मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश अस्पताललाई मोडेलको रुपमा स्थापित गर्न मुख्यमन्त्रीको निर्देशन

शुक्रबार, २२ साउन २०७८, १५ : ०२
शुक्रबार, २२ साउन २०७८

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  कर्णाली प्रदेश अस्पताललाई प्रदेशकै मोडेल अस्पतालको रुपमा स्थापित गर्न निर्देशन दिएका छन् । अस्पताल प्रशासनलाई उनले शुक्रबार यस्तो निर्देशन दिएका हुन् । त्यसका लागि प्रदेश सरकारबाट गर्नुपर्ने कामका लागि आफु तयार रहेको उनले बताए । अस्पतालमा आउने बिरामीहरुको उचित उपचार गर्न र अस्पतालले दिने सेवा प्रवाह थप प्रभावकारी बनाउनमा अस्पतालले ठुलो भूमिका खेल्नुपर्ने उनले बताए ।

‘कोरोनाको तेस्रो भेरियन्ट सुरु हुने खतरा छ । अस्पताललाई स्रोत साधनमा थप व्यवस्थित बनाउनको लागि नयाँ कार्यक्रम सहित बजेटको माग राख्नुहोस्’ अस्पतालका निर्देशक डाक्टर डम्बर खड्कालाई उनले भने, ‘यो अस्पताल यहाँका नागरिकहरुको लागि भरपर्दो र विश्वासिलो बन्दै गएको छ ।’ 

अस्पताललाई रोल मोडेलको रुपमा विकास गर्नतिर सबै कर्मचारीहरु लागिपर्नुपर्नेमा शाहीले जोड दिए ।  ‘बजेट अस्पतालसँग छ । यदि हुँदाहुँदै पनि कोरोना माहामारीका कारण बजेट कार्यान्वयनमा बेला-बेला समस्या हुँदै आएको  छ’ शाहीले भने । ‘यो अस्पतालको लागि आवश्यक बजेट विनियोजन गरिसकिएको छ । उक्त बजेटको अधिकतम प्रयोग गर्दै अस्पताललाई अत्याधुनिक बनाउन प्रयास जारी राख्नुहोस्’ मुख्यमन्त्री शाहीले भने, ‘बजेट कम भएको छ भने प्रदेश सरकार त्यसको व्यबस्था मिलाउन तयार छ । अस्पतालमा आएका सेवाग्राहीको मुहारमा सधैं खुशी ल्याउनेगरी कामहरु गर्नुहोस् ।’

मुख्यमन्त्री शाहीले अस्पतालमा गएर ‘होलबडी’ चेक जाँचसमेत गराएका थिए । मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रमुख सचिव र सम्पूर्ण मन्त्रालयका सचिवहरुले प्रदेश अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले भने अबको केहि समयमा प्रदेश अस्पतालमा सेवा प्रवाहमा कुनै कमी नहुने बताएका थिए । कोरोना भाइरस (कोभिड–१९)को तेस्रो लहर सुरु हुने विज्ञहरुले भनिरहँदा मुख्यमन्त्री शाहीले अस्पतालको निरीक्षण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप