सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

‘कि सास देऊ की लास देऊ’

मङ्गलबार, १५ भदौ २०७८, ०८ : १७
मङ्गलबार, १५ भदौ २०७८

‘तिम्रा पनि बाउ आमा होलान्, तिम्रा पनि बालबच्चा होलान्
तिम्लाई त्यस्तै पारे भने सपनामा कति रोलान्
मान्छेले नै मान्छेलाई नि कस्तो व्यवहार गर्न सक्ने 
रावण राक्षसले नै सीतालाई झैँ हरण गर्ने..
....कति कठोर हुँदो रैछ यो मान्छेको मन कि सास चाहियो कि लास चाहियो खै उनी कहाँ छन् ।

गायक विष्णु खत्रीको शब्द, सङ्गीत तथा खत्री र देवी घर्तीको आवाजमा रहेको यो गीतले भनेझैँ सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका कतिपय व्यक्तिहरूको अहिलेसम्म न त सास पाइएको छ न लास नै । जनयुद्धमा बेपत्ता पारिएका परिवारका आफन्तलाई यो गीतले पनि बेला–बेला झस्काइरहन्छ । 

सुर्खेतको वीरेन्द्रनगरकी जानकली मल्ललाई अझै पनि आफ्नी छोरी जिउँदै छिन जस्तो लाग्छ । २०५५ सालदेखि बेपत्ता भएकी उनकी छोरी भगवती मल्लको अवस्था अझै अज्ञात छ । 

अमर ज्योति विद्यालयमा कक्षा ७ मा पढ्दै गरेकी उनी दिउँसो नजिकैको पसलमा जान्छु भनेर घरबाट निस्किएकी थिइन् । ‘०५५ को साउन महिनामा साँझसम्म पनि उनी घर नफर्किएपछि  हामीले खोजी ग–यौँ,’ आमा जानकलीले भनिन्,‘२–४ दिनसम्म कुनै पत्तो लागेन । चार दिनपछि मात्र हामीलाई जानकारी भयो की माओवादी कार्यकर्ताले लगेका रहेछन्।’ 

पाँच वर्षपछि भगवती आफै घर फर्किन् । 'माओवादीमा नजान हामीले धेरै आग्रह ग–यौँ । ‘मैले त मर्छु नजा भनेँ । भगवतीले हाम्रो कुरा पनि सुनिन् । तर, यहाँ (सुर्खेत) बस्न सहज थिएन । हामीले सल्लाह गरेर दैलेख मामाघर पठायौँ,’ जानकली दु:खी हुँदै भनिन्, ‘माओवादीले त्यहाँ बसेको थाह पाएछन् । झण्डै सात महिनापछि पुन: माओवादी कार्यकर्ताहरूले त्यहाँबाट उठाएर लगे। त्यसपछि मेरो छोरीको अहिलेसम्म कुनै अत्तोपत्तो छैन।’

‘छोरी अझै पनि जिउँदै छे जस्तो लाग्छ । तर, न त अहिलेसम्म लास पाएका छौँ नत सास नै,’ उनले भनिन्,‘ छोरीको कारण आज म पनि मानसिक रूपमा अशक्त झैँ छु । छोरीकै तनावका कारण श्रीमानको निधन भयो । छोरीको कि लास कि सास उपलब्ध गराइदिनुप–यो,’ उनले सरकारसँग माग गरिन् ।

सुर्खेतकी शान्ति ढकालका श्रीमान् पनि २०५५ साल वैशाख २७ गते दैलेखबाट सुर्खेत आउँदै गर्दा बीच बाटोमै बेपत्ता पारिएका थिए । श्रीमानको न्यायका लागि लड्न थालेको २३ वर्ष पुगिसके पनि अझै न्याय नपाइएको उनले सुनाइन्  । 

उनीहरू दुई जना मात्र हैन त्यो समयमा राज्य र विद्रोही पक्ष माओवादीबाट कर्णालीका ९९ जना बेपत्ता पारिएका छन्  । इन्सेक कर्णाली प्रदेशको तथ्याङ्क अनुसार सशस्त्र द्वन्द्वमा सल्यान जिल्लाबाट २८ जना, सुर्खेतका १४ जना, जाजरकोटका २१ जना, दैलेखका १, डोल्पाका २,   कालिकोटका २६,  मुगुका २   र जुम्लाका ५ जना दुवै पक्षबाट बेपत्ता पारिएका छन्। । 

कर्णालीका बेपत्ता पारिएका व्यक्तिका परिवारले कर्णाली प्रदेश समक्ष बेपत्ता भएका व्यक्तिको स्थिति जानकारी गराउन माग गरेका छन् । छानबिन आयोगले अहिलेसम्म बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक नगरेको भन्दै बेपत्ता परिवारले प्रदेश सरकारमार्फत छानबिन आयोगलाई यथाशीघ्र बेपत्ता भएका व्यक्तिको स्थिति के हो भनेर जानकारी गराउन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप