सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी चुनावमा माओवादी प्रमुख पार्टी बन्न सक्छ : प्रचण्ड

‘केपी ओली प्रतिक्रियावादका प्रतीक’
शनिबार, ३० साउन २०७८, १४ : ०६
शनिबार, ३० साउन २०७८

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक परिस्थितिबारे ‘संक्षिप्त रिपोर्टिङ’ गर्ने क्रममा प्रचण्डले भने, ‘आगामी निर्वाचनसम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ ।’

पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डको विश्लेषण छ । तर, यसका लागि अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको उनले बताएका छन् ।

बैठकलाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘हाम्रो अस्तव्यस्त भएको संगठन नै हो । माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी छ । माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ । त्यसैले परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादी लिनुपर्छ ।’

प्रचण्डले अगाडि भने, ‘संसद विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको हो । गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम माओवादी केन्द्रले नै गरेको हो भन्ने जनताले बुझेका छन् । विरोधीहरु र विश्वले पनि बुझेको छ । अब यो पहललाई संगठनमा रुपान्तरण गर्नुपर्छ ।’

यसबीचमा नेतृत्वबाट कमी कमजोरीहरू पनि भएको बताउँदै प्रचण्डले संघ र प्रदेश दुबैतिर माओवादी बलियो भएको बताए । उनले भने, ‘यसबीचमा हाम्रा कमी कमजोरी पनि भए । सहिद परिवार, घाइते. र पीडितहरुलाई प्रतिक्रियावादीहरुले हाम्रो विरुद्ध प्रयोग गर्न पनि खोजे । तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं । संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो ।’

तर, बलियो भएका छौं भनेर ढुक्क भएर नबस्न प्रचण्डले आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले बैठकमा भने,‘बलियो छ भनेर ढुक्क हुने स्थिति छैन । परिवर्तन उल्ट्याउन खोज्ने तत्वहरुले गठबन्धन तोड्ने र पुरानै सरकार ल्याउन खोजेका छन् । हाम्रो काँधमा अहिले पनि जिम्मेवारी छ  । प्रतिगमनलाई परास्त गर्ने र प्रतिगमनलाई रोक्ने भूमिकालाई अलिकति पनि घट्न दिनुहुँदैन ।’

प्रचण्डले अगाडि भने, ‘प्रतिगमनलाई रोक्ने यात्रा अघि बढाउनुछ ।  अभियान लिएर संगठन र जनमत निर्माण गर्ने काम गर्न जरुरी छ ।

‘सबैभन्दा सजिलो पार्टी हामी नै हो’

माओवादी अध्यक्ष प्रचण्डले अरु दलहरुभन्दा माओवादी पार्टीमा कम समस्या रहेको र वैचारिक रुपमा एकतावद्ध रहेको दाबीसमेत गरे । ‘हाम्रो पार्टीमा निर्णय गरिसकेपछि नमान्ने भन्ने छैन, हिजो गठबन्धनका नेताहरुको बैठकमा पनि कुरा चल्यो, बाहिरबाट हेर्दा सबैभन्दा मिलेको पार्टी माओवादी नै हो’ प्रचण्डले भने, ‘तर मेरो मर्म मैलाई थाहा छ !’

तथापि पार्टीभित्र समाजवादी क्रान्तिको कार्यदिशा लगायत वैचारिक राजनीतिक विषयमा कुनै मतभेद नरहेको प्रचण्डले बताए । ‘यसमा एकरुपता नै छ,’ उनले भने, ‘सबैभन्दा सजिलो माओवादी केन्द्र नै हो भन्ने हिजो गठबन्धनको बैठकमा पनि कुरा भयो ।’

‘केपी ओली प्रतिक्रियावादका प्रतीक’

केन्द्रीय कमिटीको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले नेकपाको तीन वर्षे कार्यकालको पनि समीक्षा गरे । नेकपाका दुई अध्यक्षमध्ये केपी ओलीले प्रतिक्रियावादी धारको नेतृत्व गरेको र आफूले क्रान्तिकारी धारको नेतृत्व गर्दै ओलीविरुद्ध वैचारिक संघर्ष गरेको प्रचण्डले सुनाए ।

‘हामीले अलि ठूलो सपना देख्यौँ । वाम एकता गर्ने, देशको नेतृत्व कम्युनिस्ट पार्टीले लिने, समाजवादको आधार तयार पार्ने सपना हामीले देख्यौँ र पहल पनि गर्यौं,’ प्रचण्डले केन्द्रीय समितिको बैठकमा भने,‘बहुमतको सरकार बनेपछि देशमा अब केही हुन्छ र हाम्रो दिन फिर्छ भनेर जनताले आशा पनि गरेका थिए । उत्साहको वातावरण बनेको थियो । तर, पार्टीभित्र प्रतिक्रियावादको प्रवेश भयो र त्यो केपी ओली प्रवृत्तिले परिचित भयो । ... गएको तीन वर्षलाई मानिसहरुले बडो गम्भीरतापूर्वक हेरेका छन् ।... यो प्रयोगको अनुसन्धान हुनेवाला छ ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप