सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५०० दरका नक्कली नोटसहित महिला पक्राउ

सोमबार, ०१ असार २०८३, ०९ : ३०
सोमबार, ०१ असार २०८३

सारांश

  • कपिलवस्तुको शिवराज नगरपालिकामा प्रहरीले ५०० दरका नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ।
  • ती महिलाले चिउरा उद्योगमा बङ्गुरलाई खुवाउने चिउराको धुलो किन्दा भुक्तानीका लागि दिएका १९ थान नक्कली नोट उद्योगधनीले शङ्का गरेपछि प्रहरीलाई खबर गरेका थिए।
  • प्रहरीले ९ हजार ५०० रुपैयाँ बराबरको नक्कली नोट बरामद गरी महिलाविरुद्ध खोटा चलन मुद्दा दर्ता गरेको छ।

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन्। 

जिल्लाको शिवराज नगरपालिका वडा नं. २ हल्लानगर बस्ने ४८ वर्षीया एक महिलालाई प्रहरीले रीतपूर्वक नक्कली नोटसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार गत जेठ २९ गते साँझ शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरमा अवस्थित एक चिउरा उद्योगमा ती महिला बङ्गुरलाई खुवाउनका लागि चिउराको धुलो खरिद गर्न पुगेकी थिइन्। 

चिउराको धुलो किनेबापत उनले उद्योगको काउन्टरमा भुक्तानी गरेको रकममा उद्योगधनीले शङ्का मानेका थिए। उद्योगधनीले नोट नक्कली भएको आशङ्का गरी तत्कालै प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले उद्योगमा पुगेर ती महिलालाई तत्कालै नियन्त्रणमा लिएको थियो। जाँच गर्ने क्रममा निज महिलाले काउन्टरमा दिएको एउटै नम्बर भएका ५०० रुपैयाँ दरका १९ थान नेपाली नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले जम्मा ९ हजार ५०० रुपैयाँ बराबरको उक्त नक्कली नोट बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेकी ती महिलाविरुद्ध खोटा चलन मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। घटनाको थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अहिले आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप