सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
सुकुमबासीका समस्या

कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग

आइतबार, २८ असार २०८३, २१ : ०८
आइतबार, २८ असार २०८३

सारांश

  • अविरल वर्षाले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि ३१ परिवारका ८९ जना सुकुमबासीलाई खरिपाटीमा सारिएको छ ।
  • बाढीले सर्वस्व गुमाएका सुकुमबासीको दैनिक जीवनयापन, बालबालिकाको विद्यालय आवतजावत र दीर्घकालीन व्यवस्थापनको विषय अझै अन्योलमा छ ।
  • गृहमन्त्रीसहित मन्त्रीहरूको टोलीले विस्थापित बालबालिकाको शिक्षा, सीपमूलक तालिम र रोजगारीका लागि सहयोग गर्ने आश्वासन दिए पनि उनीहरू स्थायी बसोबासको सुनिश्चितता नभएसम्म चिन्तित छन् ।

काठमाडौँ । शुक्रबार राति आएको अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि ३१ परिवारका ८९ जना सुकुमबासीलाई खरिपाटीमा सारिएको छ ।

शनिबार राति र आइतबार बिहान गरी उनीहरूलाई खरिपाटी स्थानान्तरण गरिएको हो भने केही परिवारलाई भक्तपुरको बोडेमा लगिएको छ । शुक्रबार रातिको अविरल वर्षा र बाढीले सर्वस्व गुमाएका उनीहरूलाई खरिपाटी सारिए पनि दैनिक जीवनयापन, बालबालिकाको विद्यालय आवतजावत र दीर्घकालीन व्यवस्थापनको विषय अझै अन्योलमा रहँदा पीडितहरू चिन्तित बनेका छन् ।

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बस्दै आएकी ६४ वर्षीया मेनुका गुरुङका लागि गत शुक्रबारको रात कष्टकर बनेर आयो । मध्यरातको करिब १ बजे मस्त निद्रामा रहेका बेला बाढी होल्डिङ सेन्टरभित्र पस्यो ।

विभिन्न स्वास्थ्य समस्या र आठ पटकसम्म गरिएको शल्यक्रियाको पीडा झेलिरहेकी गुरुङले आफ्ना दुई नातिनातिना–११ वर्षीया विशुलक्ष्मी र १० वर्षीय विश्वनाथलाई जबर्जस्ती उठाइन् । बाढीले उनीहरूसँग भएका सम्पूर्ण सरसामान र जायजेथा बगायो । चामल, दाल, साबुन र सरफ जस्ता खुद्रा सामानको व्यापार गरेर नातिनातिना पाल्दै आएकी मेनुकाले भनिन्, 'सबै थोक बाढीले बगायो, अहिले यो जीउबाहेक केही बाँकी रहेन ।' उनका अनुसार नागरिकताबाहेक उनका अन्य सम्पूर्ण कागजपत्र, नातिनातिनाका विद्यालयका पोसाक तथा पाठ्यपुस्तक सबै बाढीले नष्ट गरिदिएको छ ।

बाढीले विद्यालय पोसाक र कापी किताब बगाएपछि विस्थापित बालबालिकाहरू अब कुन कपडा लगाएर विद्यालय जाने भन्ने अन्योलमा छन् । खरिपाटीबाट विद्यालय निकै टाढा पर्ने भएकाले उनीहरूको दैनिक पढाइ र परीक्षा प्रभावित हुने हो कि भन्ने चिन्ता उनीहरूले व्यक्त गरिरहेका छन् । नातिनी विशुलक्ष्मी र नाति विश्वनाथले आफूहरूलाई गाँस, बास र कपासको मात्र व्यवस्था गरिदिए पुग्ने बताए । 

विस्थापित सुकुमबासीहरूको अवस्था बुझ्न गृहमन्त्रीसहित विभिन्न मन्त्रालयका मन्त्रीहरूको टोली खरिपाटी पुगेको थियो । मन्त्रीहरूले विस्थापित बालबालिकाको शिक्षा, सीपमूलक तालिम र रोजगारीका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । भूमि सुधार र गरिबी निवारण मन्त्रालयका तर्फबाट कोठा भाडामा लिन कठिनाइ भएमा सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाइएको छ । 

तर, विस्थापितहरू भने सरकारी आश्वासनप्रति पूर्ण विश्वस्त देखिँदैनन् । स्थायी बसोबासको सुनिश्चितता नभएसम्म साना बालबालिकाहरूलाई लिएर कहाँ भौँतारिने भन्ने चिन्ता उनीहरूमा व्याप्त छ । 'मन्त्रीज्यूहरू खाली जग्गा मात्र दिने कुरा गर्नुहुन्छ, मजस्तो एउटा बाँससमेत किन्न नसक्ने गरिबले खाली जग्गा मात्र लिएर के गर्ने ?' मेनुकाले प्रश्न गरिन् । 

यसैबिच, भक्तपुरको खरिपाटीस्थित सुकुमबासीहरू राखिएको होल्डिङ सेन्टरमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ । 'माथिबाट अनुमति लिएर आउनुस्' भन्दै रिपोर्टिङमा पुगेका सञ्चारकर्मीलाई प्रवेश गर्न दिइएको छैन ।

मन्त्रालय वा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर मात्रै होल्डिङ सेन्टरमा प्रवेश गर्न पाइने भन्दै उनीहरूलाई रोकिएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप