शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार

शनिबार, २० असार २०८३, १२ : १४
शनिबार, २० असार २०८३

सारांश

  • रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल र भुटान) को रोटरी वर्ष २०२६/२७ का लागि रोटेरियन विष्णुबहादुर कार्कीले डिस्ट्रिक्ट गभर्नरका रूपमा पदभार ग्रहण गरेका छन्।
  • नवनियुक्त डिस्ट्रिक्ट गभर्नर कार्कीले रोटरी क्लबहरूलाई सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने र सेवा परियोजनाहरूलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
  • उनले युवा सशक्तिकरण र रोटरी फाउन्डेसनमार्फत समुदायमा अर्थपूर्ण परिवर्तन ल्याउने मुख्य लक्ष्य रहने बताएका छन्।

काठमाडौँ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल र भुटान) को रोटरी वर्ष २०२६/२७ का लागि कुशल सङ्गठक तथा सफल व्यवसायी रोटेरियन विष्णुबहादुर कार्कीले डिस्ट्रिक्ट गभर्नरका रूपमा पदभार ग्रहण गरेका छन्। राजधानीको होटल याक एण्ड यतीमा आयोजित ‘इन्स्टलेशन’ समारोहका बिच कार्कीले आफ्नो कार्यभार सम्हालेका हुन्।

रोटरी इन्टरनेशनलका डिरेक्टर (२०२७–२०२९) रोटेरियन बासुदेव गोल्यानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा नेपाल र भुटानका १६५ रोटरी क्लबका ४६० भन्दा बढी रोटरियन तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले रोटरीको ‘सेवा नै धर्म’ को मूल मन्त्रका साथ अघि बढ्ने प्रतिबद्धता जनाए। आफ्नो योजनाबारे प्रस्ट पार्दै उनले भने, ‘मेरो नेतृत्वमा यस वर्ष हामी रोटरी क्लबहरूलाई अझ सुदृढ बनाउन, सदस्यता विस्तार गर्न र सेवाका परियोजनाहरूलाई बढी प्रभावकारी र दिगो बनाउन केन्द्रित हुनेछौँ। विशेषगरी युवाहरूलाई रोटरीका विभिन्न माध्यमबाट सशक्त बनाउने र रोटरी फाउन्डेसन मार्फत समुदायमा अर्थपूर्ण परिवर्तन ल्याउने हाम्रो मुख्य लक्ष्य रहनेछ।’

विभिन्न क्लब अध्यक्षहरूको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै गभर्नर कार्कीले क्लब अध्यक्षहरू नै रोटरीका मेरुदण्ड भएको उल्लेख गरे। उनले थपे, ‘उहाँहरूले नै संस्थाको भिजनलाई काममा बदल्नुहुन्छ र समुदायमा प्रत्यक्ष प्रभाव पार्नुहुन्छ। मलाई विश्वास छ, नवनियुक्त अध्यक्षहरूको नेतृत्वमा यो वर्ष रोटरीले सेवाका नयाँ उचाइहरू चुम्नेछ।’

समारोहका प्रमुख अतिथि रोटेरियन बसुदेव गोल्यानले नवनियुक्त डिस्ट्रिक्ट गभर्नरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले सम्पूर्ण रोटेरियनहरूलाई नयाँ उत्साह, ऊर्जा र साझा उद्देश्यका साथ सामाजिक सेवामा अघि बढ्न आह्वान समेत गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप