मोटरसाइकल चोरेको आरोपमा ३ जना पक्राउ
शुक्रबार, ०४ भदौ २०७८, १३ : ५४

प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–११ बाट मोटरसाइकल चोरेर लैजाँदै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ घर भएका २० वर्षीय सुन्दर मल्ल र अरु दुईजना १८ वर्षका किशोर छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आरोपीहरुको साथबाट चोरेको भे.३ प. ६००४ नम्बरको मोटरसाइकल, १ थान हेड लाइट, १ थान ट्याङ्की कभर, १ थान स्क्रु ड्राइभर, १ थान रेन्ची, ७ थान मोटरसाइकल स्टिकर बरामद गरेको छ ।
प्रहरीले उनीहरूको साथबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १३ ट्याब्लेट समेत बरामद गरेको छ । आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।