कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेर ३ अर्बभन्दा बढीको बजेट ल्याउँदै हेटौंडा उपमहानगरपालिका
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको प्रि–बजेट निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेको उपमहानगरपालिकाकी उपमेयर मीना लामाले जानकारी दिइन् ।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाले वातावरण मैत्री विकास योजनालाई अँगाल्दै भौतिक पूर्वाधारको क्षेत्रमा पनि विभिन्न योजनाहरुलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने तयारी गरेको उनको भनाइ छ ।
कोरोना संक्रमणको दोस्रो लहरका कारण हेटौंडा अस्पतालमा आइपरेका समस्यालाई मध्यनजर गर्दै उपमहानगरले स्वास्थ्य संस्था र अस्पतालहरूका समस्या समाधान र स्तरोन्नतिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरी योजनाहरु ल्याउने तयारी गरेको उपमेयर लामाले बताइन् ।
कोरोना संक्रमणका कारण सबै क्षेत्र अस्तव्यस्त रहेको विषम परिस्थितिमा पनि उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ३ अर्बको बजेट ल्याउने तयारी गरेको छ । असार १० गतेको नगरसभामा प्रस्तुत हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रण, व्यवस्थापन र उपचार सेवाको गुणस्तरीयता नै प्राथमिकतामा राखिएको उपमेयर लामाले बताइन् ।
नीति तथा कार्यक्रममा कोरोना विरुद्धको खोप खरिदको विषयमा स्पष्ट उल्लेख नगरे पनि संघीय सरकारको अनुमतिमा त्यसका लागि आवश्यक बजेट र व्यवस्थापनको योजना समावेश गरिएको उनको भनाइ छ । उपमेयर लामाका अनुसार, उपमहानगरपालिकाको सबै वडाको स्वास्थ्य क्षेत्रको स्तरोन्नति र उपचार सेवामा नागरिकको पहुँच पु¥याउने योजनाहरुलाई महत्व दिइएको छ ।
शैक्षिक स्तर सुधारका योजना, विद्यालय भवन पूर्वाधार निर्माण, वैकल्पिक र प्रविधिमैत्री शिक्षण सिकाइलाई उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा आफ्नो क्षेत्र निर्धारण गरेको उनले बताइन् । उपमेयर लामाले आगामी आर्थिक वर्षमा योजनाहरु कार्यान्वयनलाई महत्वका साथ अघि बढाउने भन्दै योजना छनौटमा विषेश ध्यान दिएको बताइन् ।

विभिन्न गौरवको आयोजनालाई समेत उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको उनको भनाइ छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्र चौरमा बहुउद्देश्यीय भवन, हेटौंडा–१० मा सपिङ कम्प्लेक्ससहितको आधुनिक बसपार्क निर्माणलाई गौरवको आयोजनाको रुपमा आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको उनले बताइन् ।
कोरोना प्रभावित परिवारलाई कृषि उत्पादनमा जोड्ने कार्यक्रम, उत्पादनमा आधारित अनुदान कार्यक्रम, युवा स्वरोजगारमुखी कार्यक्रमलाई आगामी वर्ष महत्वका साथ अघि बढाइने उपमेयर लामाको भनाइ छ । कृषि उत्पादनलाई प्रोत्साहनका कार्यक्रमलाई उपमहानगरपालिकाले उचित स्थान दिने गरी नीति तथा कार्यक्रम निर्माण गरिएको र कृषि बजारीकरणका लागि थोक तरकारी बजारको निर्माणको योजना पनि बजेटमा महत्वका साथ समावेश हुने उनले बताइन् ।
कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटन क्षेत्रलाई पनि आगामी वर्ष उपमहानगरपालिकाले बजेटमा उचित स्थान दिने उनको धारणा छ । हेटौंडा–१८ को गुम्बाडाँडा, हेटौंडा–१० को टोनी हेगन पार्क लगायतका पार्कको भौतिक पूर्वाधार निर्माण, संरक्षण र सम्वर्द्धनमा उपमहानगरपालिकाले विशेष पहल गर्ने जनाइएको छ ।
एसिया कै पहिलो सुरुङ मार्गको रुपमा रहेको हेटौंडा–१५ चुरियामाई मन्दिर नजिकै रहेको सुरुङ मार्गको संरक्षण र सम्वर्द्धनमा लागि उपमहानगरपालिकाले आवश्यक योजना ल्याउने तयारी गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण