बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

साना भूकम्प जाने क्रम जारी

सोमबार, २४ जेठ २०७८, १५ : १६
सोमबार, २४ जेठ २०७८

लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यही जेठ ५ गते बिहान भुलभुले केन्द्रविन्दु भएर गएको ५.८ रेक्टर स्केलको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । 

केन्द्रका भूकम्पविद् भरत कोइरालाले लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा ठूलो पाँच पटक भूकम्प गएको बताए । “नेपाल भूकम्पीय दृष्टिकोणले जोखिम क्षेत्र रहेकाले नेपालमा जुनसुकै समयमा पनि भूकम्प जान सक्छ”, कोइरालाले भने । भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा छ जना घाइते हुनाका साथै २०० भन्दा धेरै घरमा क्षति पुगेको थियो । 

विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि उक्त भूकम्पलाई सम्झाउने गरी जेठ ५ गते भूलभूले केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भुलभुलेको भूकम्प गोरखा भूकम्पको पराकम्प हो वा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको सो केन्द्रले जनाएको छ । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा ठूला ५५८ भूकम्प गइसकेको भूकम्पविद् कोइरालाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप