सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति

सोमबार, ०१ असार २०८३, १० : ०५
सोमबार, ०१ असार २०८३

रौतहट । नेपालका विभिन्न धार्मिक मार्गमा भारतीय तीर्थयात्रीहरूले सडकछेउ वा खुला स्थानमा खाना पकाइरहेको दृश्य पछिल्ला दिनमा सामाजिक सञ्जालमा व्यापक बहसको विषय बनेको छ। 

कतिपयले यसको आलोचना गरेपनि यो विषयलाई धार्मिक, सांस्कृतिक र व्यावहारिक पक्ष बुझ्नु आवश्यक रहेको सरोकारवालाको भनाइ छ । धार्मिक यात्राको नेतृत्व गर्दै पटक–पटक लामो तीर्थयात्रा गरिसकेका कटहरिया नगरपालिका–५ का व्यवसायी योगेन्द्र साह तीर्थयात्रा विलासी पर्यटन नभई श्रद्धा र साधनाको यात्रा भएको बताउँछन् । 'धेरै यात्रु खर्च बचाउन, समय व्यवस्थापन गर्न र सबैभन्दा महत्वपूर्ण रूपमा भोजनको शुद्धता कायम राख्न आफैं खाना पकाउँछन्,' उनी भन्छन्।

उनका अनुसार विशेषगरी वैष्णव परम्पराका अनुयायीहरूका लागि भोजन केवल पेट भर्ने माध्यम होइन, धार्मिक अनुशासनको अभिन्न हिस्सा हो। त्यसैले उनीहरू यात्राका क्रममा पनि निश्चित धार्मिक मान्यताअनुसार तयार गरिएको भोजन मात्रै ग्रहण गर्न रुचाउँछन्।

कटहरिया–१ निवासी तथा पूर्वप्रधानाध्यापक राममंगल यादवले भारतबाट नेपाल आउने धेरै धार्मिक पर्यटक वैष्णव सम्प्रदायसँग सम्बन्धित हुन्छन्। “उनीहरू मासु, माछा र अण्डा मात्र होइन, कतिपय अवस्थामा प्याज र लसुनसमेत सेवन गर्दैनन्। त्यसैले यात्राका क्रममा भेटिने सबै होटल वा रेष्टुरेन्ट उनीहरूका लागि उपयुक्त हुँदैनन्,' यादव बताउँछन्।

डेढ महिनासम्मको धार्मिक यात्रा अनुभव बटुलेका कटहरिया–५ का वडाध्यक्ष सर्फलाल गुप्ताले भारतका अधिकांश प्रमुख तीर्थस्थलमा धर्मशाला, मठ, गुरुद्वारा तथा विभिन्न धार्मिक संस्थाका आश्रमहरू प्रशस्त रहेको बताउँछन् ।  जहाँ यात्रुहरूलाई न्यून शुल्कमा वा निःशुल्क बसोबास तथा आफैले खाना पकाएर खाने  व्यवस्था मिलाने उनको भनाइ छ । 

'तीर्थयात्रीहरू प्रायः घरबाटै खाद्यान्न, भाँडाकुँडा, ग्यास सिलिन्डर र चुल्हो लिएर निस्कन्छन्। पानी उपलब्ध हुने स्थानमा खाना पकाएर खान्छन्। यसरी खाना पकाउँदा करिब एक घण्टा समय लागे पनि खर्च निकै कम हुन्छ,' गुप्ता भन्छन्।

वास्तवमा यात्राका क्रममा आफैं खाना पकाएर खाने चलन भारतीय तीर्थयात्रीहरूको मात्र होइन। नेपालका तराई–मधेशदेखि पहाडसम्मका हजारौं श्रद्धालु भारतका विभिन्न धार्मिक स्थल पुग्दा यही अभ्यास अपनाउने गर्छन्। काशी विश्वनाथ, अयोध्या, वृन्दावन, प्रयागराज, हरिद्वार, ऋषिकेश, जगन्नाथपुरी, केदारनाथ, बद्रीनाथ वा वैद्यनाथधामजस्ता तीर्थस्थलको यात्रामा जाने नेपालीहरूको समूहले विद्यालयको प्राङ्गण, धर्मशाला, विश्रामस्थल वा खुला स्थानमा खाना पकाएको दृश्य सामान्य मानिन्छ।

नेपालमा धार्मिक पर्यटकको संख्या वर्षेनि बढ्दो छ। तर उनीहरूको आवश्यकता अनुसारको पूर्वाधार भने अझै पर्याप्त रूपमा विकास हुन सकेको छैन। अधिकांश धार्मिक मार्गमा शुद्ध शाकाहारी भोजनालय, सामुदायिक भान्सा, विश्रामस्थल तथा तीर्थयात्रीमैत्री सुविधा सीमित छन्। यस्तो अवस्थामा यात्रुहरूले आफ्नै भान्सा बोकेर हिँड्नु बाध्यता पनि बन्ने गरेको सरोकारवाला बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप