बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पहिलो पटक सरकारमा रहेका तीन मन्त्रीको विरुद्धमा बोलिन् नेपाल समूहकी सांसद देवी ओली

शनिबार, १९ असार २०७८, ०९ : ३०
शनिबार, १९ असार २०७८

सुर्खेत । गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा झुक्किएर मत दिएकी एमाले खनाल–नेपाल समूहकी सांसद देवी ओलीले पहिलो पटक आफ्नो समूहका तीन जना विरुद्ध बोलेकी छन् । 

उनले शुक्रबारको प्रदेशसभा बैठकमा सरकारमा रहेका खनाल–नेपाल समूहका तीन जना अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको विपक्षमा बोलेकी हुन् । 

प्रायः संसदमा कमै मात्रामा बोल्ने ओलीले पहिलो पटक आफ्ना समूहका  सांसदको विपक्षमा बोलेकी हुन् । सभामुख राजबहादुर शाहीले कार्यसुची प्रारम्भ हुन्छ भनेपछि उनले रोष्टमबाट उठेर भनिन्,‘सभामुख ज्यू !  नेपालमा विभिन्न चरणमा भएका संघर्ष, आन्दोलन स्वरुप हामी यो प्रदेशसभामा उपस्थित छौँ । सभाको गरिमा कायम गर्न हामी सबै जिम्मेवार नै छौँ। यो सभा आज कर्णालीवासीको समस्याहरु सम्बोधन गर्ने चरणमा छ । बजेट अधिवेशन नै हो यो । कार्यसुची हेर्दा प्रतिवेदन, विद्येयकहरुमाथि छलफल गर्नुपर्ने छ ।’ 

त्यसपछि ओलीले सरकारमा रहेका तीनजनालाई संकेत गर्दै भनिन् ,‘ आज संविधान कार्यान्वयन गर्ने कुरा कुनै एउटा दलको मात्र भुमिका, जिम्मेवारी होइन् जस्तो लाग्छ । नेकपा एमालेले निरन्तर यो कुरा उठाइरहेको छ । एमालेको विषय मात्र होइन् । संविधानको कार्यान्वयन, कानुनको शासन कायम गर्नका लागि निरन्तर यो एउटा राजनीतिक सहमतिको दस्तावेज हो भन्ने कुरा पनि स्वीकार्य आएको कारणले सभामा वाचन भएको, एमालेका चारजना सदस्यहरुको अदालतबाट जुन कुरा आदेश भएको छ त्यो कुरा किन कार्यान्वयन हुन सकिरहेको छैन् ? आज हामी कानुनी र संवैधानिक व्यवस्था एउटा, व्यवहारमा अरु अभ्यास गरिरहेका छौँ  त ! यो अभ्यास कर्णालीमा मात्र गर्नुपर्ने बाध्यता किन सृजना भइरहेको छ ? यो कुरा प्रति गम्भिर ध्यानाकर्षण गर्न चाहन्छु।’ 

उनले अगाडि भनिन्, जबरजस्त यहाँ नियम कानुनको पालना गर्नुपर्ने कुनै एउटा राजनीतिक पार्टीको मात्र जिम्मेवारी होइन् । संघीय प्रणालीमा विभिन्न प्रश्न उठिरहेका छन् यो बेला सबै राजनीतिक दल जिम्मेवारी हुनेकी नहुने ? कुनै पनि नागरिकले अन्याय परेको खण्डमा जाने न्यायमुर्तीहरुले दिएको कुरा पनि हामी उल्लङ्घन गरिरहेका छौँ । यो कुरा फेरबदल र सभामा (जेठ ३१ गते सभामुखले वाचन गरेको) वाचन गरिए अनुसार व्यवस्था नहुँदासम्म नेकपा एमाले प्रदेशसभाले यो संसदको कार्यसुची अगाडी बढाउन समर्थ छैन् । यो कारबाही अगाडी बढ्न सक्दैन् । धन्यवाद....!'

उनले संसदमा बोलिरहँदा अन्य सांसद भने उनीतर्फ हेरिरहेका थिए। प्रतिपक्षको भुमिकामा रहेका सांसद उभिएका थिए । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएपछि खनाल–नेपाल समुहका प्राय सांसद बोलेको देखिदैन् । यसअघि सदन चल्दा प्राय दलका नेता यामलाल कँडेल र गुलाबजङ् शाहले बोलेको देखिन्थ्यो। र,शुक्रबारको बैठकमा ओलीले पहिलो पटक आफ्नो समूहका नेताका विपक्षमा धारणा राखेकी हुन् ।

उनले वैशाख ३ मा मुख्यमन्त्री शाहीको पक्षमा मत दिएको भन्दै उनलाई स्पष्टिकरण सोधिएको थियो । जसमा उनले झुक्किएर विश्वासको मत दिन पुगेको स्पष्टीकरण दिएकी थिइन् । उनले यसअघि पनि रातोपाटीसँगको कुराकानीका क्रममा राजनीतिमा मान्छेको मानसिकता नै अस्थिर भएको बताएकी थिइन् ।  उनि प्रदेशको सामाजिक विकास समितिकी अध्यक्ष पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप