पुनः चर्चामा आएको हो । सन् २०१८ मा अमेरिका, क्यानडा र मेक्सिकोलाई संयुक्त रूपमा २०२६ विश्वकप आयोजना गर्ने अधिकार दिइएपछि माराडोनाले उत्तर अमेरिकी खेलकुद मोडलको कडा आलोचना गरेका थिए । सन् १९८६ का विश्वकप विजेता माराडोनाको विश्वास थियो कि टेलिभिजन प्रसारणकर्ता र व्यावसायिक हितलाई ध्यानमा राख्दै फुटबलको परम्परागत स्वरूप नै परिवर्तन गरिनेछ ।

अर्जेन्टिनाको एक टेलिभिजन कार्यक्रममा उनले भनेका थिए, ‘उनीहरूले खेललाई दुई हाफको सट्टा चार हाफमा विभाजन गर्नेछन्, ताकि बीचमा विज्ञापन राख्न सकियोस् । हेर्दै जानुहोस्, तपाईंले देख्नुहुनेछ ।’

नभन्दै उनको यो भविष्यवाणी अन्ततः सत्य निस्किएकोमा म्याराडना एकपटक फेरि चर्चामा छन् । यस विश्वकपमा बारम्बार दिइएका आधिकारिक जलपान विश्राम (हाइड्रेसन ब्रेक) का कारण उनको भनाइले अहिले व्यापक चर्चा पाएको हो ।

अमेरिकाका विभिन्न रंगशालामा भएका धेरै खेलहरूमा अत्यधिक गर्मीका कारण खेलाडी, रेफ्री तथा अन्य खेल अधिकारीको स्वास्थ्य सुरक्षा गर्न फिफाले अनिवार्य ‘कुलिङ ब्रेक’ लागू गरेको छ ।

यी विश्रामको मुख्य उद्देश्य खेलाडीको स्वास्थ्य सुरक्षा भए पनि यसले प्रत्यक्ष प्रसारणको अवधि लम्ब्याउँछ । त्यससँगै विज्ञापन प्रदर्शनका लागि थप अवसर पनि सिर्जना हुन्छ । यही विषयबारे माराडोनाले वर्षौंअघि चेतावनी दिएका थिए ।

यस विषयमा बहस झन् चर्किएको कारण के हो भने, वातानुकूलित (एयर कन्डिसन्ड) इनडोर स्टेडियम तथा तुलनात्मक रूपमा कम तापक्रम भएका स्थानमा समेत जलपान विश्राम दिइएको छ ।

यसले केही समर्थकलाई यी विश्राम वास्तवमै खेलाडीको स्वास्थ्यका लागि मात्रै हुन् कि होइनन् भन्ने प्रश्न उठाउन प्रेरित गरेको छ । अर्कोतर्फ, केहीले भने फिफाले आफ्ना चिकित्सकीय मापदण्डअनुसार मात्र काम गरिरहेको तर्क गरेका छन् ।

म्याराडोना अमेरिकालाई विश्वकप आयोजना गर्ने अधिकार दिनुपर्ने निर्णयको पनि कडा विरोधमा थिए । उनको भनाइमा अमेरिकामा फुटबलको परम्परा बलियो छैन र अन्ततः खेलभन्दा व्यावसायिक हितले प्राथमिकता पाउने जोखिम छ ।

त्यतिबेला उनले भनेका थिए, ‘उनीहरूमा फुटबलप्रतिको जुनून छैन । क्यानडावासी राम्रो स्की खेलाडी हुन सक्छन्, तर अमेरिकाले विज्ञापनका लागि खेललाई २५–२५ मिनेटका चार हाफमा विभाजन गर्न चाहन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?