फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलपछि जापानी समर्थकहरूले डालस रङ्गशालामा प्यारापिट सफा गरेर विश्वभर प्रशंसा कमाएका छन्।
- जापानी समर्थकहरूले खेल सकिएपछि आफू बसेको क्षेत्रका प्लास्टिक, कागज र अन्य फोहोरहरू सङ्कलन गर्दै रङ्गशाला सफा गरेका थिए।
- यो जापानी समर्थकहरूको पुरानो परम्परा हो, जुन सन् १९९८ देखि फिफा विश्वकप र ओलम्पिक जस्ता प्रतियोगिताहरूमा देखिँदै आएको छ।
डालस । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्ससँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेपछि जापानी समर्थकहरूले पुनः एकपटक आफ्नो परम्परागत संस्कार देखाएर विश्वभरका खेलप्रेमीको मन जितेका छन्।
अमेरिकाको डालस रङ्गशालामा खेल सकिएलगत्तै जापानी फुटबल प्रशंसकहरूले प्यारापिट सफा गरेको दृश्यले यतिबेला विश्वभर प्रशंसा पाइरहेको छ।
स्थानीय समयअनुसार आइतबार भएको उक्त मनोरञ्जक खेलको अन्तिम सिट्ठी बजेलगत्तै जापानी समर्थकहरूले रङ्गशाला छाड्नुअघि आफू बसेको क्षेत्रका प्लास्टिक, कागज र अन्य फोहोरहरू सङ्कलन गर्दै सफा गरेका थिए। सामाजिक सञ्जालमा यी तस्बिर र भिडियोहरू सार्वजनिक भएपछि भाइरल बनेका छन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि एक्समार्फत डालस रङ्गशालामा जापानी प्रशंसकहरूले सरसफाइ गरिरहेको भिडियो सेयर गरेको छ। रङ्गशाला सफा गर्नुको कारणबारे स्पष्ट पार्दै एक जापानी समर्थकले भने, ‘यो हाम्रो संस्कृति हो, यो सबै चीजप्रतिको सम्मान पनि हो। खेलाडी, समर्थक र रङ्गशालाप्रतिको सम्मान हो यो। हामी यहाँ आउन पाएकोमा सम्मानित महसुस गर्छौँ, त्यसैले यहाँ फोहोर गरेर छाड्न चाहँदैनौँ। मलाई लाग्छ हामीले यो काम गर्नुको मुख्य कारण यही हो।’
The reason Japan fans clean the stadium after each game. Respect. 🤝🇯🇵 pic.twitter.com/o9qJUOLefY
— FIFA (@FIFAcom) June 15, 2026
जापानी समर्थकहरूको यो कार्य कुनै नयाँ भने होइन। उनीहरूले फिफा विश्वकप र ओलम्पिक खेलकुद जस्ता ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा खेल सकिएपछि रङ्गशाला सफा गर्ने छुट्टै पहिचान बनाएका छन्।
ईएसपीएनका अनुसार यो परम्पराले सन् १९९८ मा फ्रान्समा भएको फिफा विश्वकपका दौरान पहिलोपटक विश्वको ध्यान खिचेको थियो। त्यतिबेला जापानी टोली समूह चरणबाटै बाहिरिए पनि समर्थकहरूले खेलपछि रङ्गशालाको फोहोर उठाएका थिए। त्यसयता हरेक विश्वकपमा यो दृश्य नियमित जस्तै बनेको छ।

यसअघि कतारमा सम्पन्न २०२२ को विश्वकपमा जर्मनीमाथि २–१ को ऐतिहासिक जित निकाल्दा पनि जापानी प्रशंसकहरूले खलिफा इन्टरनेसनल रङ्गशालामा खुसीयाली मनाएर आफ्नो क्षेत्र सफा गरेका थिए।
डालस रङ्गशालामा देखिएको यो सुन्दर दृश्य खेल मैदानमा जापानले गरेको उत्कृष्ट पुनरागमनपछि सम्भव भएको हो। खेलको दोस्रो हाफको सुरुवातमै भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए। तर जापानका नाकामुराले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए। खेलको ६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गरेपछि नेदरल्यान्ड्सले फेरि २–१ को अग्रता लियो।
खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा दाइची कामाडाले गोल गरेपछि जापानले खेललाई २–२ को नाटकीय मोडमा ल्याएर टुङ्ग्यायो।
यो बराबरी नतिजासँगै समूह ‘एफ’ मा दुवै टोलीले १–१ अङ्क बाँडेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण