आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मध्यपुरको जीवित संस्कृतिः बुद्धकृष्णले आठौँ पटक छेडे जिब्रो (फोटोफिचर)

बिहीबार, ०२ वैशाख २०७८, १५ : ५३
बिहीबार, ०२ वैशाख २०७८

भक्तपुर । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा बिहीबार मध्याह्न सम्पन्न भएको छ । बुद्धकृष्ण बाग श्रेष्ठले आठौं पटक जिब्रो छेडाउँदै जात्रा सकिएको छ । मध्यपुर थिमि नगरपालिका८ बोडेका श्रेष्ठले आठौं यो पटक पनि जिब्रो छेडाएका हुन् । प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत प्रत्येक वर्ष बैशाख २ गते मध्यपुर थिमि८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्म गरी सातौं जिब्रो छेडेका थिए । बुद्धकृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिएको हो ।

 जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गरेका थिए ।   यो उपत्यकाको नै एक जिब्रो छेड्ने जात्रा आफैमा साहसीक कार्य गर्ने जात्राको रुममा रहेको छ ।

यो भन्दा अघि चार पटक सम्म जिब्रो छोडेका बुद्धकृष्णले २०७४ सालदेखि पूनः जिब्रो छेडेका हुन् । यो उनको आठौँ पटक हो ।

ब्रत सुरु भएपछि जिब्रो छेड्ने व्यक्तीले खानाखान गर्न नहुने, आइमाई छुन नहुने, जुठो, सुतकपरेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुर लगायतका जनावरहरुलाई समेत छुन नहुने परम्परा रहेको छ । नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरो देवगणको पूजा एवम् प्रार्थना गरी हजारौं मानिसहरूकै अगाडि जिब्रो छेडिएको थियो ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ ।

प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा मेडिकलको औषधि लाउनुनपर्ने जानकारहरुले बताएका छन ।

किम्बदन्ती यस्तो छः

प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा)ले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखिदिएका थिए ।

त्यसपछि उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरेपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे । बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा प¥यो ।

भीमदत्तले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए ।

बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई पिचाशलाई छाडिदिएको किंबदन्ती  छ ।

     एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, अहिलेसम्म पनि कायमै छ ।

     वाचा अनुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले सोही अनुरूप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको किंवदन्ती रहेको छ ।

 बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर   राखेको सुइरोले जिब्रो छेडेपछि चन्द्राकारकोे महाद्वीप बोकेर टोलटोल घुमेका बुद्ध कृष्ण पुनः भाँगु टोलमा पुगेर पाँचौ गणेश मन्दिरमा जाने र त्यसपछि सुइरो निकालेर महालक्ष्मी मन्दिरमा उक्त सुईरो ठोकिने परम्परा रहिआएको छ ।

कसले कति पटक जिब्रो छेडाए ?

मध्यपुरमा मनाइने यो जात्रामा हालसम्म ककसले जिब्रो छेडाए भन्ने तथ्यांक नभएपनि जानकारहरुले बताए अनुसार, हर्क नरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १ पल्ट जिब्रो छेडेका थिए ।

हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, जुजुभाइ बास श्रेष्ठले ८ र बुद्धचन्द्र बाग श्रेष्ठले यो पटक समेत गरेर ८ पटक जिब्रो छेडेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप