शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा विद्यालयलाई शौचालय हस्तान्तरण

शनिबार, २० असार २०८३, ०८ : १५
शनिबार, २० असार २०८३

सारांश

  • नेपाली सेनाले रौतहटको चन्द्रपुर नगरपालिकास्थित श्री आधारभूत विद्यालय, असनवामा विद्यार्थीहरूको सुविधाका लागि महिला र पुरुष शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ।
  • श्री नारायणदल गणले निर्माण गरेको उक्त शौचालयको उद्घाटन मध्य पूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीले गरेका थिए।
  • सेनाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक पूर्वाधार विकासका क्षेत्रमा योगदान पुर्‍याउँदै नागरिक–सैनिक सम्बन्ध सुदृढ बनाउने गरेको छ।

रौतहट । नेपाली सेनाले नागरिक–सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिकास्थित एक विद्यालयमा निर्माण गरिएको  शौचालय हस्तान्तरण गरेको छ।

नेपाली सेनाको श्री नारायणदल गणले आफ्नो जिम्मेवारी क्षेत्रअन्तर्गत चन्द्रपुर नगरपालिका–२ जुडिवेलास्थित श्री आधारभूत विद्यालय, असनवामा अध्ययनरत विद्यार्थीहरूको सुविधा र स्वच्छ वातावरणमा अध्ययन गर्ने अधिकारलाई मध्यनजर गर्दै निर्माण गरेको महिला तथा पुरुष शौचालय शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन तथा हस्तान्तरण गरिएको हो।

गत चैत २२ गतेदेखि निर्माण सुरु गरिएको उक्त शौचालयको  उद्घाटन मध्य पूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्री ले  गरेका थिए। उद्घाटनपछि शौचालय चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय कुमार चौधरी लाई हस्तान्तरण गरिएको श्री नारायणदल गणका गणपति कर्णेल विश्वास विष्ट ले जानकारी दिएका छन्।

कार्यक्रममा उपप्रमुख चौधरीले आयोजना सफलतापूर्वक सम्पन्न गराएकोमा पृतनापति, श्री नं। २८ बाहिनी अड्डाका बाहिनीपति साहायक रथी मिलन तुलाचन, तथा श्री नारायणदल गणका प्रमुख कर्णेल विश्वास विष्टलाई कदरपत्र प्रदान गर्दै धन्यवाद व्यक्त गरेकी थिइन्।

उद्घाटन कार्यक्रममा पृतनापति उपरथी भुवन खत्री, उपप्रमुख जयमाला चौधरी, श्री नं। २८ बाहिनी अड्डाका बाहिनीपति, वडा नम्बर २ र ७ का अध्यक्ष, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, समाजसेवी, अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा पृतनापति, उपप्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले शिक्षा क्षेत्रमा पूर्वाधार विकासको महत्व र नागरिक–सैनिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा मन्तव्य व्यक्त गरेका थिए।

नेपाली सेनाले प्रत्येक वर्ष स्थानीय आवश्यकताको आधारमा शीघ्र प्रभावी आयोजना  सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक पूर्वाधार विकासका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ। यस्ता आयोजनाले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउनुका साथै नेपाली सेना र नागरिकबिचको विश्वास र सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

कार्यक्रमको समापनमा पृतनापति उपरथी भुवन खत्रीले आयोजना सफल बनाउन सहयोग गर्ने स्थानीय जनप्रतिनिधि, विद्यालय परिवार, व्यवस्थापन समिति, स्थानीय समुदाय, सञ्चारकर्मी तथा नेपाली सेनाका सम्पूर्ण सकलदर्जाप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप